किन निम्तिन्छ बर्खामा विद्युतीय जोखिम !

विद्युतीय जोखिम न्यूनीकरण गर्न प्राधिकरणले गत वर्षदेखि नै तार व्यवस्थापन ‘अन्डरग्राउन्ड’ प्रणाली लागू गर्ने भनेपनि त्यो कार्यान्वयन हुन कति वर्ष लाग्ने हो पत्तो छैन । हरेक वर्ष विद्युतीय तार व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्न किन नसकेको भनेर प्रश्न गर्दा प्राधिकरणको हलुका जवाफ आउँछ ।

बर्खायाम सुरु भएसँगै विद्युत् अवरुद्ध हुनु, तार जल्नु, ट्रान्सफर्मर पड्किनु कुनै नौलो होइन । विगतदेखि नै विद्युत्तीय तार तथा पोलको उचित व्यवस्थापन नहुँदा यस प्रकारका जोखिम तथा दुर्घटना हुने गरेका छन् । विद्युतको समानुपातिक वितरण गर्न र जोखिम न्यूनीकरण गर्ने निकाय नेपाल विद्युत् प्राधिकरणको त्यसतर्फ कुनै ध्यान जान सकेको छैन ।

अहिले, बर्खा सुरु भएपछि सहरका चोक तथा गल्लीमा हिँड्न त्रसित हुनुपर्ने अवस्था छ । आकाशबाट पानी परेका बेला विद्युत्तीय लाइनका तारहरु जल्ने, पड्किने समस्या बढ्दै जान थालेको छ । गत असार ११ गते काठमाडौं, लैनचौर चोकमै एक पोलमा रहेको तार जलेर ट्राफिक, यातायात र यात्रुहरुलाई त्रास पैदा ग¥यो । केही दिनअघि राजधानीकै न्यु प्लाजामा पानी परिरहेकै बेला विद्युत् पोलमा रहेका तारहरु एक्कासी जले । त्यस आसपासका केही ठाउँहरुमा त्यसदिन विद्युत् सेवा अवरुद्ध भयो । हिजो मङ्गलबार मात्रै त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी भयो । त्यस्तै हिजो नै लैनचौरका विभिन्न ३ ठाउँमा रहेका पोलका तारहरु जलेका छन् । पोलमा आगलागी हुँदा केही समय त्यसक्षेत्र त्रसित बन्यो । अहिले लैनचौरका विभिन्न ठाउँमा तारहरु यत्रतत्र हुँदा यात्रुहरुलाई आवतजावतमा समेत अप्ठ्यारो परेको छ ।

यसप्रकार बर्खा सुरु भएसँगै दोहोरिने जोखिम र सम्भावित दुर्घटनाप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन । विद्युतीय जोखिम न्यूनीकरण गर्न प्राधिकरणले गत वर्षदेखि नै तार व्यवस्थापन ‘अन्डरग्राउन्ड’ प्रणाली लागू गर्ने भनेपनि त्यो कार्यान्वयन हुन कति वर्ष लाग्ने हो पत्तो छैन । हरेक वर्ष विद्युतीय तार व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्न किन नसकेको भनेर प्रश्न गर्दा प्राधिकरणको हलुका जवाफ आउँछ । ‘प्राविधिक विषय हो । एकैचोटि गर्छु भनेर सकिँदैन । समय र बजेट चाहिन्छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘तार व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न अन्डरग्राउन्ड सिस्टम बनाउने भनेका छौं ।’

विद्युत् वितरण प्रणालीलाई थप स्तरोन्नति र सुधार गर्ने पक्षमा प्राधिकरण रहेको र त्यसका लागि थप समय र बजेटको आवश्यकता रहेको घिसिङको भनाइ छ । उनले बर्खाको समयमा विभिन्न प्राविधिक समस्या आउने भएकाले यस्ता समस्याको दीर्घकालीन समाधानको पक्षमा प्राधिकरण रहेको बताए ।

काठमाडौं उपत्यकाभित्रै विद्युतीय प्रणाली गुणस्तरयुक्त नहुनु चिन्ताको विषय हो । पछिल्ला दुई महिनामा मात्रै उपत्यकाका दुई दर्जनभन्दा बढी स्थानमा पोल जल्ने तथा तारमा आगलागी भएको तथ्याङ्क छ । कहिलेकाहीँ उच्च भोल्टेजमा विद्युत् उत्पादन हुँदा पनि विद्युत् लोड थाम्न नसकेर विद्युतीय उपकरण जल्ने तथा आगलागी हुने गरेको छ । गुणस्तरीय विद्युत् वितरण, विद्युतीय जोखिम न्यूनीकरण र सरकारी लक्ष्य पूरा गर्न समयमै भएका विद्युतीय पोल, तार, प्रसारण लाइनको व्यवस्थापनमा सरकारी निकाय, ऊर्जा मन्त्रालय र प्राधिकरणको ध्यान जान जरुरी छ ।