निर्माण अघि बढ्दै गल्छी–रसुवागढी सडक

झन्डै दुइ वर्षपहिले निर्माण सुरु भएको उक्त सडक अझै नबन्दा दुई देशीय व्यापार तथा पारवाहनमा असर परेको भन्दै आयोजनाले नाका विस्तारमा अवरोध हटाउँदै काम सम्पन्न गर्ने लक्ष्य लिएको हो ।

उत्तरी छिमेकी चीनसँग जोड्ने व्यापारिक नाकाका रुपमा मानिएको गल्छी—त्रिशूली—स्याफ्रुबेसी—रसुवागढी नाका विस्तार गर्दा आइपरेका समस्या र अवरोध हटाएर ट्र्याक निर्माणलाई छिटो सम्पन्न गर्नेतर्फ आयोजना लागेको छ । लामो समयदेखि मुआब्जा विवाद, निर्माण सामग्रीको अभाव, स्थानीय सरकार जनप्रतिनिधि र अन्य निकायबीच बढ्दो असमझदारी, लम्बिँदो कानुनी प्रक्रिया, स्थानीयको विवाद र वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता समस्याका कारण आयोजना निर्माण ढिलाइ भइ काम प्रभावित हुँदै आएको थियो ।

झन्डै दुइ वर्षपहिले निर्माण सुरु भएको उक्त सडक अझै नबन्दा दुई देशीय व्यापार तथा पारवाहनमा असर परेको भन्दै आयोजनाले नाका विस्तारमा अवरोध हटाउँदै काम सम्पन्न गर्ने लक्ष्य लिएको हो । विगतमा देखिएका सबैजसो समस्या र अवरोध समाधान गरी निर्माण प्रक्रिया सम्पन्न गर्ने लक्ष्यमा रहेको आयोजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । अहिले विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको, मुआब्जा वितरण कार्य अघि बढेको र टेन्डर प्रक्रिया साउन मसान्तभित्रै खोल्ने तयारी रहेको उनले बताए । ‘आयोजनामा पहिले जस्तो समस्या अहिले छैनन् । सबै समस्या समाधान गरी आयोजना सम्पन्न गर्ने लक्ष्यमा छौं’, उनले भने, ‘त्यसका लागि सबै पक्षसँग समन्वय गरेका छौं ।’

उनका अनुसार मुआब्जा वितरणका लागि २५ करोड रुपैयाँ छुट्याइएको छ । उक्त मुआब्जाका लागि झन्डै ७ सय जनाको निवेदन परेको छ । मुआब्जा रकम जिल्ला प्रशासन कार्यालयबाट वितरण भइरहेको उनको भनाइ छ । ६४ किलोमिटरको उक्त सडकखण्डमध्ये स्याफ्रुबेसी—रसुवागढी खण्डमा चीन सरकारको लगानीमा काम भइरहेको छ । केही महिनाअघि त्रिशूली—स्याफ्रुबेसी सडकखण्डको ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । ट्र्याकको ग्राभेलिङ र कालेपत्रे निर्माणको कामका लागि डीपीआर स्वीकृत भई आगामी साउन मसान्तसम्म टेन्डर प्रक्रियामा जाने आयोजनाको दाबी छ । यता गल्छी—त्रिशूली खण्डमा कालेपत्रेको काम यस वर्ष १० प्रतिशत सम्पन्न गर्ने भने पनि काम हुन सकेको छैन । बर्खा सुरु भएकाले कालोपत्रेको काम प्रभावित हुने भन्दै ठेकेदारले काम नगरेको आयोजनाले बताएको छ ।

हालसम्म उक्त सडकको २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।