अध्ययनमा अर्ब खर्चिएको बाहिरी चक्रपथ निर्माण अनिश्चित

विसं २०७२ मा केपी शर्मा ओली सरकारले बाहिरी चक्रपथ निर्माणको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेपनि निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । मन्त्रिपरिषद्बाट स्वीकृत आयोजनाको फाइल सहरी विकास मन्त्रालयमा आएर अड्किएको छ ।

झन्डै एक अर्ब रुपैयाँ खर्चेर सम्भाव्यता अध्ययन गरिएको बाहिरी चक्रपथ निर्माण अनिश्चित बनेको छ । आयोजना निर्माणका लागि विभिन्न विदेशी तथा स्वदेशी कम्पनीहरुले गरेको सम्भाव्यता अध्ययनमा मात्रै उक्त सरकारी रकम खर्च भएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

खासगरी फुलवाइड कन्ट्रक्सन कम्पनी, केक कन्ट्रक्सन प्रालि, स्लिप इन्जिनियरिङ कन्ट्रक्सन प्रालि लगायत अन्य आधा दर्जन निर्माण कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन गरेका थिए । सम्भाव्यता अध्ययनमा झन्डै एक अर्ब रुपैँया सरकारी कोषबाट खर्च भएपनि आयोजना सुरु हुने सङ्केत नदेखिएको हो । लामो समयदेखि काठमाडाैं उपत्यकाभित्र निर्माण हुने चर्चामा रहेको आयोजना अझै अगाडि बढ्न नसकेको हो । विसं २०७२ मा केपी शर्मा ओली सरकारले बाहिरी चक्रपथ निर्माणको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेपनि निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । मन्त्रिपरिषद्बाट स्वीकृत आयोजनाको फाइल सहरी विकास मन्त्रालयमा आएर अड्किएको छ ।

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई अहिले नै बाहिरी चक्रपथ निर्माण सुरु गर्ने पक्षमा नरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणका एक कर्मचारीले बताए । जग्गा प्राप्ति, वस्ती विस्थापन र मुआब्जा समस्या, बजेट अभाव र संशोधित ऐन २०४५ बमोजिम जग्गा प्राप्ति गर्नुपर्दा जटिलता सिर्जना भएकाले अहिले नै निर्माण अगाडि बढाउन नसकिएको मन्त्रालय स्रोतले बताएको छ ।

जग्गा प्राप्तिसम्बन्धी ऐन २०३४ मा जग्गा प्राप्तिसम्बन्धी व्यवस्था छुटेको र २०४५ संशोधन भएपछि ‘प्रचलित कानुनबमोजिम जग्गा प्राप्ति गर्ने’ भन्ने उल्लेख रहेकाले जग्गा अधिग्रहण गर्न नसक्दा आयोजना प्रक्रिया सुरु गर्न नसकिएको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत पाएको उक्त आयोजना निर्माण रोकिन नहुने र आगामी भदौदेखि सुरु हुने प्राधिकरणका शाखा अधिकृत धु्रव सापकोटाले जानकारी दिए । बाहिरी चक्रपथ निर्माण रोक्न नहुने गरी सहरी विकास मन्त्रालयबाट पनि ठोस निर्णय भएकोे उनको भनाइ छ । गत २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरी चक्रपथ आयोजनाको शिलन्यास गरेपनि आयोजनाको औपचारिक काम अझै सुरु हुन सकेको छैन ।

पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्मको सडकखण्ड बनाइने भनिएको थियो । उक्त आयोजना निर्माण गर्न आवश्यक जग्गासम्बन्धी मुआब्जा विवाद नरहेको प्राधिकरणले जनाएको छ । ५० मिटर फराकिलो हुने गरी बन्ने चक्रपथ ८ लेनको बन्ने मानक कोरिएको थियो ।

काठमाडाैं, ललितपुर र भक्तपुर क्षेत्रगरी बाहिरी चक्रपथ आयोजना ७२ किलोमिटर लामो बन्ने छ । सन् १९९३ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ आयोजनाको विस्तृत अध्ययन गरी नेपाल सरकारलाई बुझाएको थियो । आयोजना निर्माणका लागि ७२ अर्ब रुपैँया लागत लाग्ने गरी जाइकाले प्रतिवेदन बुझाएको थियो ।