आक्रामक रुपमा फैलिँदै मयूर, एक वर्षभित्र सय विद्युतीय ठूला बस थप्दै

‘मयूरलार्ई लगानी गर्न देश विदेशबाट इच्छुक छन् । ‘नेपालमै रहेका व्यवसायीले पनि लगानीका लागी हात अघि सार्नुभएको छ’ हामीलाई खर्चको कुनै पनि समस्या छैन्’ उनले भने ।

मयूर यातायातले एक वर्षभित्र सय ओटा ठूला विद्युतीय बस ल्याउने भएको छ । अहिले उपत्यकामा ४४ बसले सेवा दिँदै आएकामा आगामी एक वर्षभित्र मयूरले सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य राखेको हो ।

सरकारले विद्युतीय सवारीसाधनलाई मुख्य प्रथामिकतामा राखेसँगै मयूर यातायातले पनि विद्युतबाट चल्ने बस ल्याउन लागेको जनाएको छ ।

मयूर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले एक वर्षभित्र उपत्यकाको सवारी व्यवस्थापन तथा सेवालाई लक्षित गर्दै एक सय ठूला विद्युतीय गाडी भित्र्याउने लक्ष्य रहेको बताए ।

श्रेष्ठका अनुसार पहिलो चरणमा हामी ४० ओटा विद्युतीय बस खरिद गर्ने योजनामा छौं, त्यसका लागि आगामी एक हप्ता अर्थात् मङ्गलबार भारत जाने तयारीमा छौं’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने ।

भारतबाट आएको केही समयपछि चीन जाने र जहाँ गुणस्तरीय सस्तो हुन्छ त्यही कम्पनीको बस ल्याउने उनको भनाइ छ ।

काठमाडौं उपत्यकालाई उच्च प्राथमिकतामा राख्दै मयूरले सो सङ्ख्यामा विद्युतीय बस ल्याउने तयारी गरेको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले लागत खर्चको कुनै पनि समस्या नरहेको बताए । ‘मयूरलार्ई लगानी गर्न देश विदेशबाट इच्छुक छन् । ‘नेपालमै रहेका व्यवसायीले पनि लगानीका लागि हात अघि सार्नुभएको छ’ हामीलाई खर्चको कुनै पनि समस्या छैन’ उनले भने ।

पहिलो चरणमा ल्याउन लागिएको ४० ओटा विद्युतीय बसलाई बढीमा ८० देखि ९० करोड पर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘मयूर यातायातलाई हामी छिटै नेपालका मात्रै नभएर दक्षिण एसियाकै नमुना बनाउछौं, यसमा कुनै दुईमत छैन ।’

उपत्यकाको सार्वजनिक यातायात क्षेत्रमा रहेको बेथिति समस्यालाई मयूरले पूर्णविराम लगाउने छ’ उनले भने ।

आइतबारसम्म उपत्यकाको सडकमा मयूरका २४ ओटा सुविधायुक्त बस सञ्चालनमा थिए । सोमबारदेखि थप २० ओटा नयाँ बस थपी कुल ४४ ओटा बस सञ्चालनमा छन् । सो बस ‘४२ सिट क्षमता भएकालाई ५२ लाखमा र ३७ सिट भएका बस ४४ लाख रुपैँयामा खरिद गरेका हौँ,’ श्रेष्ठले भने,

विशेषगरी मयूर यातायातले चक्रपथलाई नै बढी ध्यान दिइरहेको छ । ‘उपत्यकाको चक्रपथ वरपरका मानिसको मन जित्ने हाम्रो लक्ष्य छ । चालक, सहचालक अन्य स्टाफलाई सिप्रदि ट्रेनिङ सेन्टरले तालिम दिइसकेको छ,’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने । कम्पनीले अशक्त तथा ७० वर्षभन्दा माथीका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिँदै आएको छ ।

उपत्यका बाहिरका लागि थप ठूला एयर कन्डिसन बस

अबको केही महिनाभित्र उपत्यकामा मात्र नभई राजधानीबाहिर पनि मयूर यातायात सञ्चालन गर्ने कम्पनीको योजना रहेको श्रेष्ठले बताए । ‘दशैंपछि काठमाडौंदेखि खुर्कोट, रामेछाप, ओखलढुङ्गा आदि ठाउँमा पनि सेवा दिन लागेका छौं,’ उनले भने ।

हाल काठमाडौं, भक्तपुर, ललितपुर हुँदै काभ्रेपलाञ्चोक जिल्लासम्म सेवा दिँदै आएको मयूरले निकट भविष्यमै दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, पोखरा र लुम्बिनीमा पनि सेवा सुरु गर्ने तयारी थालेको हो ।

‘यसका लागि मयूर यातायात प्रालिले ३० ओटा नयाँ बस थप्दै छ,’ कम्पनी अध्यक्ष मोहन श्रेष्ठले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘नयाँ बस बनाउन दिइसकेका छौं । आगामी दशैंपछि नेपालमा आइपुग्छ ।’

कम्पनीले दोलखा, रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लालाई लक्षित एक सय ओटा ठूला आरमदायी आउन लागेको हो । त्यसैगरी, काठमाडौं–पोखरा–लुम्बिनीलाई रुट बनाएर चलाउन ३० ओटा नयाँ ठूला एसी बस ल्याउँदै छ ।

सर्वसाधारणका लागि पनि सेयर

अहिले ३५ जनाको सेयर रहेको मयूर यातायामा ९–१० जना जति विदेशमा बस्ने नेपाली छन् । सयजना सेयर होल्डर पुगेपछि आर्इपीओमा गएर सर्वसाधारणका लागि सेयर जारी गर्ने श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले आर्इपीओको लागी अझै एक, दुई महिना पर्खने जानकारी दिए । ‘हामीले आर्इपीओको लागि एउटा विज्ञ टोली गठन गरेका छौं,’ उनले भने ।