नौ ठूला प्रसारण लाइन जोड्नेगरी रातमाटेलाई देशकै ठूलो हब बनाइने

गल्छीदेखि १२ किलोमिटर माथि पर्ने रातमाटेमा चार सय र दुई सय २० केभीका नौ ओटा प्रसारण लाइन जोड्न सबस्टेसन बनाउन लागिएको गल्छी—रसुवागढी—केरुङ प्रसारण लाइन निर्माण आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिए ।

नेपाललाई उत्तरी छिमेकी मुलुक चीनसँग विद्युत् लेनदेन गर्न रातमाटेमा बनाइने सबस्टेसनलाई देशकै ठूलो विद्युत् हब बनाइने भएको छ । गल्छी—रसुवागढी—केरुङ चार सय केभी प्रसारण लाइनलाई एकैठाउँमा जोड्नेगरी अन्य उच्च क्षमताका आठ ओटा प्रसारण लाइन जोड्नगरी सबैभन्दा ठूलो विद्युत् हब बनाउन लागिएको हो । गल्छीदेखि १२ किलोमिटर माथि पर्ने रातमाटेमा चार सय र दुई सय २० केभीका नौ ओटा प्रसारण लाइन जोड्न सबस्टेसन बनाउन लागिएको गल्छी—रसुवागढी—केरुङ प्रसारण लाइन निर्माण आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिए ।

मिलिनियम च्यालेन्ज कर्पोरेसनको ५० अर्ब अनुदान र ऋणमा बन्न लागेको विद्युत् सबस्टेसन र प्रसारण लाइन रातमाटेमै गएर जोडिने छ । चीनबाट आउने चार सय केभीको गल्छी—रसुवागढी—केरुङ पनि रातमाटेमै आएर जोडिने र देशभित्रै बन्ने आठ ओटा उच्च क्षमताका प्रसारण लाइन पनि त्यसैमा जोडिएर रातमाटे देशकै ठूलो विद्युत् हबको रुपमा विकास हुने प्रमुख आत्रेयले बताए । खासगरी चार सय केभी क्षमताका पाँच ओटा र दुई सय २० केभी क्षमताका चार ओटा प्रसारण लाइन निर्माण भई रातमाटेमा जोडिनेछन् । रातमाटेमा बन्ने सबस्टेसन र अन्य स्वदेशमा बन्ने प्रसारण लाइन मिलिनियम च्यालेन्ज कर्पोरेसनको सहयोगमा नै बन्नेछन् ।

चीनको ल्हासादेखि रातमाटे जोड्ने चार सय केभी, लप्सीफेदीदेखि रातमाटे आउने चार सय केभी, रातमाटे—दमौली—न्यु बुटवल जाने चार सय केभी र रातमाटेबाट हेटौँडा जोड्ने चार सय केभी प्रसारण लाइन रातमाटे सबस्टेसनमै जोडिनेछ । त्यस्तै १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणपश्चात् चार सय केभीको अर्को प्रसारण लाइन पनि जोड्न सकिने सम्भावना देखिएको छ ।

त्यसैगरी त्रिशूली ३ ‘बी’ बाट रातमाटे जोड्ने दुई सय २० केभी प्रसारण लाइन, धादिङ—तातोपानी—बोरुङ दुई सय २० केभी प्रसारण लाइन, बोरुङ—रातमाटे दुई सय २० केभी र मस्र्याङ्दीदेखि काठमाडौं जोड्ने प्रसारण लाइनलाई पनि रातमाटे सबस्टेसनमै लैजाने गरी सर्भे भएको आत्रेयको भनाइ छ । आगामी पाँच वर्षभित्र गल्छी—रसुवागढी—केरुङ चार सय केभी प्रसारण लाइनसहित अन्य लाइन निर्माणको काम अगाडि बढ्ने आत्रेयको तर्क छ ।

प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । सबै प्रसारण लाइन जोडिने सबस्टेसन रातमाटेमा झन्डै छ सय २५ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । त्यसैगरी रातमाटे—दमौली—न्यु बुटवल प्रसारण लाइन निर्माणका लागि २५ बिघा जग्गा लिइसकिएको छ । प्रसारण लाइन निर्माणका लागि सबैभन्दा ठूलो समस्या जग्गा भएकाले पनि अन्य प्रसारण लाइन निर्माण क्षेत्रहरुमा पर्ने जग्गा कुन दरमा लिने भन्ने कुनै टुङ्गो लागेको छैन । मिलिनियम कर्पोरेसनले मुआब्जासम्बन्धी सबै जिम्मा नेपाल विद्युत् प्राधिकरणलाई दिनसक्ने सङ्केत देखिएको छ ।

चीनको नाका केरुङदेखि गल्छीसम्म जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आयोजनाले १० अर्ब लागत स्टिमेट गरेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसनको सहयोगमा बन्ने सबस्टेसन र प्रसारण लाइन निर्माणको लागत यकिन हुन सकेको छैन । गत आइतबार मात्रै चिनियाँ प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरणबाट १० जना र अमेरिकाबाट आएका मिलिनियम कर्पोरेसनका ८ जना प्रतिनिधिबीच रातमाटेमा बन्ने सबस्टेसन र साइटहरुको निरिक्षण तथा संयुक्त वार्तासमेत भएको छ ।