काठमाडौं उपत्यकाका लागि डेढ लाख स्मार्ट मिटरको टेन्डर, एक महिनाभित्र ठेक्का स्वीकृत भइसक्ने

पाइलट प्रोजेक्टका रुपमा डेढ लाख स्मार्ट मिटर जडान गर्न त्यसको खरिदका लागि टेन्डर स्वीकृत चरणमा रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्रका लागि डेढ लाख स्मार्ट मिटर खरिदका लागि टेन्डर स्वीकृत प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा सिङ्गल फेजका ९० हजार र थ्री फेजका ६० हजार स्मार्ट मिटर खरिद गर्न ठेक्का स्वीकृत हुन लागको हो । पाइलट प्रोजेक्टका रुपमा डेढ लाख स्मार्ट मिटर जडान गर्न त्यसको खरिदका लागि टेन्डर स्वीकृत चरणमा रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘काठमाडौं उपत्यकाका लागि ‘पाइलट प्रोजेक्ट’का रुपमा डेढ लाख स्मार्ट मिटरको टेन्डर स्वीकृतिको चरणमा छ,’ उनले भने, ‘स्मार्ट मिटर जडान गर्ने र त्यसको वितरण प्रणाली व्यवस्थापनको काम भइरहेको छ ।’

डेढ लाख स्मार्ट मिटर खरिदका लागि टेन्डर सार्वजनिक भई मूल्याङ्कन गरी आगामी एक महिनाभित्र ठेक्का स्वीकृत भइसक्ने प्राधिकरणका सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् । मुलुकभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि बिहान र बेलुकाको ‘पिक टाइम’मा केही ठाउँहरुमा अझै लाइन काटिने गर्छ । बिहान र बेलुका विद्युत् खपत बढी हुने भएकाले त्यसको व्यवस्थापन गर्न र विद्युत् बचत गरी खपत बढाउन स्मार्ट मिटर उपयोगी हुने अर्यालले बताइन् । दिउसो र रातको समय विद्युत् खपत कम हुने र बिहान र बेलुकाको ‘पिक टाइममा’ विद्युत् खपत बढी हुने भएकाले त्यस्को सन्तुलन कायम गर्न स्मार्ट ग्रिड वितरण प्रणाली आवश्यक भएको उनले बताइन् ।

एक वर्षभित्र स्वदेशकै जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतको खपत गर्न स्मार्ट मिटर जडान गरी स्मार्ट ग्रिड विरतण प्रणाली लागू गर्न लागिएको हो । आगामी एक वर्षभित्र साना तथा ठूला आयोजनाबाट गरी झन्डै २५ सय मेगावाट विद्युत् उत्पादन भइसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । स्मार्ट मिटर जडान हुनु राम्रो पक्ष भएको औल्याउँदै उनले विद्युत् खपत गर्न विद्युत्तीय सवारीमा पनि जोड दिनुपर्ने बताए ।

स्मार्ट मिटर पिक आवर र अन्य समयमा फरक फरक गतिमा घुम्ने गर्छ । त्यसैले पिक आवरमा खपत गर्ने दिजुली महँगो हुनजान्छ । डबल सर्किट(रेडियल) वितरण प्रणालीमार्फत् लाइन वितरण गरिने हुँदा बर्खायामको दृष्टिकोणले पनि यो सुरक्षित हुने प्राधिकरणले जनाएको छ । सरकारले आगामी एक वर्षभित्र ८ लाख स्मार्टमिटर जडान गर्ने लक्ष्य लिएको छ ।