डटको सान  : गल्लीदेखि चुचुरोसम्म

सौखिन नेपाली युवाका लागि सारथिका रुपमा परिचित सवारी हो— डट बाइक । ठूलो आवाज, ठूला अग्ला पाङ्ग्रा मात्र डट बाइकको विशेषता होइन । उच्च क्षमता र जहाँ पनि पुग्न सक्ने भएकाले पनि युवाहरुले यसलाई आफ्नो सवारीसाधन बनाइरहेका छन् ।

३ सयभन्दा बढी ग्राउन्ड क्लिरेन्स । सस्पेन्सन पनि उत्तिकै फ्लेक्जिबल । काठमाडौंभित्रका खाल्डाखुल्डी वा चक्रपथबाहिरका डाँडाकाँडामा बनेको बाटो जहाँ पनि सहज लाग्ने डट बाइकको यही विशेषताले यसको व्यापार अहिले यसरी चम्किएको छ, अब यो हेभी र अफरोड बाइकका रुपमा मात्र बिक्री हुँदैन । रफ लुक्समा देखिने ग्ल्याम र उच्च क्षमताका कारण कामकाजीहरुले पनि नियमित आवतजावतमा डट बाइकलाई नै सारथि बनाउन थालेका छन् ।

काठमाडौंको भित्री गल्ली होस् या चक्रपथ । अझ दुईचार किलोमिटर चक्रपथ बाहिर पुगेपछि आउने उपत्यकाका डाँडाकाँडा जता पनि सडकको सहज पहुँच छ । चक्रपथभित्रको पिच बाटो र चक्रपथ बाहिरको डाँडाकाँडा जहाँ पुग्न र जता कुदाउन पनि मिल्ने दुईपाङ्ग्रे सवारीसाधन डट बाइकमा बाइकर्स मात्र होइन, नियमित घरबाट कामका लागि निस्कनेहरुका लागि आकर्षण बन्न थालेको हो ।

दुईपाङ्ग्रेमा हुँइकिने खोज्नेहरु डट बाइकप्रति आकर्षित हुन थालेपछि अटोमोबाइल व्यवसायीहरुले पनि नेपालमा डटको नयाँ ब्रान्डका नयाँ मोडल भिœयाइरहेका छन् । २ सय ५० सीसी क्षमतामाथिका डट बाइकहरुको बिक्री पनि बढ्दै गएकाले नयाँनयाँ ब्रान्डहरुले घरेलु बजारमा प्रवेश पनि पाएका हुन् ।

ठूलो आवाज, ठूला अग्ला पाङ्ग्रा मात्र डट बाइकको विशेषता होइन । उच्च क्षमता र जहाँ पनि पुग्न सक्ने भएकाले पनि युवाहरुले यसलाई आफ्नो सवारीसाधन बनाइरहेका छन् । काठमाडौं बौद्धका विवेक लिम्बु सानैदेखि स्पोर्ट्स च्यानलमा ‘डट बाइक रेसिङ’ खुबै हेर्ने गर्थे । बाइकको रेसिङ र स्टन्ट उनलाई खुबै मन पर्ने भएपछि उनले अहिले डट बाइक क्रसएक्स लिएका छन् । ‘खासमा यसको आवाज र क्षमताकै कारण म डट बाइकप्रति आकर्षित भएको हुँ,’ उनले भने, ‘जस्तोसुकै सडकमा जाने र चलाउन पनि सजिलो भएपछि तीन वर्षदेखि मैले डट बाइक नै चलाउँदै आएको छु ।’

बेनी म्याग्दीका १९ वर्षीय विषम बरुवाल पनि डट बाइक क्रसफायरमा एक वर्षदेखि हुइँकिइरहेका छन् । बेनीबाट पोखरा पुग्दा होस् या मुस्ताङ जाँदा दुवै क्षेत्रको सडकमा क्रसफायर चलाउन सजिलो हुने गरेको उनी बताउँछन् । ‘यो बाइक लिएर म म्याग्दीका धेरै गाउँमा पनि पुगेको छु, यसको सस्पेन्सन र पाङ्ग्राकै कारण असजिलो लाग्ने बाटोमा पनि कुनै गाह्रो हुँदैन,’ उनले भने ।

ओखलढुङ्गाका सन्तोष अधिकारी पनि डट बाइककै फ्यान हुन् । दुई वर्षअघि गाउँबाट पढाइको सिलसिलामा काठमाडौं आउँदासम्म यस्ता किसिमका बाइकको कुनै वास्ता थिएन, उनलाई तर जागिरको खोजीमा बाइक बनाउनेलगायतको काम गर्न थालेपछि उनलाई डट बाइकले आकर्षण गर्न थाल्यो । अहिले एक कम्पनीमा सेल्सम्यान रहेका उनी क्रसफायर चढ्छन् । उनी बाइकमै कालिञ्चोक, तातोपानी, मनाङ, मुस्ताङलगायत ठाउँमा पुगिसकेका छन् ।

अधिकारी भन्छन्, ‘डट बाइकको मुख्य विशेषता भनेको अफरोडमा कुदाउन सजिलो, डाँडाकाँडा सहजै उक्लिने, आल्मुनियम च्यासिसले हलुका, आकर्षक डिजाइन, पावरफुल पर्फमेन्स, सस्पेन्सन राम्रो हुनाले चलाउन सजिलो, उच्च ग्राउन्ड क्लियरेन्स हो यसले नै लोभ्याउँछ ।

यूएमको डीएसआर २०० डट बाइक चलाउने व्यवसायी शैलेश लामिछाने एक्लै काठमाडौंबाहिर धेरै ठाउँमा पुगिसकेका छन् । ‘डट बाइकमा लङ राइड गर्दा एकदमै मज्जा आउँछ,’ उनले भने । छोटो दूरी होस् या लामो म मेरै डट बाइकमा पुग्ने गरेको छ ।’
उनका अनुसार डट बाइक झट्ट हेर्दा हेभी देखिए पनि आल्मुनिमयमको च्यासिस बनाइने हुनाले डट बाइक हलुका (१०० देखि १३० किलोसम्म तौल) हुन्छ सस्पेन्सन पनि उत्तिकै फ्लेक्जिबल हुन्छ । यही कारण खाल्डाखुल्डी र उकालो कच्ची बाटोमा पनि सजिलै कुदाउन सकिने उनी बताउँछन् ।

क्रसफायर, क्रसएक्स, यूएको मात्र होइन होण्डा, यामाहा, रोयल इन्फिल्डका डट बाइकहरु पनि नेपाली बजारमा उपलब्ध छ । पछिल्लो पटक टेकेन्स डट बाइक पनि नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा छोटो समयमै यस्ता पावरफुल अफरोड बाइक नेपालीहरुको रोजाइमा पर्नेबारे व्यवसायीहरु नै विश्वस्त थिएनन् । तर माग बढ्न थालेपछि नयाँनयाँ ब्रान्डका डट बाइकहरु पनि भित्रिने क्रम बढ्दो छ ।

डट बाइक नेपालका लागि आधिकारिक विभिन्न कम्पनीले पनि महिनामा एकपटक नयाँ स्थान घुमाउने, तथा राइडरहरुलाई मनोरञ्जन गराउने गरेका छन् । सौखिन नेपाली युवाका लागि सारथिका रुपमा परिचित भइसकेको छ डट बाइक । हजारौं युवा डट बाइकमा डाँडाकाँडा हिमाल तथा धार्मिक स्थलको अबलोकन गरिहेका हुन्छन् ।

नेपालमा झन्डै एक दर्जन ब्रान्डका डट बाइक भित्रिएका छन् । साधारण बाइकको तुलनामा महँगो तथा साधारण मानिसले नचलाउने भए पनि डट बाइकको माग बढिरहेको व्यवसायीको भनाई छ । ‘पछिल्ला केहि वर्षयता डट बाइकको क्रेज ह्वात्तै बढेको छ, आईएमई अटोमोटिभ युएम डट बाइक जमलका मार्केटिङ अफिसर अनिस खड्का बताउँछन् । डट बाइक अफरोड अथवा कच्ची रोडमा चलाउने बाइक हो । तर सहरी क्षेत्रमै युवाहरु नै डट बाइकमा बढी आकर्षित भएको पाइन्छ, उनले भने । बाटोको अवस्था राम्रो नभएको ठाउँमा पनि डट बाइक सजिलै कुदाउन सकिने हुनाले एनजीओ, आईएनजीओ, हाइड्रोलगायत प्रोजेक्टका कर्मचारी पनि डट बाइक बढी रोज्न गरेको खड्काको दाबी छ ।

नेपाली बजारमा यूएमको डट बाइक महिनामा ३० भन्दा बढि बिक्री हुने गरेको छ । यूएमको अहिले नेपालका विभिन्न क्षेत्रमा १३ ओटा सोरुम छन् । यी बाइक अहिले नेपाली बजारमा तीन देखि साढे चार लाख सम्म पर्न आउँछ ।

नेपाली बजारमा विशेषगरी क्रसफायर, क्रसएक्स, होन्डा, बीएसई, हाईफोर्ड, डुकाटी, बीएमडब्ल्यू, यूएम, टेकेन, लेमोटो, एसियन विस्टलगायत कम्पनीका डट बाइकको बढी बिक्री हुने गरेको छ । यी कम्पनीका डट बाइक नेपालमा तीन लाखदेखि २५ लाखसम्म पर्ने गरेको व्यवसायी बताउँछन् ।

क्रस एक्सको आधिकारिक बिक्रेता बाइकर्स नेपालका पीआर म्यानेजर निखिल ठकुरीका अनुसार इन्जिनमा हुने वारेन्टी, उच्च क्षमता र हरेक सडकमा कुद्न मिल्ने भएका कारण नेपाली युवा डट बाइकमा आकर्षित भएका हुन् । क्रस एक्सले क्रस एक्स २५० एइ डट र मोटर्ड गरी दुई मोडल बिक्री गर्दै आइरहेको छ ।

बाइकर्स नेपालले वर्षमा तीन सयभन्दा बढी बाइक बिक्री गर्ने गरेको जनाएको छ । ‘हामीले अहिले २५० सीसीसम्मको मात्र डट बाइक आयात गरिरहेका छौं’, ठकुरीले भने, ‘अब यो २०१८ को अन्तिमतिर यही मोडलको इन्जिन क्षमता उच्च भएको ४ सय ५० सीसीको पावरवाला बाइक पनि ल्याउने तरखरमा छौं ।’

नेपालमा धेरैजसो चीनमा एसेम्बल्ड गरेका डट बाइक भित्रिन्छन् । क्रस एक्स बिक्रेता बाइकर्स नेपालका पीआर म्यानेजर ठुकुरीले भारतमा डट बाइक नबन्ने बताए । चीन र अन्य मुलुबाट डट बाइक झिकाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । यसैले पनि डट बाइक अलि महँगो पर्न गएको उनको भनाइ छ ।

अस्ट्रेलियन ब्रान्ड क्रसफाएरको जेडआर २५० आरआर मोडलको माग नेपालमा बढ्दै गएको छ । सिटको उचाइ ९ सय १० एमएम, ग्राउन्ड क्लियरेन्स ३ सय ३० एमएम, तौल ११७ केजी, इन्धन ट्याङ्की ९ लिटरलगायत यसका विशेषता हुन् । यसको मूल्य ६ लाख १० हजारमा हालसम्म बिक्री भइरहेको छ । यो ब्रान्डले नेपाली युवाको मन जितिसकेको नेपालको आधिकारिक बिक्रेता क्यासिक ह्विलर्सको दाबी छ ।

त्यस्तै क्रसएक्स सन् २०१५ मा भित्रिएको डट बाइक हो । क्रसएक्स २ सय ५० सीसीको डट बाइक हो । यसको मूल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ । यो बाइक चीन र इटालीबाट आयात हुने गरेको छ । ६ स्पिड गियर रहेको बाइकमा इन्धन ट्याङ्की १२ लिटरको छ ।

नेपालमा पहिलो पटक डट बाइकका रुपमा भित्रिएको ब्रान्ड हो— होन्डा । नेपालमा होन्डाका चार भेरियन्ट उपलब्ध छन् । होन्डा सीआरएफ २५० एलको मूल्य १० लाख ५० हजार र १२ लाख ७५ हजार रुपैयाँ छ । होन्डा एक्सआर १९० सीसीको पाँच लाख ७० हजार र एक्सआर १५० सीसीको चार लाख ८० हजार पर्छ । नेपालमा पहिलो पटक होन्डाको डट बाइक एक्सएल भित्रिएको थियो ।
बीएसई डट बाइक पनि नेपाली युवाको रोजाइमा परेको बाइक हो । इटालियन ब्रान्ड यो बाइक झट्ट हेर्दा क्रसफायर जस्तै देखिन्छ । बीएसईका चार भेरियन्ट उपलब्ध छन् । बीएसई १ सय ५० एआरएस ए६ को मूल्य झन्डै तीन लाख पर्छ । त्यस्तै बीएसई २ सय ५० जे१, कायो टी४ र टीफोर मोटर्डको मूल्य क्रमशः तीन लाख ७५ हजार, चार लाख र चार लाख १५ हजार पर्छ । यी बाइकमा सात लिटरदेखि १० लिटरसम्म इन्धन क्षमता छ भने प्रतिलिटर २० देखि ४० सम्म माइलेज दिन्छन् । नेपालमा बीएसई चार वर्षअघि भित्रिएको ब्रान्ड हो ।

अफरोड बाइकमध्ये केही समयअघि बजारमा भीआर बाइक प्रशस्त देखिन्थे । युवाहरु समय डट बाइकमा हार्टफोर्डको भीआर चर्चित थियो । सडकमा धेरै जसो भीआर कुदेका देखिन्थे । नेपालमा भीआर २०५६ सालमा भित्रिएको हो । अहिले यो बाइक एक सय ५० र २ सय सीसी क्षमतामा उपलब्ध छ, जसको मूल्य तीनदेखि चार लाखसम्म पर्न आउँछ ।

डुकाटी ह्याम्परमोटर्ड ८२१ पनि डट बाइकभित्रै पर्छ । यो बाइक प्रायः सम्पन्न परिवारकाले मात्र किन्ने गरेको व्यवसायीको तर्क छ । यसको म्याक्सिमम पावर १ सय १० एचपी, नौ हजार दुई सय आरपीएम छ भने ६ गियर छन् । ८९ लिटर फ्युल ट्याङ्ी भएको यो बाइकको क्षमता आठ सय २१ दशमलव एक छ । नेपाली बजारमा यसको मूल्य २५ लाख पर्न आउँछ ।

टेकेन्स बाइक केही हप्ताअघि मात्र मोट्रोहेड र मोट्राक बाइक नेपालले नेपालमा पहिलो पटक भिœयाएको नयाँ ब्रान्ड हो । यी दुई ब्रान्ड २५० र सीआरएफ २५० नेपाल भित्रिएका छन् । टेकेन बाइक चाइनिज कम्पनी हो । दुई ब्रान्ड २५० र सीआरएफ २५० ब्रान्डको मूल्य क्रमशः तीन लाख ५० हजार र तीन लाख १० हजार रहेको कम्पनीले जानकारी दिएको छ ।

समयसमयमा डट बाइक बिक्रेता कम्पनीहरुले राइडरहरुलाई डट बाइक प्रतियोगिता तथा मेगा इभेन्ट गराउँदै आएका छन् । यूएम, रोयल इन्फिल्डको हिमालयन, क्रसफायर, क्रस एक्सले राइडरहरुलाई लामो र छोटो दूरीका अफरोडमा टुर गराउँदै आएका छन् । गत महिनामा मात्र धुलिखेलमा क्रसमान्डु नामक प्रतियोगिता सम्पन्न भएको थियो ।

लोभलाग्दो लुक्स र आकर्षक फिचरले ने डट बाइकको चर्चा र प्रयोग बढेको देखिन्छ । यी बाइकको डिजाइन, प्रविधि र मेटेरियल अफरोडमा चलाउन मिल्ने गरी बनाइए पनि काठमाडौंभित्रकै सडकको अवस्थाले पनि उपयुक्त भएको बिक्रेता तथा राइडर दुवै बताउँछन् ।

डट बाइकले देशको पर्यटन विकासमा पनि राम्रो टेवा पु¥याएको पाइन्छ । विभिन्न टुर्स एन्ड ट्राभल कम्पनीले डट बाइक किनेर विदेशीलाई भाडामा दिने, डाँडाकाँडमा बाइकिङ स्पोटर््स गराउँदै समेत आएका छन् । सहरी युवा समूहमा डट बाइक चढेर आकर्षक गन्तव्य खोजीखोजी पुग्ने र सोरुमबाट भाडामा लगी विभिन्न ठाउँ घुम्ने गरेको पनि विभिन्न बिक्रेताहरुको भनाइ छ ।