बजेटपछि स्कुटीमा आकर्षण

अहिले नेपालमा होन्डा, टीभीएस, हिरो, सुजुकी, यामाहा, महिन्द्रा, भेस्पा, डालिम, यूएमलगायत कम्पनीका स्कुटर चर्चित छन् । सवा लाखदेखि तीन लाख रुपैयाँसम्मका स्कुटर नेपाली बजारमा उपलब्ध छन् ।

सानो सवारी, त्यसैभित्र सामान राख्न पाइने, चलाउन सजिलो र महिलापुरुष सबैका लागि उपयुक्त हुने एक मात्र साधन हो— स्कुटर । यही विशेषतालाई ध्यानमा राखी अहिले नेपाली प्रयोगकर्ताले स्कुटर किन्ने क्रम बढेको छ । केही समय काठमाडौंका सडकमा गुडिरहेका स्कुटरमा दृष्टि दिने हो भने के वृद्धा, के युवा, के किशोर, सबैमा स्कुटरप्रतिको आकर्षण बढ्दै गएको देख्न सकिन्छ ।

त्यति मात्र नभई मोटरसाइकल छाडेर स्कुटरमा हुइँकिने युवाको सङ्ख्या पनि उकालो लाग्दै गएको छ । सरकारले मोटरसाइकलमा भन्सार दर बढाएसँगै अहिले स्कुटरको माग बढ्दै गएको व्यवसायीको भनाइ छ । यसैको एउटा उदाहरण हुन्— गौशाला बस्ने गुल्मीका शीतल रिजाल । उनले हालै मोटरसाइकल बेचेर स्कुटर खरिद गरे । झन्झट भएकाले उनले मोटरसाइकल बेचेर स्कुटर किनेका हुन् । ‘मोटरसाइकलमा साह्रै असहज भयो, स्कुटर भएपछि जहाँ जाँदा पनि कुनै समस्या नहुने र सबै परिवारले चलाउन सक्ने भएपछि एक्सचेन्ज गरेको हुँ,’ उनले भने । आवश्यक परेको बेला आफूले पनि चलाउन पाइने र छोराछोरी दुवैलाई पनि उपयुक्त हुने भएकाले स्कुटर रोजाइमा परेको उनको भनाइ छ ।

भक्तपुरकी प्रतिभा खड्काको अनुभव पनि रिजालको जस्तै छ । सबै परिवारकै लागि सहयोगी हुने भएकाले स्कुटर रोजाइमा परेको उनी बताउँछिन् ।
चलाउन सजिलो र सामान राख्न पनि मिल्ने भएकाले स्कुटरमा मानिसको आकर्षण बढेको उनको भनाइ छ । त्यसैले ग्राहकको यस्तो आकर्षणलाई लक्ष्य गरी व्यवसायीले पनि नेपालमा विभिन्न डिजाइन एवम् मूल्यका स्कुटर सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ ।

बजारमा सुविधायुक्त उच्च क्षमताका स्कुटर भित्रिने क्रम बढेको नयाँ बानेश्वरस्थित होन्डा स्कुटर सोरुम म्यानेजर भगवती खतिवडाले जानकारी दिइन् । अहिले स्कुटर खरिद गर्न युवा र कलेज पढ्ने विद्यार्थी बढी आउने गरेको उनको भनाइ छ । अहिले बजारमा आकर्षक डिजाइनमा उच्च प्रविधियुक्त स्कुटर रोजीरोजी किन्न पाइन्छ । दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनीहरु राम्रा स्कुटर बजारमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् ।

अहिले परिवार तथा घरायसी प्रयोजनका लागि स्कुटर खरिद गर्न आउने मानिसको सङ्ख्या बढेको कान्तिपथ जमलस्थित यामाहा सोरुमकी कविना श्रेष्ठले बताइन् । विशेषगरी युवाहरुले स्पोर्टी स्कुटर बढी मन पराउने उनको भनाइ छ । ग्यास सिलिन्डर, पानीको जार आदि सामान बोक्न मिल्ने स्कुटर खोज्ने गरेको उनले बताइन् ।

नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार कम्पनीका मिडिया एक्जुकेटिभ मिजेनलाल श्रेष्ठले पनि स्कुटर खरिद गर्नेहरु बढेको जानकारी दिए । विशेषगरी उपत्यकामा चलाउन स्कुटर खरिद गर्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ । पछिल्लो समय विवाहित जोडीको रोजाइ पनि स्कुटर हुन थालेको छ । मोटरसाइकल र स्कुटर दुई ओटै खरिद गर्न नसक्नेहरुले साझा प्रयोगका लागि स्कुटर किन्ने गरेको श्रेष्ठ बताउँछन् ।

अहिले नेपालमा होन्डा, टीभीएस, हिरो, सुजुकी, यामाहा, महिन्द्रा, भेस्पा, डालिम, यूएमलगायत कम्पनीका स्कुटर चर्चित छन् । सवा लाखदेखि तीन लाख रुपैयाँसम्मका स्कुटर नेपाली बजारमा उपलब्ध छन् ।