वर्ल्डलिङ्कमाथि अख्तियारको छानबिन

वर्ल्डलिङ्कद्वारा सेवा लिइरहेका सेवाग्राही अर्बत खड्का भन्छन्, ‘सेवा राम्रो छ भन्ने हल्लाले वर्ल्डलिङ्कको इन्टरनेट जोडें, तर कामै गर्दैन, घुमेर मात्रै बस्छ ।’ ‘मोबाइलमा त यस्तो छ, झन् कम्प्युटरमा त के हालत होला ?’ उनले आश्चर्य व्यक्त गरे ।

वर्ल्डलिङ्क कम्युनिकेसनले प्रयोगकर्ताले लिएको क्षमता बराबरको इन्टरनेट सेवा उपलब्ध नगराई गुणास्तरीय सेवा नदिर्इ ठगी गरेको अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

इन्टरनेट स्पिडमा अनियमितता गरेको भन्दै वर्ल्डलिङ्कविरुद्ध परेको उजुरीका आधारमा अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै छानबिन गर्न निर्देशन दिएको हो ।

उपभोक्तासँग अग्रिम भुक्तानी लिएर तोकिएअनुसार क्षमताको इन्टरनेट सेवा उपलब्ध नगराएको भन्दै अख्तियारमा उजुरी परेपछि नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई छानबिन गर्न अख्तियारले पत्र पठाएको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार अख्तियारको सो पत्रका आधारमा प्राधिकरणले छानबिन गरिरहेको बताए । ‘वर्ल्डलिङ्कका विषयमा धेरै गुनासो र उजुरी आएको छ, हामीले छानबिन गरिरहेका छौं,’ उनले भने । ’अख्तियारले वर्ल्डलिङ्कको इन्टरनेट स्पिडको अनियमितता बुझ्न प्राधिकरणले अनुगमन शाखालाई छानबिन गरी प्रतिवेदन पेस गर्न पत्राचार गरेको छ,’ उनले भने ।

यसअघि पनि वर्ल्डलिङ्कका विरुद्ध प्राधिकरणमा उजुरी परेको थियो । केही महिनाअघि चर्चित नेपाली मोबाइल एप हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष देवकोटाले वर्ल्डलिङ्कको सुविधा राम्रो नभएको नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी दिएका थिए । प्राधिकरणले देवकोटाको उजुरीका आधारमा वर्ल्डलिङ्कलाई उपभोक्ताको गुनासो सम्बोधन गर्न पत्राचार गर्यो । तर पनि वर्ल्डलिङ्कको सेवामा सुधार आएन । प्राधिकरणमा वर्ल्डलिङ्कको सुविधा राम्रो नभएको र अग्रिम पैसा लिएर तोकिएको समयसम्म सेवा नदिएको भन्दै दर्जनौं उजुरी छन् ।

मोहन यादवले वर्ल्डलिङ्कको डाटा सम्बन्धमा, प्रज्ज्वल वादर र नीरज जोशीले पनि इन्टरनेट सम्बन्धमा उजुरी दिएका थिए । त्यस्तै भोजराज अधिकारीले सम्झौताबमोजिम इन्टरनेटको सेवा तथा गुणस्तर नभएको भनी उजुरी दिएका थिए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवा प्रदायकका विषयमा परेको उजुरीका विषयमा अनुसन्धान हुने र कारबाहीको प्रक्रिया अगाडि बढाउने पटक पटक बताए पनि वर्ल्डलिङ्कलाई गुणस्तरीय सेवा उपलब्ध नगराएको भन्दै हालसम्म कारवाही भने गरेको छैन ।

वर्ल्डलिङ्कद्वारा सेवा लिइरहेका सेवाग्राही अर्बत खड्का भन्छन्, ‘सेवा राम्रो छ भन्ने हल्लाले वर्ल्डलिङ्कको इन्टरनेट जोडें, तर कामै गर्दैन, घुमेर मात्रै बस्छ ।’ ‘मोबाइलमा त यस्तो छ, झन् कम्प्युटरमा त के हालत होला ?’ उनले आश्चर्य व्यक्त गरे । उनी अब सेवा परिवर्तन गर्ने योजनामा छन् । ‘वर्ल्डलिङ्कले राम्रो गुणस्तरीय सेवा दिन्छु भन्दै आसवासन दियो, तर भनेजस्तो सेवा सुविधा रहेनछ,’ उनले भने ।

गुणस्तरीय सेवा दिने भन्दै इन्टरनेट सेवाप्रदायक कम्पनीलाई नियामक निकाय दूरसञ्चार प्राधिकरणले कुनै कदम चालेको छैन भने, सेवा प्रदायक कम्पनीले पनि कुनै चासो नदेखाएको सेवाग्राहीको भनाइ छ ।