काेशी  करिडोर बन्न डेढ वर्ष लाग्ने

प्रसारण लाइन निर्माणका लागि वन र जग्गाकै विवादले करिडोर निर्माणमा ढिलाइ हुने भएको हो । एक सय ५ किलोमिटर लम्बाइको उक्त प्रसारण लाइनको अहिलेसम्म झन्डै ३० प्रतिशत भौतिक प्रगति देखिएको छ ।

दुई सय २० मेगावाटको काेशी करिडोर बन्न अझै डेढ वर्ष लाग्ने भएको छ । प्रसारण लाइन निर्माणका लागि वन र जग्गाकै विवादले करिडोर निर्माणमा ढिलाइ हुने भएको हो । एक सय ५ किलोमिटर लम्बाइको उक्त प्रसारण लाइनको अहिलेसम्म झन्डै ३० प्रतिशत भौतिक प्रगति देखिएको छ ।

सुनसरीको इनरुवादेखि सङ्खुवासभाको टुङ्लिङ्टारसम्म झन्डै ३ सय २० ओटा टावर निर्माण गर्नुपर्छ । तर, अहिलेसम्म टावर ठड्याउने फाउन्डेसनको काम भइरहेको छ । टावर ठड्याउन सुरु नै गरिएको छैन । धेरै वन क्षेत्र पर्ने भएकाले पनि निर्माण अगाडि बढाउन नसकिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । ‘वन र जग्गाको समस्या नटुङ्गिदा ढिलाइ नहुने कुरा नै भएन, यद्यपि ३० प्रतिशत प्रगति भएको छ । निर्माणको काम रोकिएको छैन,’ ढकालले भने, ‘करिडोर निर्माणको काम सक्न डेढ वर्ष लाग्छ ।’

कुल ८ अर्ब रुपैँयाको लागतमा निर्माणाधीन उक्त प्रसारण लाइन निर्माणपछि एक हजार मेगावाटभन्दा बढीका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । प्रसारण लाइन निर्माणका लागि मात्रै ३ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको छ । फाउन्डेसन, जग्गा, बेस निर्माण, यन्त्र उपकरणसहित ८ अर्बभन्दा बढी लागत लाग्ने देखिएको ढकालले बताए । पछिल्लो समय अमेरिकी डलरको भाउ बढेसँगै आयोजनाको लागत बढ्ने ढकालको तर्क छ ।

प्रसारण लाइन निर्माण भएपछि त्यस क्षेत्रका साना—ठूला २० ओटा आयोजनाहरुको विद्युत् यसै करिडोरमा जोडिने छ । खासगरी, मायाखोला, हेवाखोला, सभाखोला, तल्लो हेवा, अपर अरुण लगायत अन्य जलविद्युत् आयोजना अहिले निर्माण भइरहेका छन् । ती आयोजनाबाट उत्पादन हुने विद्युत् यसै करिडोरमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

राष्ट्रिय रुपमा ठूलो महत्व राख्ने करिडोर बनाउन अहिले विभिन्न ठाउँमा फाउन्डेसन र आधारभूत जग्गा व्यवस्थापन गर्ने काम भइरहेको छ ।