अझै पाएनन् सेवाग्राहीले एक महिनामै स्मार्ट लाइसेन्स

विभागले गत असारमा ट्रायल पास भएका तथा लाइसेन्सका लागि कुरेर बसेका सेवाग्राहीलाई लाइसेन्स वितरणमा निरन्तरता दिने भन्दै एक महिना लाइसेन्स आवेदनसमेत बन्द गरेको थियो ।

देशैभरबाट परम्परागत लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स कार्यान्वयनमा ल्याइए पनि लाइसेन्स पाउन ९–१० महिना कुर्नुपर्ने बाध्यता अझै हटेको छैन । यातायात व्यवस्था विभागले गत महिना चार ओटा स्मार्ट लाइसेन्स छपाउन चार ओटा मोसिन खरिद गरेको थियो ।

करिब चार लाखले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा पास गरे पनि धेरैले लाइसेन्स पाउन सकेका छैनन् । स्मार्ट कार्ड कार्यान्वयनमा ल्याउनुअघि गर्नुपर्ने तयारी नहुँदा यस्तो अवस्था आएको विभागका कर्मचारीको भनाइ छ ।

विभागले गत असारमा ट्रायल पास भएका तथा लाइसेन्सका लागि कुरेर बसेका सेवाग्राहीलाई लाइसेन्स वितरणमा निरन्तरता दिने भन्दै एक महिना लाइसेन्स आवेदनसमेत बन्द गरेको थियो । पूर्वअर्थसचिव रामेश्वर खनालले लाइसेन्स नपाएको भन्दै आफ्नो ट्विटरमा गुनासो समेत व्यक्त गरेका छन् । दुई महिनादेखि लाइसेन्स नपाएको भन्दै यातायात विभागमा म्यासेज गर्दा अझै केही समय लाग्ने बताएने उनको भनाइ छ ।

त्यस्तै समाजिक सञ्जालमा रुवि सुवाल लेख्छन्, ‘लाइसेन्स पाउन ट्रायल पास भएको ६–७ महिना भइसक्दा पनि स्मार्ट लाइसेन्स पाउन सकेको छैन । के अब नवीकरण गर्ने समयमा मात्र पाउने हो ?’

मोहन खतिवडाको पनि उस्तै समस्या छ । अरुले ५/६ महिनामा लाइसेन्स पाएको आफूले भने एक वर्षमा पनि कुनै प्रतिक्रिया नपाएको उनको गुनासो छ । ‘एउटा जाबो स्मार्ट लाइसेन्स छपाउन एक वर्ष लगाउने विभाग र यसका कर्मचारीविरुद्ध चुइँक्क गर्न नसक्ने सरकारबाट स्मार्ट सिटीको सपना देख्नेजति धोबिखोलमा नुहाएर एक पटक पवित्र हुनु बेस भन्दै विश्वास बाबुले ट्विटरमा अक्रोश व्यक्त गरेका छन् । तर भौतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठ भने पुराना सेवाग्राहीलाई साउनभित्र स्मार्ट लाइसेन्स उपलब्ध गराउने दाबी गर्छन् । मेसिनमा गडबड नभएको अवस्थामा ४ लाखदेखि ५ लाखसम्मलाई लाइसेन्स दिन सकिने अवस्था रहेको उनको भनाइ छ । यसका लागि काम गर्ने सिफ्टको सङ्ख्या बढाइसकेको उनको दाबी छ ।

ट्रायल पास भएकालाई पास भएको भोलिपल्टै लाइसेन्स दिने व्यवस्था मिलाएको उनले बताए । ट्रायल दिँदा पास भएको नभएको अब एसएमएसमार्फत थाहा पाउने र बैङ्किङ प्रणालीअन्तर्गत पैसा बुझाउने व्यवस्था गर्न लागिएको उनले जानकराी दिए ।

यातायात विभागका प्रवक्ता तुलसीराम अर्याल भने लाइसेन्स वितरण धमाधम चलिरहेको बताउँछन् । दैनिक ५ हजार लाइसेन्सको माग भए पनि अहिले २ हजार छापिने गरेको विभागको भनाइ छ ।

ट्राफिक प्रहरीलाई झन् सास्ती
यातायात विभागबाट वितरण भएका स्मार्टलाईसेन्स जाच्ने मेसिन नहुँदा प्रहरीलाई झन् सास्ती भएको छ । प्रविधिविहीन प्रहरी स्मार्ट लाइसेन्स जाँचमा निरीह बन्नुपर्दा नक्कली लाइसेन्स बनाउने गिरोह यतिबेला सक्रिय बनेको ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी वसन्त पन्तको भनाइ छ । नक्कली लाइसेन्सधारीहरुले सवारी चलाएको पाउनु निकै गम्भीर विषय हो ।

‘यसले ठूलो भवितव्यको खतरा बढाएको छ,’ उनले भन, ‘स्मार्ट कार्डमा सिमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ, जसमा चालक र सवारीसँग सम्बन्धित डाटा स्टोर हुन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परे त्यसैमा रेकर्ड रहन्छ । तर हालसम्म न जाँच्ने मेसिन छ न सरकारले नै चासो दिएको छ ।’

स्मार्ट लाइसेन्स कार्ड जाँच्ने मेसिन खरिद गर्ने कार्यमा छलफल भइरहेको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । उनका अनुसार लाइसेन्स जाँच गर्ने मेसिन खरिदको तयारी भइरहेको छ । ‘नक्कली लाइसेन्स किनबेचमा कर्मचारीको संलग्नता देखिए कारबाही गर्छौं’, उनले भने ।

कागजी सवारीचालक अनुमतिपत्रमा रहेको बेथिति अन्त्य गर्न सरकारले गत वर्षदेखि यो प्रक्रिया अघि बढाएको थियो । तर यो प्रक्रिया पनि अस्तव्यस्त बन्ने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ छ । हामीलाई स्मार्ट लाइसेन्स जाच्ने मेसिन नदिँदा त धमाधम पक्राउ पर्न थालिसकेका छ अझ स्रोत र साधन भयो भने कति पक्राउ पर्लान एक प्रहरीले भने ।