प्रधानमन्त्रीको अनुगमनपछि पोखरा क्षेत्रीय विमानस्थल निर्माणले गति लिँदै

कुल ५० करोड रुपैयाँ मुआब्जाबापत वितरण गर्नुपर्ने रकममध्ये १० करोड रुपैयाँ बाँडिएको हो । मुआब्जाका लागि निवेदन दिएका एक सय ८० भन्दा बढी व्यक्तिहरुलाई मुआब्जा बाँड्ने काम भइरहेको आयोजनाका प्रमुख बिनेश मुनकर्मीले क्यापिटल नेपाललाई जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता पोखरा क्षेत्रीय विमानस्थलको अनुगमन गरी छिट्टै निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएसँग निर्माणले गति लिँदै गएको छ । आयोजनाको मुख्य समस्याको रुपमा रहेको जग्गासम्बन्धी मुआब्जा वितरण कार्यले तीव्रता पाइरहेको छ ।

कुल ५० करोड रुपैयाँ मुआब्जाबापत वितरण गर्नुपर्ने रकममध्ये १० करोड रुपैयाँ बाँडिएको हो । मुआब्जाका लागि निवेदन दिएका एक सय ८० भन्दा बढी व्यक्तिहरुलाई मुआब्जा बाँड्ने काम भइरहेको आयोजनाका प्रमुख बिनेश मुनकर्मीले क्यापिटल नेपाललाई जानकारी दिए । उनले झन्डै २ सय ५० देखि ३ सय व्यक्तिको जग्गा परेको र एक सयदेखि एक सय ५० जना व्यक्तिहरुले निवेदन दिन छुटेको/नआएको बताए ।

‘मुआब्जा वितरणको काम अगाडि बढेको छ । अहिलेसम्म ६० जनालाई झन्डै १० करोड मुआब्जा दिइसकेका छौं,’ उनले भने, ‘एक सय ८० जनाले मात्रै मुआब्जा प्राप्तिका लागि निवेदन दिएका छन् । एक सयदेखि दुई सय जना छुटेका या निवेदन दिन आएका छैनन् ।’ निवेदन दिएका अन्य व्यक्तिलाई पनि मुआब्जा दिन साउन मसान्तमा बजेट स्वीकृत गराएर भदौ महिनाभर मुआब्जा दिइसक्ने लक्ष्य रहेको मुनकर्मीको भनाइ छ । ‘निवेदन दिएकाहरुलाई मुआब्जा रोक्नु हुँदैन भनेर साउन मसान्तमा बजेट स्वीकृत गराई वितरण गर्ने पक्षमा छौँ,’ उनले भने, ‘बाँकी एकसय बढी व्यक्तिलाई भदौ महिनाभित्र वितरण गरिसक्छौँ ।’

कच्ची बाटोमा पर्ने जग्गाका लागि प्रतिरोपनी ७९ लाख, बाटो नभएको क्षेत्रको जग्गा प्रतिरोपनी ६० लाख र पिच भएको क्षेत्रको जग्गाको प्रतिरोपनी ८१ लाख रुपैयाँका दरले मुआब्जा वितरण भएको आयोजनाले जनाएको छ । विमानस्थल कुल ६० रोपनी क्षेत्रफलमा बन्ने छ ।

२०३२ सालमा मुआब्जाको सूचीमा परेका व्यक्ति र निवेदन दिएकाले मुआब्जा पाएका छन् । आयोजना निर्माणका लागि अन्य प्रक्रिया नापी, मालपोत तथा नगरपालिका कार्यालयबाट स्वीकृत भई आउनुपर्छ । अहिलेसम्म एक सयभन्दा बढी फाइल स्वीकृत भइसकेको र झन्डै ७० प्रतिशत निर्माणको कार्ययोजना सम्पन्न भएको उनले बताए । आयोजनाले निवेदन दिन नआएका या छुटेका प्रभावित स्थानीयलाई निवेदन दिन आग्रह समेत गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको आयोजनाको ठेक्का सीएमसी इन्जिनियरिङ कम्पनी चाइनाले लिएको छ । अहिले निर्माणपूर्वका आधारभूत काम जग्गा सम्याउने, नाली बनाउने, क्याम्प निर्माण, ट्याक्सी वे, टर्मिनल भवन निर्माणको काम पनि तीव्र रुपमा अगाडि बढिरहेको छ । चिनिँया एक्सिजम बैङ्कको ऋण सहयोगमा २२ अर्बको लागत सुरुवाती स्टिमेटमा काम भइरहेको आयोजनाले बताएको छ ।