‘नाडा अटो सो २०१८’मा अटो लोनको जानकारी दिन बैङ्क तथा वित्तीय संस्थाका स्टल छैनन् । तर गाडी किन्नका लागि उपभाेक्तालार्इ विभिन्न बैङ्कले ऋणको व्यवस्था गर्दै विभिन्न योजना सार्वजनिक गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा मङ्गलबारदेखि चलिरहेको ‘नाडा अटो सो २०१८’मा अटो लोनको जानकारी दिन बैङ्क तथा वित्तीय संस्थाका स्टल छैनन् । तर गाडी किन्नका लागि उपभाेक्तालार्इ विभिन्न बैङ्कले ऋणको व्यवस्था गर्दै विभिन्न योजना सार्वजनिक गरेका छन् ।
बैङ्कले गाडी पारखीलाई आफूप्रति लोभ्याउन सस्तो र आकर्षक ब्याज योजना सार्वजनिक गरेका छन् । यसअनुसार बैङ्कहरुले फरकफरक ब्याजदरमा आफ्नो अटो लोन सार्वजनिक गरेका छन् ।
एभरेस्ट बैङ्कले नाडा अटो सोलाई मध्यनजर गर्दै पाँचवर्षे अटो लोनका लागि आधार दरमा १ दशमलव ५४ प्रतिशत ब्याजदर लिने जनाएको छ । तर, कम्पनीले ७ वर्षसम्मका लागि अटो लोन लिने ग्राहकलाई आधार दरमा २ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेको छ । बैङ्कले दिने लोनमा अन्य सेवा तथा सुविधाहरु नेपाल राष्ट्र बैङ्कले तोकेअनुसार हुने बताएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ‘आफ्नो गन्तव्य अब आफ्नै सवारीमा’ भन्ने नारासहित अटो लोन योजना सार्वजनिक गरेको छ । कम्पनीले ९ दशमलव ४९ प्रतिशतसम्मको अटो लोन दिने जनाएको छ । बैङ्कले कर्जाको पहिलो वर्ष आधार दरमा १ दशमलव ६२ प्रतिशत र दोस्रो वर्ष २ प्रतिशतसम्म जोडेर ब्याज लिने बताएको छ ।
कम्पनीले लोन प्रोसेसिङका लागि १ प्रतिशत शुल्क लिने र क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ । अटो लोनका लागि ल्याइएको उक्त योजना असोज २० गतेसम्म लागू हुने जनाइएको छ ।
लक्ष्मी बैङ्कले अटो लोनका लागि १३ दशमलव २३ प्रतिशत ब्याजदरसम्ममा अटो लोन दिइरहेको छ । तर, नाडा अटो सोका लागि कम्पनीले ११ दशमलव १४ प्रतिशत ब्याजदरमा लोन दिने जनाएको छ । बैङ्कले उपलब्ध गराउने उक्त कर्जाको अवधि भने ९ वर्षको हुनेछ । यस्तै बैङ्कले आफ्नो आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराउन आफू तयार रहेको बताएको छ ।
ग्लोबल आईएमई बैङकले बेस रेटमा अधिकतम ५ प्रतिशत प्रिमियम लिने जनाएको छ । यस बैङ्कले राष्ट्र बैङ्कको नियमअनुसार अटो लोन दिँदा कर्जा लिने व्यक्तिबारे अध्ययन गरेर शून्य प्रतिशत प्रिमियममा समेत कर्जा उपलब्ध गराउने जनाएको छ । बैङ्कले अटो लोनमा उपलब्ध गराउने कर्जाको अवधि ७ वर्षको हुनेछ ।
नेपाल इन्भेस्टमेन्ट बैङ्कले अटो लोनका लागि १२ प्रतिशतभन्दा कम ब्याजदर रेट राखेको छ । कम्पनीले आधार दरमा शून्य दशमलव ५ प्रतिशत प्रिमियम राखेर लोन उपलब्ध गराउन सक्ने जनाएको छ ।
माछापुच्छ«े बैङ्कले नाडा अटो सोका लागि छुट्टै योजना सार्वजनिक गरेको छ । कम्पनीले आधार दरमा शून्य दशमलव ५ प्रतिशत प्रिमियम थप गरेर अटो लोन उपलब्ध गराउने जानकारी दिएको छ । बैङ्कले उपलब्ध गराउने लोनका लागि प्रोसेसिङ शुल्क भनेर १ प्रतिशत लाग्नेछ । अटो लोनका लागि दिइने कर्जाको अवधि १० वर्षसम्मको हुनेछ ।
एनआईसी एसियाले नाडा अटो सोका लागि ‘एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस्, आफ्नो सपना साकार’ भन्ने नाराका अटो लोन सार्वजनिक गरेको छ । कम्पनीले दिने लोनको मासिक ब्याजदर शून्य दशमलव ९ प्रतिशत मात्र भएको जानकारी कम्पनीले दिएको छ । दुई ओटै कर्जा लिने ग्राहकलाई विषेश छुट दिने बताइएको छ ।