असार २९ मा पनि सञ्चालन नहुने भए एसफाइभ रुटका १७ ठूला बस

उहिलै सञ्चालनमा आइसक्नु पर्ने बस काजपत्र तथा अन्य झमेलाका कारण तोकिएको समयमा कहिल्यै सञ्चालन गर्न नसकिएको उनले बताए । ‘दुई पटकसम्म समय सारियो, विभागको पक्रियाले समय लम्बिँदै गएको छ,’ उनले भने ।

एस फाइभ रुटमा यातायात सञ्चालन कार्य फेरि पछि धकेलिएको छ । गत बैशाखमै सञ्चालन हुनुपर्ने दिगो यातायात प्रालि असार २९ गते सारिएको थियो । तर २९ गते पनि सञ्चालन नहुने भएको छ ।

गोंगबु–सिनामङ्गल–मैतीदेवी चल्ने भनिएको ५० सिटे बस यातायात व्यवस्था विभागकै लापरबाहीका कारण सञ्चालनमा आउन नसकेको प्रालिका सचिव लालप्रसाद गुरागाईंले जानकारी दिए ।

गुरागाईंका अनुसार विभागले पाँच करोड रुपैयाँभन्दा बढी लगानी भएका कम्पनी उद्योग विभागमा अनिवार्य दर्ता हुनुपर्ने जनाएको छ । ‘एक हप्ता अघिसम्म त्यो नियम थिएन, अहिले यातायात सुरु गर्ने दिनको मुखैमा आएर विभागले दर्ता गर्नुपर्ने भनेको छ । विभागले कागजी काममै अलमल्याइरहेको छ,’ गुरागाईंले भने ।

कम्पनी दर्ता भएको महिनौं भइसक्दा पनि विभागले वास्ता नगरेको उनको भनाइ छ । उहिलै सञ्चालनमा आइसक्नु पर्ने बस काजपत्र तथा अन्य झमेलाका कारण तोकिएको समयमा कहिल्यै सञ्चालन गर्न नसकिएको उनले बताए । ‘दुई पटकसम्म समय सारियो, विभागको पक्रियाले समय लम्बिँदै गएको छ,’ उनले भने ।

कम्पनीमा १० करोड रुपैयाँ लगानी रहेको गुरागाईंले जानकारी दिए । उत्पादक कम्पनी टाटासँग भएको सम्झौताअनुसार एउटा बसको लागत ४० लाख रुपैयाँभन्दा बढी परेको उनको भनाइ छ । नगर विकास कोषले दिगो सहरी यातायात प्रालिलाई ८ वर्षसम्मका लागि ५ प्रतिशतको सहुलियत ब्याजदरमा कुल लागतको ८० प्रतिशत ऋण उपलब्ध गराएको छ ।

अपुग २० प्रतिशत रकममा कम्पनीले ५ प्रतिशत लगानी गरेको छ भने काठमाडौं दिगो सहरी आयोजनाले १५ प्रतिशत अनुदान दिएको गुरागाईंले क्यापिटल नेपाललाई जानकारी दिए ।

विभागका प्रवक्ता तुलसीराम अर्यालले प्रक्रियागत हिसाबले जानुपर्ने भएकाले समस्या भएको बताए । उनका अनुसार १७ ठूला बस केही महिना अगावै आए पनि कम्पनी उद्योग विभागमा दर्ता नभएको र दर्ता गर्न केही प्रक्रिया पुर्याउनु पर्ने भएकाले ढिला भएको जनाए ।

दिगो यातायातका यी १७ ओटा बस हाल माइक्रो र टेम्पो चल्दै आएका भित्री बाटोमा गुड्ने छन् । सिनामङ्गलबाट मैतीदेवी हुँदै सुन्धारासम्म र रत्नपार्कबाट हालकै भित्री रूट हुँदै तीलगङ्गासम्म जाने गरी विभागसँग छलफल गरिरहेको उनको भनाइ छ । हाल सो रुटमा ६६ ओटा माइक्रो तथा टेम्पु चल्छन् । विभागले साना सवारीसाधन हटाउन पहिलो चरणमा एसफाइभ रुटबाट सुरु गर्ने बताएको थियो ।

गुरागाईंका अनुसार यी बस एयरपोर्ट–सिनामङगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार­ रत्नपार्क–लैनचौर–सामाखुसी हुँदै नयाँ बसपार्क पुग्नेछन् । फर्किने क्रममा नयाँ बसपार्क–गोंगबु–सामाखुसी–गल्कोपाखा–लैनचौर–जमल–कमलपोखरी ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर–सिनामङ्गल हुँदै एयरपोर्टसम्म पुग्ने बताइएको छ ।