अटो बजारको नयाँ ठेगाना– नक्साल

त्रिपुरेश्वर, टेकु, थापाथली क्षेत्रमा गाडी तथा मोटरसाइकलका लागि सुहाउँदो ठाउँ तथा पार्किङ गर्ने स्थान नभएका कारण पनि नक्साल क्षेत्र अटो हबको रुपमा विकास हुँदै गएको हो ।

जब व्यापार चम्किन्छ, त्यसको ठेगाना पनि परिवर्तन हुन्छ । चम्किने व्यापारको ठेगाना पुरानोबाट विस्थापित भएर होइन, नयाँ ठाउँमा स्थापित भएर नै अघि बढ्छ । पछिल्लो पटक नेपाली बजारमा बिजुली गतिमा बढ्दै गएको व्यापार हो— अटो । यही अटो बजारले काठमाडौंमा आफ्नो नयाँ ठेगाना बनाएको छ— नक्साल नारायणचौर ।

काठमाडौंका सबैजसो क्षेत्रका आआफ्नै विशेषता छन् । सपिङका लागि दरबारमार्ग र न्युरोड, पर्यटनका लागि ठमेल, शैक्षिक परामर्शका लागि वागबजार । त्यस्तै अटोहबका लागि केही पहिला टेकु र थापाथली चिनिन्थ्यो । विशेषगरी मोटरसाइकलका लागि टेकु र कारका लागि थापाथली । तर अहिले थपिएको छ, नक्साल र यसको आसपासको क्षेत्र, जहाँ कार र बाइक दुवैको सोरुमले नयाँ गन्तव्य बनाइरहेको छ ।

नक्सालको नारायणचौर, गैह््रीधारा क्षेत्रमा पछिल्लो पटक नयाँ मोटरसाइकल तथा गाडीका सोरुम खुल्ने क्रम बढिरहेको छ । स्थापित ब्रान्डहरुले सोरुम खोलेर चलायमान बनाएको यो क्षेत्रमा नयाँ ब्रान्ड ल्याउनेहरुले पनि यही क्षेत्रको उपयुक्त स्थान खोजिरहेका छन् । अटो पारखीका लागि सुविधा पु¥याउन अटो व्यवसायीहरुले नक्साललाई नयाँ अटो बनाएका हुन् ।

बेनेली, डुकाटी बाइकदेखि लिएर केटीएम, अपाचे बाइकसम्मका सोरुम तथा साङयोङ, ह्योसुङ, रेनो, हुन्डाई, टोयोटालगायत कारका सोरुम भएकै कारण अटो पारखीको चहलपहल यो क्षेत्रमा बढ्दै गएको छ । नक्साल क्षेत्रमा नेपाली अटोमोबाइल बजारमा राज गरिरहेको कम्पनीका ब्रान्डदेखि आधुनिक, उच्च क्षमताका मोटरसाइकल, बाइक, स्कुटरहरुको सोरुम खोल्ने प्रतिस्पर्धा नै बढेको देखिन्छ । रोयल इन्फिल्ड, बेला स्कुटर, सीएफ मोटो मोटरसाइकल, सुबारु कारको सोरुम नक्साल क्षेत्रमा खुलिसकेको छ । भर्खरै मात्रै प्यासियन ड्राइभले एमजी कारको सोरुम नारायणचौरमा सञ्चालनमा ल्याएको छ भने एमएडब्ल्यू लाइफले जिप ब्रान्डको कारलाई नेपाल भिœयाउँदै नारायणचौरमै सोरुम बनाइरहेको छ । आईएमई अटोमोटिभ्सले पनि गैह्रीधारा क्षेत्रमै हार्ले डेभिडन्सनको सोरुम बनाइरहेको छ ।

नाडा अटोमाबाइल एसोसिएसन नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले त्रिपुरेश्वर, टेकु, थापाथली क्षेत्रमा गाडी तथा मोटरसाइकलका लागि सुहाउँदो ठाउँ तथा पार्किङ गर्ने स्थान नभएका कारण पनि नक्साल क्षेत्र अटो हबको रुपमा विकास हुँदै गएको बताए । ‘सोरुमका लागि व्यवसायीहरुले उचित ठाउँ खोज्दै जादाँ नक्साल क्षेत्र रोजाइमा परेको हो,’ उनले भने, ‘जति ठाउँमा अटो हब बन्दै गयो, त्यति नै व्यापारमा फाइदा पुग्ने हो । त्यसैले पनि नयाँनयाँ ठाउँमा सोरुम खुल्दै जाँदा त्यो ठाउँमा पछि अरु थपिन थाले । यो क्रम बढ्दै गएपछि यसले ‘हब’को रुप लिएको हो ।’

उनका अनुसार सोरुमका लागि पर्याप्त ठाउँ, अन्य ठाउँमाभन्दा भाडा सस्तोलगायत सुविधा भएका कारण पनि नक्सालतर्फको आकर्षण बढ्दो छ । अटोमोबाइल क्षेत्रमा नयाँनयाँ हब बन्नु सामान्य रहेको रोयल इन्फिल्ड मोटरसाइकको आधिकारिक बिक्रेता दुुगड ग्रुपका प्रबन्ध निर्देशक विवेक दुगडले बताए । ‘उपयुक्त स्थान भएकै कारणले नक्साल अहिले कार र मोटरसाइकलको हब बन्दै छ,’ उनले भने । पार्किङ क्षेत्र पर्याप्त छ, बैङ्किङ सुविधा पनि नजिकै भएपछि यो क्षेत्र अटो हबको रुपमा विकास भएको उनले बताए ।

निजी सवारीसाधन चलाएर हिँड्ने, घरानियाँदेखि कर्पोरेट व्यक्तिहरुको अफिस तथा निवास आसपास भएकाले पनि छोटो समयमै यो क्षेत्रमा बाइक र कारका सोरुमहरु स्थापित भएको दुगड बताउँछन् । ‘भीड पनि कम छ, अरु ठाउँभन्दा खुद्रा तथा होलसेल पसल पनि छैनन्,’ उनले भने ।

पछिल्लो समय कमलपोखरी, कमलादी, गैह्रीधारा, बालुवाटार, नक्साल, ज्ञानेश्वरसम्मको क्षेत्र अटो सोरुमका लागी उपयुक्त भएको दुगडको भनाइ छ । लक्ष्मी हुन्डाई नक्साल सोरुमका म्यानेजर दिवाकर श्रेष्ठले नक्साल क्षेत्रमा ट्राफिक समस्याका धेरै नभएका कारण सोरुमको सङ्ख्या बढ्दै गएको बताउँछन् । ‘पहिला थापाथली साइडलाई चिनिन्थ्यो । अझै त्यहाँ विभिन्न कम्पनीका सोरुम छन् । तर अहिले थापाथली एरियामा मानिस तथा ट्राफिक जामको समस्या बढ्दै गएकाले पनि यो क्षेत्रमा सोरुमको चाप बढेको हो,’ उनले भने ।

नक्साल क्षेत्र सुविधाजनक, मोटरसाइकलका पार्टपुजा ल्याउन सहज तथा सबै क्षेत्रको केन्द्रबिन्दुमा पर्ने भएकाले आकर्षण बढेको केटीएम मोटरसाइकल नक्साल सोरुमका म्यानेजर राधेश्याम गाम्बन्जाको भनाइ छ । ‘नक्साल एरियामा सबैभन्दा पहिला हाइजिङको सोरुम थियो, पछि हामी केटीएम ड्युक आएका हौं,’ उनले भने, ‘त्यसपछि सबैको रोजाइ नक्साल हुन थाल्यो ।’