ऊर्जामन्त्रीसँग स्थानीयको गुनासो : ‘पुराना पोल नहट्दा साह्रै गाह्रो भो’

बर्खायाम सुरु भएसँगै ठाउँठाउँमा पोल ढल्ने, काठका पोल कुहिएर ढल्ने, तार चुँडिने, पुराना तार तथा पोलमा विद्युत् जडान नभएको, डुबान र कटान विद्युतीय क्षति पुगेका गुनासा निरन्तर आउने गरेका छन् । शुक्रबार मात्रै एक दर्जन व्यक्तिले गुनासो गरेका छन् ।

‘पुरानो तार र पोल नहटाइँदा साह्रै गाह्रो भो मन्त्रीज्यू, जति बेला पनि दुर्घटना हुन सक्ने डर छ । वितरण केन्द्रले गर्छु भनेर झुलाइरह्यो । समाधान गरिदिनुप¥यो,’ चन्द्रागिरी गाउँपालिकाका उत्तम सेढाईंले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई हटलाइनमार्फत गरेको गुनासो हो यो ।

पटकपटक विद्युत् प्राधिकरणको कीर्तिपुर वितरण केन्द्रमा गुनासो गरे पनि कर्मचारीले झुलाइरहेको गुनासो उनले मन्त्री पुनलाई सुनाएका थिए । उनले गत हप्ता गरेको गुनासो सम्बोधन नभएकाले ध्यानाकर्षण गराउन मन्त्री पुनलाई गुहारेका हुन् । यसपछि भने पुनले तत्कालै वितरण केन्द्रका कर्मचारीलाई उक्त गुनसो समाधान गरिदिन निर्देशन दिए ।

त्यस्तै, सिन्धुपाल्चोकका आदित्य पहरीले त्रिपुरासुन्दरी क्षेत्रमा पुराना काठका पोल जीर्ण अवस्थामा रहेको र केही पोलहरु ढलेपछि विद्युत्को नाङ्गो तार रुखमा बाँधेर अड्याइएकाले जोखिम बढेको गुनासो गरे । ‘काठका पोल कुहिएर ढलिसके मन्त्रीज्यू,’ उनले भने, ‘नाङ्गो तार रुखमा बाधेका छौं । पोल चाहिएको थियो, समाधान गरिदिनुप¥यो, भनिदिनुप¥यो ।’

उनीहरु मात्रै होइन, दाङ तुलसीपुरका भद्र नकलकोे गुनासो पनि उस्तै छ । तारहरु लथालिङ्ग अवस्थामा सडकमा रहेकाले विद्युतीय जोखिम निम्तिन सक्ने भय रहेको बताए । प्राधिकरणलाई तत्काल नयाँ पोल राख्न आग्रह गरे पनि फोन नउठाउने र उठाइहाले पनि राम्रो रेस्पोन्स नगरेको गुनासो गरे । त्यसलगत्तै पुनले केन्द्र प्रमुखलाई समाधानका लागि निर्देशन दिए ।

सेढाईं, पहरी र तामाङ मात्र होइन, हटलाइनमार्फत मन्त्री पुनलाई गुनासो गर्ने अन्य जनताका समस्या पनि यस्तै थिए । बर्खायाम सुरु भएसँगै ठाउँठाउँमा पोलहरु ढल्ने, काठका पोल कुहिएर ढल्ने, तार चुँडिने, पुराना तार तथा पोलमा विद्युत् जडान नभएको, डुबान र कटान विद्युतीय क्षति पुगेका गुनासा निरन्तर आउने गरेका छन् । शुक्रबार मात्रै एक दर्जन व्यक्तिले गुनासो गरेका छन् ।

मन्त्री पुनले हरेक शुक्रबार मध्याह्न १२ देखि १ बजेसम्म हटलाइमार्फत आम उपभोक्ताको गुनासो सुन्ने गरेका छन् । उपभाक्ताको गुनासोमाथि सम्बन्धित निकायलाई समाधान गर्न तत्काल निर्देशन दिने गरेका छन् । केही हप्तादेखि सुरु भएको मन्त्रीलाई गुनासो राख्न पाएपछि उपभोक्ता पनि उत्साहित छन् । स्थानीयले गरेको गुनासाका आधारमा सम्बन्धित निकायलाई मन्त्रीले निर्देशन दिएपछि गुनासा तथा समस्या समाधान भएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । मन्त्रीले कुनै प्रचार, चर्चा र देखाउन मात्रै नभई आम जनताका विद्युतीय समस्या समाधानका लागि सीधा हटलाइन प्रभावकारी बनेको उनले बताए ।