सेवाका नाममा भ्वाइस तथा इन्टरनेट डाटाप्याकमा बढ्दो ठगी

नेपाल दूरसञ्चार प्राधिकरणमा भ्वाइसप्याक, निःशुल्क डाटाप्याक, लगाएत विभिन्न अफरका नाममा ठगिएको सम्बन्धमा दर्जनौं उजुरी छन् । यस किसिमका उजुरी आउँदा पनि नियामक निकाय चुपचाप बसिरहेको गुनासो उपभोक्ताहरुको छ ।

  • जनसरोकार केन्द्रका अध्यक्ष रामबहादुर गुरुङ्ले एनसेलको १० रुपैयाँमा ३० एमबी र ३० रुपैयाँमा सय एमबी इन्टरनेट डाटा तथा ५० रुपैयाँको भ्वाइसकल अफर खरिद गरे । सेवा प्रदायकले निर्धारण गरेको शुल्क तिरेर पनि गुणस्तरीय सेवा नपाएपछि उनी उजुरी लिएर नियामक नेपाल दूरसञ्चार प्राधिकरण पुगे ।
  • त्यस्तै सुनिल पोखरेलले एनसेलबाट डाटा तथा भ्वाइस प्याक सुविधा लिए । भ्वाइसप्याकमा एनसेलले दिएको समयावधिभन्दा छिटै ब्यालेन्स पनि सकियो । अफर सकिएपछि आगमन र गमन कलका लागि रिचार्ज गर्नुहोला भनी पटक पटक एसएमएस आउने समस्याले आजित भएर समस्या हल गर्न नियामक निकाय गुहारे । तर, समाधान निस्किएन ।
  • फोरजी डाटाप्याक दिने भन्दै एनसेल र नेपाल टेलिकमले अनियमितता गरेको भन्दै गोपाल साउद, एनसेलको सापटी योजना तथा भ्वाइसप्याकबाट ठगिएको महसुस गरेका सिन्धुलीका वाईआर पौडेल, वल्र्डलिङ्कको डाटाप्याकबाट ठगिएका मोहनकुमार यादवलगायत धेरै दूरसञ्चार सेवाका उपभोक्ता दूरसञ्चार प्राधिकरणमा लिखित तथा मौखिक उजुरी लिएर पुग्ने गरेका छन् ।

गुरुङ्को उजुरीमा एनसेल, नेपाल टेलिकम तथा विभिन्न इन्टरनेट सेवा प्रादयकले उपलब्ध गराएको अफर, भ्वाइसप्याक, डाटाप्याक तथा अनलिमिटेड डाटाप्याक बिक्री गरेपनि भनेजस्तो सेवा नदिएको आरोप छ । उनले यसअघि पनि भ्वाइसप्याक तथा इन्टरनेट डाटाप्याकमा अनियममितता भएको भन्दै प्राधिकरणलाई पत्राचार गरेका थिए ।

एनसेल मार्फत विभिन्न सरकारी तथा गैरसरकारी निकायका टोलफ्री नम्बर तथा ट्राफिक इमर्जेन्सीमा कल नलाग्ने समस्या रहेको गुरुङको दाबी छ । सोहीअनुरुप कारबाहीको माग गरेपनि उनको गुनासो अहिलेसम्म सुनुवाइ भएको छैन । यस्ता समस्या हिजो आज हरेक उपभोक्ताले भोग्ने गरेका छन् ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले एनसेलको दैनिक, त्रिदैनिक, साप्ताहिक, मासिक तथा रात्रिकालीनलगायतका डाटा अफरहरू दिँदा ठगी गरिरहेको उपभोक्ताको गुनासो बढ्दै गएको बताए । उनले प्राप्त गुनासाहरुको सुनुवाइ आगमी दिनमा कार्ययोजनाका साथ गर्ने बताए । ‘गुनासाहरुमा प्राधिकरणले अनुसन्धान गरिरहेको र कुनै विषयमा सेवा प्रदायकसँग स्पष्टीकरण लिइसकेको छ,’ उनले भने, ‘केही छानबिनका क्रममा छन् । गुणस्तर, ठगी लगाएतका विषयमा बढी उजुरी आएकाले त्यसको निराकरणका लागि योजना बनाइरहेका छौं ।’

नियामकले गुणस्तर सुधारमा चासो नदिएपछि सेवाग्राहीहरु उजुरी बोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउन थालेका छन् । यसअघि नै अख्तियारले तोकिएका सेवा गुणस्तरीय भए÷नभएको छानबिन गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

एनसेलले भ्वाइसप्याक सापटी योजनाअन्तर्गत ४० रुपैयाँमा दिएपनि रिचार्जपछि चार रुपैयाँ बढी काट्ने गरेको उपभोक्ताको गुनासो छ । सापटीको नाममा एनसेलले काट्ने चार रुपैयाँका दरले दैनिक लाखौँ ग्राहकबाट करोडौँ वैधानिक रूपमा ठगी गरिरहेको दाबी उपभोक्ताको छ । अनलिमिटेड एन्सेल प्याक सेवाका नाममा उपभोक्ता दिनानुदिन ठगिएको भन्दै प्राधिकरणमा दैनिक उजुरी बढ्दो छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा भ्वाइसप्याक, निःशुल्क डाटाप्याक, लगाएत विभिन्न अफरका नाममा ठगिएको सम्बन्धमा दर्जनौं उजुरी छन् । यस किसिमका उजुरी आउँदा पनि नियामक निकाय चुपचाप बसिरहेको गुनासो उपभोक्ताहरुको छ । प्राधिकरणमा उजुरी दिएको झन्डै दुई महिना बितिसक्दा पनि कुनै प्रतिक्रया नपाएको जनसरकोकार केन्द्रका अध्यक्ष गुरुङ् बताउँछन् ।

जनसरोकार केन्द्रका अध्यक्ष गुरुङ्ले एनसेलको १० रुपैयाँमा ३० एमबी डाटा लिएर एक पटक फेसबुक खोल्दा प्याक सकिइसक्ने बताए । तर, उसले प्याक भने २४ तथा ७२ घण्टासम्म समयावधि दिएको हुन्छ । त्यस्तै एनसेलले दामी प्याक, सही प्याक, रेगुलर प्याकजस्ता योजनामार्फत सेवाग्राही ठग्ने गरेको आरोप उपभोक्ताहरुको छ । त्यस्तै, नेपाल टेलिकमले गत वर्षदेखि सुरु गरेको विभिन्न अफरहरुमा एक वर्ष नबित्दै विभिन्न उजुरी पर्न थालेका छन् ।

नेपाल टेलिकमले दिइरहेको समर अफर जसमा बोनस अपटु सय प्रतिशत, विकेन्ड, अनलिमिटेड डाटा, भ्वाइस, भोलुम क्वाइरी, एक जीबी प्रतिदिन र इन्डियाकल जस्ता अफरमा ठगी भइरहेको भन्दै सेवाग्राहीले प्राधिकरणमा उजुरी गरेका छन् ।

ऐनसेलले सात सय ८९ रुपैयाँ शुल्कमा ३० दिने अनलिमिटेड डाटाप्याक दिने गरेको छ । अनलिमिटेड भनिए पनि एक जीबी (हजार एमबी) कायम रहँदासम्म राम्रोसँग चल्ने तर हजार एमबी सकिएपछि इन्टरनेटको गतिमा ८० देखि ८५ प्रतिशत कमी आउने समस्या छ ।