२२० केभी लाइन चार्ज गर्न ढल्केबर सबस्टेसन निर्माण तीव्र

सेन्ट्रल चाइना ग्रिड कम्पनीले सन्तोषजनक काम नगरेपछि त्यस कम्पनीसँग ठेक्का तोडेर भारतीय कम्पनीलाई दिइएको थियो । सन् २०१० मा सुरु भएको सबस्टेसन निर्माणको काम, अटोमेसन, स्विचयार्ड निर्माण तीव्र रुपमा भइरहेको छ ।

भारतबाट आयात हुने दुई सय २० केभी विद्युत् चार्ज गर्न ढल्केबरमा सबस्टेसनको काम तीव्र पारिएको छ । टेल्मस इलोक्ट्रोनिक्स भारतीय कम्पनीले ठेक्का लिएर सबस्टेनसनको काम गरिरहेको छ । सेन्ट्रल चाइना ग्रिड कम्पनीले सन्तोषजनक काम नगरेपछि त्यस कम्पनीसँग ठेक्का तोडेर भारतीय कम्पनीलाई दिइएको थियो । सन् २०१० मा सुरु भएको सबस्टेसन निर्माणको काम, अटोमेसन, स्विचयार्ड निर्माण तीव्र रुपमा भइरहेको छ ।

अबको एक÷डेढ हप्ताभित्र सबस्टेशस निर्माणको काम सम्पन्न गरिसकिने र भारतबाट आउने विद्युत् २ सय २० केभीमा चार्ज हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले आगामी एक वर्षभित्र माथिल्लो तामाकोसीलगायत केही आयोजनाबाट उत्पादित विद्युत् स्वदेशमै खपत भएपछि सरप्लस भएको विद्युत् भारत पठाउन सकिने र सुख्खायाममा भारतबाट आयात गर्न सहजै सकिने बताए ।

अहिले ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनमार्फत् भारतबाट आयात भएको एक सय २३ केभी विद्युत् चार्ज भइरहेको छ । सबस्टेसन बनेपछि भारतबाट आयात हुने दुई सय २० केभी विद्युत् चार्ज गर्न सकिने छ । त्यस्तै सुख्खायाममा यहाँका नदीहरुको बहाव घट्ने हुँदा र त्यही समयमा विद्युत् माग उच्च हुन्छ । त्यसबखत पनि भारतबाट आवश्यक विद्युत् आयात गर्न सकिनेछ ।

‘अहिले सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ,’ प्राधिकरणका कायम मुकायम उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले भने, ‘इन्डियाबाट आयात भएको एक सय ३२ केभी पावर चार्ज भएको छ । यसलाई २ सय २० केभी चार्ज गर्न जोडतोडले काम भइरहेको छ ।’ बर्खायाममा नेपालमा उत्पादन हुने विद्युत् सरप्लस हुने र केही आयोजनाबाट विद्युत् उत्पादन भई थपिने हुँदा भारतसँग चाहिएको बेलामा ल्याउन र सरप्लस भएको बेला पठाउन सकिने उनको तर्क छ ।

सबस्टेसनबाट दुई सय २० केभी विद्युत् चार्ज भएपछि ट्रान्सफर्मर थप गर्नुपर्ने उनले बताए । ट्रान्सफर्मर थपिएर तथा भारतबाट आयात भएको विद्युत् चार्ज भएपछि भारत र नेपालबीच झन्डै २ सय ६० मेगावाट विद्युत् आयात निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ ।