उपत्यकामा सेवाग्राही ठग्ने ट्याक्सी व्यवसायी र ठूला आवाज निकाल्ने मोडिफाई भएका बाइक निसानामा पर्न थालेका छन् । महानगरीय ट्राफिक महाशाखाले काठमाडांै उपत्यकालगायतका विभिन्न स्थानमा ठगी गर्दै हिँड्ने ट्याक्सी तथा चर्को आवाज निकालेर हिँड्ने मोडिफाई भएका उच्च क्षमताका मोटरसाइकलहरुलाई धमाधम कारबाही गर्न थालेको हो ।
दैनिक ६० देखि ७० को हाराहारीमा ट्याक्सी कारबाहीमा पर्ने गरेको महानगरीय ट्राफिक व्यवस्था महशााखाका एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए । ‘केही समय बढी भाडा लिएर ठगी गर्ने, मिटरमा नजाने ट्याक्सीको ठगीधन्दा रोकिएको थियो,’ उनले भने । पछिल्लो समय पुनः ठगी बढेको उनले बताए । अहिले ट्याक्सी चालकले अनिवार्य रुपमा पोसाक लगाउनुपर्ने नियम आइसकेको छ । तर मिटरमा नजाने, बिल प्रिन्ट गरेर नदिने जस्ता गुनासा पनि धेरै आउने गरेको एसएस्पी पन्तले जनकारी दिए ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा मात्र ठूला आवाज निकाल्ने र ठगी गर्दै हिँड्ने ट्याक्सी गरी १६ सयभन्दा बढीलाई कारबाही गरिएको छ । तीमध्ये ट्याक्सी एक हजार चार सय १९ र एक सय ९ ओटा मोटरसाइकल फन्दामा परिसकेका छन् । ठगी गर्ने ट्याक्सी नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी खटाइएको उनले बताए ।
अहिले विशेषगरी अस्पताल, होटललगायत अन्य पर्यटकीय धार्मिक स्थलहरुमा यस्तो समस्या बढी देखिएको ट्राफिक महाशाखाका प्रवक्ता राजकुमार लम्सालले जानकारी दिए । ठूला उच्च क्षमताका डर्टबाइक चढेर मैहू भन्नेहरु पनि धेरै कारवाहीमा परेको छन् । महाशाखाका अनुसार दैनिक २५ देखि ३० ओटासम्म त्यस्ता ठूलो आवाजवाला मोटरसाइकल पक्राउ गर्दै आएको छ । ‘सडकमा गुड्ने मात्र नभई महाशाखालाई जानकारी आएको स्थानमै गएर पनि यस्ता मोटरसाइकल जफत गर्दै आएका छौं,’ प्रवक्ता लम्सालले भने ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पनि अनुगमनलाई निरन्तरता दिँदै आएको बताए । यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाको समन्वयमा ट्याक्सी बिल प्रिन्टिङ्लाई निरन्तरता दिँदै ट्याक्सी चालकको अनुगमन गरिँदै आएको उनको भनाइ छ ।