सुपर दोर्दी जलविद्युत् आयोजनाको भौतिक प्रगति ४० प्रतिशत

अहिले आयोजनामा पूर्वाधार निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको उनले बताए । आयोजना स्थलसम्म पुग्ने बाटो, क्याम्प हाउसलगायत अन्य सिभिलतर्फका काम भइरहेका छन् । आयोजनाले २०७१ सालमा निर्माणको अनुमति पाएको थियो । ३ वर्षमा सम्पन्न गर्नुपर्ने लक्ष्य लिए पनि विनाशकारी भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि लम्बिएको हो ।

लमजुङमा निर्माण भइरहेका ४९ दशमलव ६ मेगावाट क्षमताको सुपरदोर्दी जलविद्युत् आयोजनाको ४० प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाको अहिले ९ हजार मिटर टनेलमध्ये ३४ प्रतिशत अर्थात् तीन हजार ६० मिटर टनेल निर्माणको काम सकिएको आयोजनाका प्रमुख अर्जुनप्रसाद गौतमले जानकारी दिए । ‘अहिले टनेलको काम ३४ प्रतिशत सकिएको छ,’ उनले भने, ‘आयोजनास्थलसम्म बाटो विस्तार गरेका छौं ।’

अहिले आयोजनामा पूर्वाधार निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको उनले बताए । आयोजना स्थलसम्म पुग्ने बाटो, क्याम्प हाउसलगायत अन्य सिभिलतर्फका काम भइरहेका छन् । आयोजनाले २०७१ सालमा निर्माणको अनुमति पाएको थियो । ३ वर्षमा सम्पन्न गर्नुपर्ने लक्ष्य लिए पनि विनाशकारी भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि लम्बिएको हो ।

कुल ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नबिल बैङ्कको अगुवाइमा ९ ओटा बैङ्क ५ अर्ब ८० करोड रुपैयाँ लगानी छ । परियोजनाबाट २०७७ साल असारबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण ठेक्का पाएको उक्त आयोजना निर्माण गर्न बाँध, सुरुङ र विद्युत्गृह निर्माण गर्न छुट्टाछुट्टै ठेकेदार कम्पनी छनोट गरिएको छ । आयोजनाको बाँध र टनेल निर्माणको काम बज्रगुरु कन्स्ट्रक्सन, मुख्य सुरुङ बीपी कन्स्ट्रक्सन र विद्युत्गृह हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएका छन् ।

कम्पनीले ४९ दशमलव ६ मेगावाटमा निर्माण गर्ने अनुमति लिएको आयोजनाको क्षमता अभिवृद्धि भई ५४ मेगावाट पुगेको छ । थपिएको ४.४ मेगावाटका लागि ४४ करोड रुपैयाँबराबरको लागत थपिने गौतमले बताए ।

२०७७ असारसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि २२० केभी मध्य मस्र्याङ्दी—भरतपुर प्रसारण लाइन निर्माणको काम अगाडि बढ्न सकेको छैन । फलस्वरुप विद्युत् खेर जान सक्ने सम्भावना रहेको उनले बताए । २०७६ सालसम्म प्रसारण लाइन निर्माण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म ठेक्का सम्झौता हुन सकेको छैन ।