रेस्टुरेन्टमा पाँच रोबोट छन् । तीन ओटाले खाना सर्भ गर्छन् भने दुई ओटाले आगन्तुकलाई पानी, जुसलगायत पेय पदार्थ उपलब्ध गराउँछन् ।
रेस्टुरेन्ट छिर्नुस्, एकैछिनमा रोबोट आएर अर्डर लिन्छ र किचेनमा गएर त्यही अर्डर तपार्इंका अगाडि सर्भ गर्छ । तपाईं आफ्नो अर्डरअनुसारको खाना हेर्नुअगाडि रोबोटका आँखामा आँखा ठोक्किन्छन्् । रेस्टुरेन्टमा नौलो सेवा दिने उद्देश्यले खुलेको दरबारमार्गको एउटा रेस्टुरेन्टलाई ‘नौलो’ नै नाम दिएर सञ्चालनमा ल्याइएको छ ।
विश्वका विकसित देशमा रोबोट प्रयोगले मानिसका कामलाई सहज बनाइदिएको कुरा कुनै नयाँ रहेन । हामीकहाँ बल्ल रोबोटलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न थालिएको छ । मान्छेको काम र आनीबानीसँग घुलमिल गराउन थालिएको छ । नौलो रेस्टुरेन्ट पनि रोबोटमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउने गरी सञ्चालनमा आएको हो ।
पुल्चोक इन्जिनियरङ क्याम्पसमा अध्ययनरत पाँच जना विद्यार्थी र दुई जना व्यवस्थापन क्षेत्रमा लागिपरेका युवाको जमातले पाइला टेक्नोलोजीमार्फत ‘रोबोट’ प्रयोग गरेर प्रविधीमैत्री रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । तीन करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको रेस्टुरेन्टमा ४८ जनालाई रोबोटले खानाका विभिन्न परिकार सर्भ गर्छन् । बिहान ९ देखि राति १० बजेसम्म सञ्चालन हुने नौलोमा १३ जना कर्मचारी किचेनमा मात्र कार्यरत छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनियरिङ विषय पढ्दै गरेका रविन गिरी, सागर श्रेष्ठ, नीरज बस्नेत, वसिम अग्रम खान र दीपकमल भुसालका साथै विनय राउट र आयुष कसजू मिलेर नौलो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
रोबोटले टेबलबाटै डिजिटल प्रविधिमार्फत मेनु अर्डर गर्ने प्रणाली, अर्डर भएपछि रोबोर्ट आफैंले पानीदेखि परिकारसम्म सर्भ गर्छ । रेस्टुरेन्टमा पाँच रोबोट छन् । तीन ओटाले खाना सर्भ गर्छन् भने दुई ओटाले आगन्तुकलाई पानी, जुसलगायत पेय पदार्थ उपलब्ध गराउँछन् । रोबोट आफैं चार्ज हुन्छ भने खाना पु¥याएपछि आफैं आफ्नो ठाउँ गएर बस्छ ।
पाइला टेक्नोलोजीले बनाएको रोबोट ‘परी’ नेपाल एसबिआई बैङ्कले दरबारमार्गमा आफ्नो पहिलो स्मार्ट शाखामा राखेर सेवा दिएपछि रेस्टुरेन्टमा सेवा दिने रोबोट तयार गरेको हो । ‘हामीले बैङ्किङ क्षेत्रमा प्रयोग गर्ने रोबोट तयार गरेपछि होटल, रेस्टुरेन्टमा प्रयोग गर्न मिल्ने रोबोट बनाएर रेस्टुरेन्ट नै सञ्चालन गर्ने योजना बनायौं,’ सञ्चालकमध्येका एक रविन गिरीले बताए ।
हामीले पछिल्लो समय रोबोट वेटर जस्तो प्रोडक्टलाई पनि हेरेर यसमा पनि केही नयाँ योजना तथा केही गर्न सकिन्छ भनेर लाग्यौं । सरुमा त उत्पादन बेच्ने हिसाबले लागेका थियौं । तर प्रोडक्ट बेच्ने हिसाबले हामी जाँदा विभिन्न सेक्टरबाट माग बढ्न थाल्यो । तर पहिले अरुलाई दिनुभन्दा पहिला हामीले उत्पादन गरेको प्रविधिलाई आफैं सदुपयोग तथा आफ्नै काममा लागाऊँ भन्ने सोच आएर रेस्टुरेन्ट सञ्चालन गरेको उनले बताए ।
रेस्टुरेन्टमा ७० भन्दा बढी नेपाली रैथाने खाना र कन्टिनेन्टल परिकार बनाइने अर्का सञ्चालक आयुष कसजूले बताए । ‘हामीले रोबोट राखेर रेस्टुरेन्ट व्यवसायलाई मात्र केन्द्रित गरेका होइनौं । हाम्रो मूल उद्देश्य भनेको सर्वसाधारणलाई रोबोटमार्फत सेवा दिनुका साथै नेपाली खानाको प्रवद्र्धन गर्नु पनि हो,’ उनले भने ।
नौलोको आन्तरिक संरचना अन्तरिक्षयानभित्रको स्वरुपमा केन्द्रित छ । भित्र रहेको प्रविधि चलाउन ग्राहक अलमलमा नपरुन् भन्ने उद्देश्यले समूह भिडियो देखाउने योजनामा छ ।