no-image

मङ्गलबारबाट इन्टरनेट प्रयोगमा सेवा शुल्क १३ प्रतिशत थपिएको छ भने टेलिफोनमा लिइँदै आएको ११ प्रतिशत दूरसञ्चार शुल्कलाई १३ प्रतिशत पुर्याइउको छ ।

सरकारले आज साउन १ गते मङ्गलबारदेखि देशभर इन्टरनेट सेवाशुल्क वृद्धि गरेको छ । नेपालमा रहेका इन्टरनेट सेवाप्रदायक कम्पनीले पनि एक हप्ता अगावै सूचना जारी गर्दै टेलिफोन र इन्टरनेट शुल्क वृद्धि हुने जानकारी दिएका छन् ।

मङ्गलबारबाट इन्टरनेट प्रयोगमा सेवा शुल्क १३ प्रतिशत थपिएको छ भने टेलिफोनमा लिइँदै आएको ११ प्रतिशत दूरसञ्चार शुल्कलाई १३ प्रतिशत पुर्याइउको छ ।

एनसेल, नेपाल टेलिकम, सुबिसु, वल्र्डलिङ्क, मर्कन्टायललगायत विभिन्न सेवाप्रदायक कम्पनीले पनि आजैबाट सेवाशुल्क बढाइएको जानकारी दिएका छन् । बजेटमा व्यवस्था भएअनुसार साउनबाट टेलिफोनको शुल्क कम्तीमा दुई प्रतिशतभन्दा बढी बढेको छ । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ । सरकारले फोन तथा इन्टरनेट सेवामा १३ प्रतिशत वृद्धि गरे पनि प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले कम्तीमा १४ प्रतिशत मूल्य वृद्धि हुने बताउँछन् ।

यो दस्तुर इन्टरनेट सेवा र मोबाइल डाटा प्याकमा समेत लागू हुँदा भ्वाइस र इन्टरनेट दुवै सेवामा शुल्क बढिसकेको छ । भ्वाइस कलमा मात्र लगाउँदै आएको सेवा शुल्क अबदेखि मोबाइल डाटा प्याकमा समेत लाग्ने सेवाप्रदायक कम्पनीको भनाइ छ । सुबिसुले आजदेखि सेवा शुल्कबापत १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १३ प्रतिशत सेवा शुल्क वृद्धिगरिसकेको छ । सुबिसु केबल नेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले पनि आफ्नो कम्पनीको सबै इन्टरनेट दस्तुर बढिसकेको बताए ।

सरकारले इन्टरनेट शुल्क बढाएपछि पहिले भ्याटसहित १ हजार १ सय ३० बुझाउनेले अब १ हजार २ सय ८० रुपैयाँ बुझाउनु पर्ने बताए । त्यस्तै भायोनेटले पनि शुल्क बढाइसकेको जनाएको छ । कम्पनीको १२ एमबीपीएस गतिको इन्टरनेटलाई प्रति महिना १४ सय तिर्नु पर्नेमा अब १३ प्रतिशत शुल्क बढेपछि कम्पनीले तीन सय रुपैयाँ बढाई हाल १७ सय ८८ रुपौयाँ लिने जानकारी दिएको छ । मुलुकको ब्रोडब्यान्ड नीतिले प्रत्येक नागरिकलाई सस्तो र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने भने पनि सरकारले इन्टरनेटको शुल्क वृद्धि गर्दै लगेको छ ।

इन्टरनेट प्रयोगमा नेपाल शुरूआती चरणमा रहेकाले सरकारले इन्टरनेटकोे मूल्य बढाउनु भनेको उपभोक्तालाई आर्थिक भार पार्नु राम्रो नहुने प्राधिकरण निर्देशक खनालको भनाइ छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि आइतवार विज्ञप्ति जारी गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार कतिपय प्याक तथा सेवामा मूल्य समायोजन गरिएको बताएको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट, एफटीटीएचलगायत विभिन्न प्याकेजको मूल्य बढाएको बताइन् । त्यसैगरी एनसेलले पनि आफ्ना सेवाहरूमा मूल्य बढाइसेको जनाएको छ । एनसेलले साउन १ गतेदेखि भ्वाइस कल र डेटामा सरकारले तोकेअनुसार १३ प्रतिशत सेवाशुल्क लागू गरिसकेको छ । कम्पनीले सेवाग्राहीलाई १२ दिनअघिदेखि सेवा शूल्क वृद्धिसम्बन्धी जानकारी सहितको एसएमएस पठाइसकेको थियो ।

सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवाशुल्क बढाउनेतर्फ केही योजना नभएको जनाएका थिए । तर सेवाप्रदायक कम्पनीहरुले आज मङ्गलबारदेखि देशभरको इन्टरनेट वृद्धि भएको पत्राचार गरिसकेका छन् ।