स्थानीयवासीले तामाकोसीको सेयर भर्ने मिति सर्यो

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कम्पनी अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले दोलखाबासीका लागि साउन १६ देखि भदौ १४ गतेसम्म सेयर आवेदन हाल्ने नयाँ समय तोकेको छ । स्थानीयहरुको चर्को दबाबपछि समय सारिएको हो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर भर्ने समय सरेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कम्पनी अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले दोलखाबासीका लागि साउन १६ देखि भदौ १४ गतेसम्म सेयर आवेदन हाल्ने नयाँ समय तोकेको छ । स्थानीयहरुको चर्को दबाबपछि समय सारिएको हो ।

‘जिल्ला समन्यव समिति र स्थानीय सरकारले राखेको मागको विषयमा धिताेपत्र बाेर्ड र इस्यु म्यानेजरबीच छलफल भर्इ नयाँ मिति तोकिएको हो,’ तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले भने, ‘काठमाण्डौंबाट सेयर हाल्न पाउनु पर्ने प्रस्तावको विषयमा भने धितोपत्र बोर्डमा छलफल भइरहेको छ ।’ स्थानीयहरुको मागप्रति आफूहरु सकारात्मक भएको बताउँदै न्यौपानले भने, ‘बर्षातको समयमा सेयर खुलाउने आफूहरुको चाहना नभई धितोपत्र बोर्डको नियमानुसार खुलाइको हो ।’

यसअघि अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले असार १४ देखी साउन ९ गतेसम्मका लागि सेयर आवेदन खुला गरेको थियो । असारको समयमा खेतिपाती गर्नु पर्ने र बाढी पहिरोको त्रास धेरै हुने भएकाले सेयर भर्ने समय सार्न दोलखाका सांसद शान्ति पाख्रिनले संसदको ध्यानाकर्षण गराएकी थिइन् । यस्तै जिल्ला समन्वय समिति र दोलखाका सात ओटै स्थानीय तहले सेयर हाल्ने समयमा पुनर्विचार गर्न आयोजना निर्माण कम्पनी र धितोपत्र बोर्डलाई आग्रह गरेको थियो ।

यस्तै राजधानी काठमाडौंमा रहेका दोलखावासीहरुले पनि यहींबाट सेयर दरखास्त दिन पाउनु पर्ने, जिल्लाका ७४ ओटै वडामार्फत सेयर सङ्कलन गर्ने व्यवस्था मिलाउन र एकाघरको एक जनाको बैङ्क खातामार्फत नै परिवारका सबै सदस्यले सेयर दरखास्त भर्न पाउने व्यवस्था मिलाउन धितोपत्र बोर्ड र आयोजनालाई अनुरोध गरेका थिए ।
४ सय ५६ मेगावाट विद्युत् क्षमता भएको तामाकोसी आयोजनाले सर्वसाधारणका लागि छुट्याएको १० प्रतिशत सेयरमध्ये दोलखाबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा स्थानीयहरुले न्यूनतम ३० कित्ता र बढीमा ३ सय कित्तासम्म खरिद गर्न आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

दोलखाबासीलाई ३ चरणमा विभाजन गरेर सेयर बाँडफाँड गरिनेछ । आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा रहेका गरी सेयर बाँडफाँड हुने जनाइएको छ । पहिलो र दोस्रो चरणको सेयर निष्कासनबाट २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ सङकलन गर्ने हुनेछ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगिसेकेको छ । आयोजनाले २०७५ सालभित्र पहिलो युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।