सुन्दर यातायातले राजधानीलाई वायु प्रदूषणरहित बनाउने उद्देश्यले एसीजडित विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
पछिल्लो समय इलेक्ट्रिक बसको लहर चलिरहँदा उपत्यकामा पहिलो चोटि सुन्दर यातायातले ५० ओटा विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सुन्दर यातायातले राजधानीलाई वायु प्रदूषणरहित बनाउने उद्देश्यले एसीजडित विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
अबको एक महिनाभित्रै विद्युतीय सञ्चालन गर्ने उद्देश्यका साथ बस ल्याउन लागिएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । कम्पनीले वितरकको एग्रीमेन्टसहित चाइनिज बीएके कम्पनीसँग सम्झौता गरी विद्युतीय बस भित्र्याउन लागेको हो ।
पहिलो चरणमा परीक्षणका लागि दसैंपछि तीन ओटा बस सञ्चालनको तयारी गरिएको अध्यक्ष थापाले बताए । परीक्षणपछि एक महिनाभित्र थप सात ओटा ल्याउने कम्पनीले तयारी गरेको बताएको छ । ‘एक वर्षभित्र ५० ओटा बस भित्र्याउने योजनामा छाैं,’ उनले भने ।
अहिले नेपालमा विद्युतीय बसका लागि चार्जिङ् स्टेसनको अभाव छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वयन गरिएको थापाले बताए । उनले प्राधिकरणले चार्जिङ स्टेसन बनाइदिन सहमति जनाएकाले पनि विद्युत्तीय बस सञ्चालनका लागि अगाडि बढेको थापाको तर्क छ ।
कम्पनीमा गाडी चार्ज गर्नका लागि एउटा चार्जिङ मेसिन आइसकेको र अन्य १० ओटा चार्जिङ स्टेसन भने गाडी भित्रिनु भन्दा १५ दिनअघि ल्याइसक्ने थापाले जनकारी दिए । ‘काठमाडौंका गोङ्गबु, सीतापाइला, सातदोबाटो, बालाजु र सिनामङ्गलमा चार्जिङ् स्टेसन रहने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानज्यूले आश्वासन दिनुभएको छ,’ उनले भने ।
सुन्दर यातायातले ल्याउने विद्युतीय बस एउटाको एक करोड १२ लाख पर्ने बताएको छ । छ महिनाभित्र कम्पनीले १३ ओटा बस सञ्चालनमा ल्याउन १५ करोड रुपैयाँ विनियोजन गरेको छ । कम्पनीका अनुसार नेपाल ल्याउन लागिएका बस युरोपियन गुणस्तरका भएकाले डिजिटल सिस्टमका हुनेछन् ।
कम्पनीका अध्यक्ष थापाका अनुसार कम्पनीको टोली सुरुमा बस खोज्न ब्राजिललगायत युरोपका तीन चार ओटा मुलुक घुमेर अन्त्यमा चीनका बस नै उपयुक्त लागेर चीनको बीएके कम्पनीसँग खरिद गर्ने सम्झौता भएको हो । एक पटक बसलाई तीन घण्टा चार्ज गर्दा २ सय ६८ किलोमिटरसम्म गुड्ने कम्पनीले जनाएको छ ।