तिहारसम्म मेलम्ची आउने

ठेकेदारले पनि विगतमा भन्दा कामको गतिशीलता बढाएको र सबै पक्षले छिटो सक्न निर्देशन दिएसँगै तिहार आसपासमा मेलम्चीको पानी काठमाडौं आउन सक्ने सङ्केत देखिएको हो ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण तीव्र रुपमा हुन थालेपछि तिहारसम्म मेलम्चीको पानी आउने सम्भावना बढ्न थालेको छ । ठेकेदारले पनि विगतमा भन्दा कामको गतिशीलता बढाएको र सबै पक्षले छिटो सक्न निर्देशन दिएसँगै तिहार आसपासमा मेलम्चीको पानी काठमाडौं आउन सक्ने सङ्केत देखिएको हो ।

अहिले कुल २७ किलोमिटर इन्भर्ट लिभर कङ्क्रिट ढलानमध्ये आधाभन्दा बढी ढलानको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । कुल २७ किमिमध्ये १४ किमी ढलानको काम सकिएको खानेपानी आयोजना विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रराज पन्तले जानकारी दिए । उनले इन्भर्ट लिभर कङ्क्रिटको ढलानको काम सकेर सुरुङको प्रवेशबिन्दु (अडिट)नजिक आइरहेको बताए । उनका अनुसार ठेकेदारले अहिले दैनिक कार्य गतिशीलता पनि बढाएका छन् । अहिले दैनिक एक सय ८० मिटर लिभर कङ्क्रिट ढलानको काम भइरहेको छ । ‘दैनिक एक सय ८० मिटरको गतिमा ढलान भइरहेको छ,’ उनले भने, ‘बीचबाट ढलान सक्दै सुरुङको प्रवेशबिन्दुतर्फ अगाडि बढेको छ ।’

उनले दशैँसम्म मेलम्चीको पानी आउन सम्भव नरहेकाले तिहारको आसपास आउन सक्ने सम्भावना रहेको बताए । ठेकेदारहरुले हरेक हप्ताका लागि निर्माण सामग्री जस्तै सिमेन्ट, रड, बालुवा व्यवस्थापन गरी काम गरिरहेको आधारमा पनि तिहार आसपासमा ढलान भइसक्ने उनको तर्क छ । तीन ओटा अडिटतर्फ ढलान नजिकिँदै गएको छ । त्यस्तै टनेल भेन्टिलेसन पाइप विस्तार तथा अस्थायी पाइप लाइन राख्ने काम भइरहेको छ ।

सुन्दरीजलदेखि हेडबक्ससम्म दुई सय ५० मिटर पाइप जडानको गर्ने काम पनि सँगै अगाडि बढेको छ । झन्डै दुई दशकपछि गत चैतमा आयोजनाको २७ किमी सुरुङमार्गको ब्रेकथु्र (छिचोलिएको) गरिएको थियो । कुल २७ अर्ब ७६ करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण भइरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)ले ८० प्रतिशत सहयोग गरेको छ ।