व्यवसायमा युवाका ‘युनिक आइडिया’

सारथीबाट ट्याक्सी बुक गरेपछि सरकारले तोकेको मिटरमा ट्याक्सी सेवा पाइन्छ । ट्याक्सी क्याब नेपालमा मात्र होइन, विश्वका विकसित राष्ट्रमा पनि यो कन्सेप्ट सञ्चालनमा छ । राजधानी उपत्यकामा सार्वजनिक यातायात व्यवस्थित हुन नसकिरहेका बेला ’टुटल एप’मार्फत चालकसहितको मोटरसाकइल बोलाउन सकिन्छ ।

हातमा स्मार्ट मोबाइल र इन्टरनेटको पहुँच होस्, तपाईं घर वा अफिस जहाँ भए पनि आवश्यकताका सामान त्यहीँ आइपुग्छन् । अनलाइनबाट अर्डर गरेर होस् या एक कल फोन गरेरै किन नहोस् खाना, खाजादेखि पहिरन अनि पुस्तकसम्म तपाईं भएकै ठाउँमा आउँछन् ।

नेपाल डिजिटल बाटोमा अघि बढ्दै गर्दा प्रविधिको साथमा नेपालमा युनिक व्यवसाय पनि बढ्दै गएका छन् । स्टार्टअप कम्पनी खुल्ने क्रम यसरी बढेको छ कि यसमा युवा पुस्ता आफ्नो पूरै भविष्य लगाइरहेका छन् । खुलेको केही समयमै केही कम्पनी स्थापित भएर राम्रो सेवा दिइरहेका पनि छन् । फुडमान्डु, सारथी, खाली सिसी, टुटल, फुडमारियो, किताबयात्रा, खल्ती डटकम, ताजा तरकारी, मेरो किराना, भोज डिल्स, कोसेलीलगायत अन्य स्टार्टअप कम्पनी चर्चामा आएका छन् ।

मोबाइल र इन्टरनेटको जनघनत्व बढेपछि यसमा आश्रित व्यवसायले फड्को मार्न थालेको हो । प्रविधिलाई पछ्याएर बिजनेसमा नयाँ आइडिया ल्याएका चार कम्पनीबारे हामीले यहाँ चर्चा गरेका छौँ ।

फुडमान्डु
कुनै एक समय थियो, तपाईंलाई भोक लागेको बेलामा होटल रेस्टुराँमा आफू नै नगई सुख थिएन । तर त्यो जमाना पुरानो भइसकेको छ । तपार्इं घर वा अफिस जहाँ भए पनि खाना र खाजाको मेनु अर्डर गर्न सक्नुहुन्छ । त्यसका लागि फुडमान्डु तपाईंको उपयुक्त माध्यम हुन सक्छ । फुडमान्डुमार्फत जो कसैले पनि आफ्नो स्वाद र रुचिअनुसारको खाना अर्डर गरेर सन्तुष्टि प्राप्त गर्न सक्नेछन् । फुडमान्डुले उपत्यकाका सानादेखि ठूला उत्कृष्ट होटलको स्वाद तपाईंकै टेबलमा आइपुग्छ । साथै फरकफरक स्वादमा आनन्दको अनुभूति प्रदान गर्दै आएको छ ।

‘एक कलको भरमा हरेकको घरघरमा नेपालका गुणस्तरीय तथा उत्कृष्ट होटलको स्वाद, खानाका परिकार आइपुग्छन्,’ फुडमान्डुका प्रमुख कार्यकारी अधिकृत मनाेहर अधिकारीले भने, ‘फुडमान्डु जसले तपाईंलाई चाहेको खाना खुवाउँछ । हामी यही नारामा सेवा दिइरहेका छौं । फुडमान्डुले सेवा दिँदा रोजेको खाना तयार भएर आउँछ, यो समयमा सेवाग्राही पाहुना र परिवारसँग मस्त रमाउने समय हुने उनले बताए ।

अधिकारीले फुडमान्डु सुरु गर्दा चार स्टाफ थिए । तर अहिले त्यही सानो स्टाफ कामदारका कारण छोटो समयमै ई–कमर्स ‘फुडमान्ड’ु सफल कम्पनीको अग्रस्थानमा छ । अर्डर दिने तथा डेलिभरी सुविधा भएका कारण छोटो समयमै नेपाली ग्राहकको मन जितिसकेको पाइन्छ । फुडमान्डुले आफैं खानाका परिकार बनाउँदैन, बरु उपभोक्ता तथा ग्राहकका लागि सेवामा समर्पित भई ग्राहकको घरमै खाना खाजा डेलिभरी गर्दछ । फुडमान्डुले विशेषगरी सर्भिस सेक्टरलाई बढी प्राथमिकता दिने गरेको छ ।

कुनै बेला डिटू हर्बाे आईसीटीमा कार्यरत अधिकारी अफिसमा खाजा खान छोटो समय भएर सन्तुष्ट नभएपछि अफिस, घर खाना पु¥याउने व्यवसायबारे सोचे । ‘त्यो बेला छोटो समयमा भनेकै जस्तो खानेकुरा पनि खान नपाउनु र लन्च टाइम थोरै भएर राम्रोसँग खान नपाउनुकै पीडाले फुडमान्डु जन्मेको हो,’ उनले भने । केही समय ग्राहकको आवश्यताअनुरुप खाना, खाजा डेलिभरी गर्न नसकेको उनको गुनासो छ । तर तत्कालै वेबसाइट, एप्स तथा विज्ञापनका माध्यमबाट नयाँ ढङ्गमा परिणत गराएपछि फुडमान्डु नयाँ उचाइमा पुगेको उनको भनाइ छ ।

फुडमान्डुसँग अहिले सानाठूला गरी दुई सय १० भन्दा बढी होटल आबद्ध छन् । ग्राहकले कुन रेस्टुरेन्टबाट खानाखाजा अर्डर गर्ने हो, त्यो निश्चित गर्न पाउँछन् । अर्डर गरेको कति समयमा डेलिभरी दिने भन्ने जानकारीसहित कन्फर्मेसन कल गर्छन् । रेस्टुरेन्टले तोकिएको समयमा खाना ल्याइदिन्छ । यसका लागि ९५ जनाभन्दा बढीले रोजगारीको अवसर पाएको उनले बताए । फुडमान्डु सुरु भएको आठ वर्षमा ५० हजार ग्राहक छन् । महिनामा १० देखि १५ हजार अर्डर आउने गरेको छ ।

फुडमान्डुले अहिले काठमाडौं र ललितपुरमा सेवा दिँदै आएको छ । भक्तपुरका केही स्थानमा पनि यसले सेवा प्रवाह गरेको छ । भक्तपुरमा आधुनिक किसिमका होटल रेस्टुरेन्ट नभएका करण पनि सेवा दिन असमर्थ रहेको अधिकारीले जानकारी दिए । कम्पनीको नियमअनुसार डेलिभरी चार्जबापतको रकम ठाउँअनुसार लिइरहेको उनी बताउँछन् । तर ग्राहक पनि आफूले चाहेअनुरुपको खाना घरको टेबलमै आइपुग्दा दङ्ग परेको अधिकारीको भनाइ छ ।
‘काम गर्ने तरिका तथा आइडिया फरकफरक आउँछन् । तर सोचेअनुसार बिजनेस गर्न गाह्रो छ,’ उनले भने । ग्राहकले चाहेअनुसारको खाना र सन्तुष्टि दिन सजिलो काम त पक्कै पनि होइन । तर सधैं मनोबललाई उच्च बनाएर प्रगतिका पाइला अगाडि बढाएकाले हामी यो अवस्थामा आइपुगेका हौँ । फुडमान्डुले पनि यो सफलता हासिल गरेको हो ।’

सारथी
काठमाडाैंमा ट्याक्सी ठगीका गुनासा नयाँ होइनन् । मिटरमा नहिँड्ने, मनोमानी ढङ्गले भाडा लिने र मिटरमै हिँड्नुपरे पनि बिगारेर बढी पैसा असुल्ने ट्याक्सी ठगीका नमुना हुन् ।

तर अब भने नेपालमा ट्याक्सी समस्याको भरपर्दो विकल्पका रुपमा सारथी क्याब अथवा सारथी सेवा आएको छ । यो एउटा ट्याक्सी सेवा उपलब्ध गराउने स्टार्टअप कम्पनी हो, क्याब एग्रिगेटर हो । उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मेमा नेपालमा एप्लिकेसन–इन्टरनेटमा आधारित वा कल सेन्टरमा फोन गरेर ट्याक्सी बुक गरी सेवा लिन सकिने सारथी क्याब स्थापना भएकोे थियो । सारथीबाट ट्याक्सी बुक गरेपछि सरकारले तोकेको मिटरमा ट्याक्सी सेवा पाइन्छ । ट्याक्सी क्याब नेपालमा मात्र होइन, विश्वका विकसित राष्ट्रमा पनि यो कन्सेप्ट सञ्चालनमा छ ।

यस्तो क्याब सिस्टम आफूहरुले नै पत्ता लगाएको त्यस्तो नयाँ इन्नोभेसन भने नभएको सारथी क्याबका व्यवस्थापक अनिल चौधरीले बताए । अमेरिका, भारतलगायत अन्य देशमा पनि यस्ता प्लेटफर्म छन् । नेपालमा अन्य कम्पनी नआएका पनि होइनन् । तर उनीहरु चल्न सकेनन् अथवा सेवाग्राहीलाई भनेजस्तो सेवासुविधा दिन सकेनन् ।

सारथी ट्याक्सी सेवा जहाँ जानुपरे पनि नाइँ भन्दैनन् । तर अन्य ठाउँमा चल्ने ट्याक्सीले भने आफूलाई पायक पर्ने स्थान र सेवाग्राहीलाई चर्को भाडा नअसुलेसम्म अनि ठगी गर्न नपाएसम्म ट्याक्सी चालक डेग चल्न मान्दैनन् । यो उपत्यकामा चल्ने ट्याक्सी सेवाको बेथिति नै बनिसकेको छ । तर यो समस्या अब पूर्ण विस्थापन हुने सेवाग्राहीको भनाइ छ ।

काठमाडौं उपत्यकामा अहिले सयभन्दा बढी ट्याक्सी सारथीमा आबद्ध छन् । सारथी सेवामा एक सय १० जनाले रोजगारी पाएको चौधरी बताउँछन् । सारथीको आवधारणा भने फुडमान्डुसँग मिल्दोजुल्दो छ । रातिको समय बाहिर जानुपरेको र उक्त अवस्थामा सवारीसाधन नपाएको अनिलको गुनासो छ । सारथी ट्याक्सीले सरकारले निर्धारण गरेको मिटर शुल्क लिने र ग्राहकलाई अनिवार्य बिल दिने गरेको छ । आफूलाई चाहिएको बेला सारथी ट्याक्सीको प्रयोग चौबीसै घण्टा गर्न सकिने चौधरीको दाबी छ । सारथीले हालसम्म ट्याक्सीबाट सेवा दिइरहेकोमा केही महिनाभित्र मोटरसाइकलद्वारा पनि सेवा दिने चौधरीको योजना छ ।

ग्राहकसँग ट्याक्सीको नम्बर र फोन नम्बर दुवै हुने हुनाले यात्रा गर्दा कुनै समान छुटेमा हराउने डर सारथीमा नहुने उनी बताउँछन् । त्यस्तै एक फोनको भरमा ट्याक्सी आफ्नो घरमै आउनु पनि सारथीको अर्को विशेषता हो ।

अहिले सारथीले एक सय १५ जनाभन्दा बढीलाई रोजगारीको अवसर दिएको व्यवस्थापक चौधरीले जानकारी दिए । १५ जनाभन्दा बढी स्टाफ र एउटा ट्याक्सीमा दुई जना चालक रहेकाले चालक सदस्यमा एक सय जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् । चालकहरुलाई पारिश्रमिकबापत २५ देखि ३० हजार रुपैयाँसम्म रहेको उनको भनाइ छ । टुटल
राजधानीमा सार्वजनिक सवारीसाधनको यात्रा ‘सकस’ भइरहेका बेला भाडा तिरेर मोटरसाइकलमा यात्रा गर्न पाइने सुवधा दिएको छ टुटलले । राजधानी उपत्यकामा सार्वजनिक यातायात व्यवस्थित हुन नसकिरहेका बेला ’टुटल एप’मार्फत चालकसहितको मोटरसाकइल बोलाउन सकिन्छ ।

चालक र सेवा लिन चाहने यात्रुले आफ्नो नाम, मोटरसाइकलको विवरण र लाइसेन्सलगायतका आवश्यक विवरण दर्ता गर्नुपर्छ भने सुविधा लिन चाहने यात्रुले पनि एपमार्फत फारम भर्नुपर्छ । नेपालमा हालसालै भित्रिएको ‘लिफ्ट कल्चर’लाई व्यवसायमा रुपान्तरण गर्न टुटल एप स्थापना भएको हो । यसको एपमार्फत तपाईंले नजिकै भएका अन्य टुटल प्रयोगकर्तालाई मोटरसाइकलमा सशुल्क लिफ्ट दिन र टुटल प्रयोगकर्ताबाट सशुल्क लिफ्ट लिन सक्नुहुन्छ । यसका लागि दुवै सेवा दिने चालक र सेवा लिने यात्रुले टुटलमा दर्ता गरेको हुनुपर्नेछ ।

फुडमारियो
फुडमारियो ७ महिनाअघि स्थापना भएको हो । जसले घरको स्वादका पारखीहरुका लागि आफ्ना ग्राहकहरुलाई स्वाद पस्किरहेको छ । कुनै यस्तो समय थियो, तपाईंलाई भोक लागेको बेला होटल रेस्टुराँमा आफू नै नगई सुख थिएन । अब त्यो जमाना पनि पुरानो भइसकेको छ । फुडमारियोका माध्यमबाट जो कसैले पनि आफ्ना भान्साबाट खाना बनाउन सक्छन् र आफैले बजार सिर्जना गर्न सक्छन् ।

तपार्इंको भान्सा सफा छ, फुडमारियोको सर्तअनुसार भान्सा तयार पार्नुभएको छ भने तपाईंले फुडमारियोमा रहेर काम गर्न सक्नुहुन्छ । र, जो सुकैले पनि अर्डर गर्न सक्छन् । आधा घण्टादेखि एक घण्टासम्ममा अर्डर गरेअनुसार तपाईंले आफ्नो खाना प्राप्त गर्न सक्नुहुन्छ । यो अनलाइन पोर्टलको युनिक विशेषता भनेको यसमा मिनी मःम अर्डर भन्ने हँुदैन । घरकै स्टाइलमा भान्सादेखि ग्राहकहरुको खाना पुग्छ । हाल काठमाडौं चक्रपथ एरियाका लागि यसले सेवा प्रदान गर्दै आएको छ ।