अझै बार्गेनिङमै चल्छन् काठमाडौंका ट्याक्सी

यातायात व्यवस्था विभाग भने उपत्यकाका ट्याक्सी व्यवस्थापनलाई चुस्त बनाउन चोबीसै घण्टा खटिरहेको बताउँछ । विभागका प्रवक्ता तुलसीराम अर्यालले अनुगमनलाई कडाइ गरिहेको बताए ।

बुधबार कोटेश्वरका सन्तोष रेग्मी वैदेशिक यात्रामा जाने क्रममा घरबाट एयरपोर्टसम्म जान ट्याक्सी खोजे । ट्याक्सी चालकले मिटरमा नजाने, मिटरमा जाने भए तोकिएको दरभन्दा बढी पैसा तिर्नुपर्ने बताएपछि रेग्मी बार्गेनिङ् गरेर दुई सय पचास रुपैयाँ तिर्न तयार भए । कोटेश्वरमा ट्राफिक प्रहरीले राखेको होर्डिङ बोर्डअनुसार कोटेश्वरबाट एयरपोर्टसम्मको भाडा एक सय ५० रुपैयाँ हो ।

कोटेश्वरबाट एयरपोर्टसम्मको भाडा एक सय ५० रुपैयाँ लिनुपर्नेमा ट्याक्सी चालकले बार्गेनिङ गर्दै दुई सय ५० रुपैयाँ लिएकोे रेग्मीले क्यापिटल नेपाललाई बताए । उपत्यकालगायत अन्य बाहिरी क्षेत्रमा ट्याक्सीहरु मिटरमा प्रायः जान नमान्ने सेवाग्राहीको भनाइ छ । छोटो समयको बाटोलाई पनि महँगो भाडा तिरेर सेवा लिन सेवाग्राही बाध्य छन् । हरेक गल्ली तथा चोकमा ट्याक्सीचालकले ठगी गरिरहेका छन् । झन् आपातकालीन अवस्थामा मौकाको पाइदा उठाउन ट्याक्सी व्यवसायी सदैव तयार रहने उपभोक्ताहरु बताउँछन् ।

त्यस्तै ट्याक्सीबाट ठगिएका अर्का व्यक्ति हुन् जोरपाटीका रामचन्द्र केसी । उनले राति ११ बजे बिरामी भएका बुवालाई हस्पिटल लैजान एउटा डिलक्स ट्याक्सीसँग कुरा गरे । तर सो ट्याक्सी मिटरमा जान मानेन । उसले मिटरमा उठेकोभन्दा दोब्बर भाडा लिने भन्दै दुवैबीच बार्गेनिङ हुन थाल्यो । अन्त्यमा जोरपाटीबाट चाबहिलस्थित उक्त हस्पिटलसम्म गएको केसीले पाँच सय रुपैयाँ तिरे । रेग्मी र केसी मात्र होइनन्, आपातकालीन अवस्थामा ट्याक्सी सेवा लिने प्रायः सबै सेवाग्राहीको उस्तै गुनासो छ ।

ठमेल बस्ने मञ्जु गुरुङका अनुसार ट्याक्सी चालकबाट नेपालीभन्दा विदेशी नागरिक बढी ठगिने गरेका छन् । रत्नपार्कबाट ठमेल हिँडेर जाँदा बढीमा १५ मिनेट लाग्छ, तर ट्याक्सीचालकले टाढा छ भन्दै पर्यटकलाई अरु नै बाटो हुँदै घुमाएर ल्याउने गरेको उनको भनाइ छ । ट्याक्सीमा सरकारले विभिन्न प्रविधिका मिटर तथा प्रिन्टर जडान गर्न लगाएको छ । तैपनि एकाध बाहेक कुनै ट्याक्सीवालाले बिल दिँदैनन् । ‘यसरी मनोरञ्जन तथा घुमाम गर्न आएका पर्यटकलाई ट्याक्सीले बढी भाडा लिएर ठगेपछि उनीहरुले कस्तो अनुभव लिएर जान्छन् ?’ उनले रोष प्रकट गरिन् ।

यातायात व्यवस्था विभाग भने उपत्यकाका ट्याक्सी व्यवस्थापनलाई चुस्त बनाउन चोबीसै घण्टा खटिरहेको बताउँछ । विभागका प्रवक्ता तुलसीराम अर्यालले अनुगमनलाई कडाइ गरिहेको बताए । ‘पर्यटकलाई बढी भाडा लिइरहेको गुनासा आएका छन् । पर्यटकलाई बढी भाडा लिने तथा विभिन्न आश्वासन देखाउने ट्याक्सी व्यवसायीलाई हजार रुपैयाँ जरिवान हुन्छ,’ उनले बताए ।

गुणस्तर तथा नाप तौल विभागले उपत्यकामा भएका दस हजारभन्दा बढी ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम जडान भइसकेको जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मेसिन जडान भएका ट्याक्सीमा सङ्केतका लागि पहेंलो चिह्न लगाइसकेको बताए । तर अधिकांश ट्याक्सी मिटरमा नजाने तथा गए पनि मिटरमा उठेभन्दा बढी पैसा लिने गरेको गुनासो बढ्दै गएको ट्राफिक प्रहरीको तर्क छ । मिटरमा नजाने ट्याक्सीलाई कारबाही गरिरहेको महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी बसन्त पन्तले बताए । सेवाग्राहीले मिटरमा नजाने ट्याक्सीको बारेमा जानकारी नदिँदा पनि यो समस्या सिर्जना भएको पन्तको भनाइ छ ।

केही हप्ताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मिटर तथा बिल प्रिन्टिङ सिस्टममा जान नमान्ने ट्याक्सीको २४ घण्टाभित्र दर्ता खारेज गर्ने बताएका थिए । मन्त्री महासेठले त्यतिमात्र होइन सेवाग्राहीलाई ठग्ने तथा अवैध रकम असुली गर्ने ट्याक्सी व्यवसायीलाई आर्थिक जरिवाना र सवारीसाधन जफत गर्न सरकार पछि नहट्ने बताएका थिए । तर उनको चेतावनी कसैले टेरेन । उपभोक्ता मारमा परिरहेका छन् ।

हाल उपत्यकामा चल्ने ट्याक्सीले बिल नदिने तथा मिटरमा जान नमान्ने सेवाग्राहीको आरोप छ । ‘आपातकालीन अवस्थामा त झन् मौकाको फाइदा उठाउन खोज्छन् ट्याक्सी चालक’, एक सेवाग्राहीले भने ।

अझ साँझपख सार्वजनिक भाडाका यातायात कम चल्ने समयमा ट्याक्सीचालकहरुको मनोमानी चल्ने सेवाग्राही बताउँछन् ।