६ वर्षअघि सर्भे लाइसेन्स पाए पनि अझै पीपीए भएन

आयोजना प्रमुख सुस्मित शर्मा भट्टराईका अनुसार उक्त जलविद्युत् आयोजनाले सर्भे लाइसेन्स सन् २०१२ मै पाए पनि पीपीए नहुँदा आयोजनाले गति लिन नसकेको हो ।

सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने भनिएको कसुवाखोला जलविद्युत् आयोजनाले ६ वर्षअघि सर्भे लाइसेन्स पाए पनि अहिलेसम्म विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसक्दा निर्माणको काम हुन सकेको छैन । आयोजना प्रमुख सुस्मित शर्मा भट्टराईका अनुसार उक्त जलविद्युत् आयोजनाले सर्भे लाइसेन्स सन् २०१२ मै पाए पनि पीपीए नहुँदा आयोजनाले गति लिन नसकेको हो ।

४५ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणसँग पीपीएको तयारी गरिएको प्रमुख भट्टराईले जानकारी दिए । उनले आगामी दसैंसम्म आयोजनाको पीपीए गर्न प्राधिकरणलाई आग्रह गरिरहेको बताए । ‘सन् २०१२ मा सर्भे भएको आयोजना हो,’ उनले भने, ‘पीपीए र फाइनान्सिङ क्लोजर नभएकाले निर्माण सुरु गर्न सकेका छैनौं ।’ पीपीए भएपछि आयोजनाको डिजाइनिङ, ठेकेदार छनोट र फाइनान्सिङ क्लोजर टुङ्ग्याई अगाडि बढ्ने योजना रहेको बताए ।

कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड आयोजनाको मुख्य प्रवद्र्धक हो । दसैंअघि नै पीपीए गरी कन्सल्टेन्सीसँग प्रपोजल माग्ने र निर्माणले औपचारिक गति पाउने उनले बताए । अहिले फाइनान्सिङ क्लोजर र अन्य इन्जिनियरिङ डिजाइनतर्फ कसरी जाने भन्ने विषयमा काम भइरहेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले ६ वर्षअघि सर्भे लाइसेन्स दिए पनि अझै पीपीए नगरिदिँदा आयोजना प्रभावित बन्दै गएको आयोजनाले आरोप लगाएको छ ।