बर्सेनि पाँच हजार सवारीचालकलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिँदै नाडा

बढ्दो सवारी चापसँगै बढेको दुर्घटना न्यूनीकरण गर्न नाडाले सो सङ्ख्यामा चालकलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिन लागेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले अन्तर्राष्ट्रियस्तरको सडक सुरक्षा तालिम दिने भएको छ । नाडाले सेफ्टी एन्ड इन्भ्यारोनमेन्ट समिति गठन गरी बर्सेनि पाँच हजार सवारीचालकलाई सडक सेफ्टी तालिम दिने भएको हो । बढ्दो सवारी चापसँगै बढेको दुर्घटना न्यूनीकरण गर्न नाडाले सो सङ्ख्यामा चालकलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिन लागेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालले उपत्यकालगायत देशैभर दुर्घटना बढ्दै गएको परिप्रेक्ष्यमा दुर्घटना न्यूनीकरण गर्न सवारीचालक तथा सुरक्षालाई ध्यानमा राखेर बर्सेनि पाँच हजार सवारीचालकलाई तालिम दिने योजना बनाइएको बताए ।

दाहालका अनुसार नाडाले अहिले विषेशगरी सेफ्टीमा बढी फोकस गरिरहेको छ । ‘अहिले नेपालमा ट्रक, बसलगायत साना ठूला सवारीसाधनको दुर्घटना बढ्दो क्रममा छ । हामीले यसै विषयमा केन्द्रित रहेर बृहत् तालिम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘चालकदल तथा हाम्रा सदस्यहरुलाई इम्प्रेस गरिरहेका छौं ।’ त्यस सम्बन्धमा काम पनि द्रुत गतिमा भइरहेको उनको भनाइ छ । बिनाशुल्क दिइने यस तालिमका सहभागी सवारीचालकले भोजन लगायतका अन्य सुविधा पनि पाउने दाहालले बताए । मेचीदेखि महाकालीसम्मका एक पटकमा १८ सयभन्दा बढीलाई तालिम दिइने उनले बताए ।

‘भर्खरै हामीले सडक सुरक्षा तथा वातावरण समिति बनाएर मिटिङ् पनि बसिसकेका छौं,’ दाहालले भने, ‘अब वर्षको पाँच हजार चालकलाई रोड सेफ्टी तथा ड्राइभिङ्सम्बन्धी अन्तर्राष्ट्रियस्तरको तालिमको अवसर दिने योजना बनाएका छौं ।’ यसअघि यस्तो तालिम थोरै मात्रामा दिइने गरिएकोमा अब टाटा, होन्डा तथा मारुतीले दिनेजस्तो अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न ट्रेनिङ दिने योजना बनाइरहेको उनले बताए ।

एउटा अन्तर्राष्ट्रियस्तरको सवारीसाधन कसरी चलाउने तथा कसरी सदुपयाग गर्ने भन्ने विषयमा यसले सहयोग गर्नेछ । सकेसम्म दुर्घटना हुँदै नहोस्, कथंकदाचित् भए पनि कम मात्रामा होस् । अहिले सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठको नेतृत्वमा सो समितिले काम गर्नेछ ।

सातै प्रदेशमा नाडा कार्यालय
नाडाले सातै प्रदेशमा एक एक कार्यलय खोल्ने तयारी गरेको छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको अध्यक्ष दाहालको भनाइ छ । उनका अनुसार प्रदेशस्तरीय कार्यालय भयो भने देशको अटो क्षेत्रलाई बृहत् रुपमा नियाल्न तथा किनबेचदेखि सर्भिससम्मका कामका लागि सहज हुनेछ ।