यो वर्ष विभागले अनुगमनका लागि चार टोली बनाई खटाएको छ । भाडा तथा ठगी नियन्त्रण गर्न १३ स्थानमा सहयोग कक्षसमेत राखिएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले यस पटकको दसैं सुरक्षित र मर्यादित हुने बताएका छन् । विगतका वर्षहरुमा अत्यधिक दुर्घटना तथा अव्यवस्थित भएको भन्दै उनले गतवर्षको तुलनामा यसपालिको दसैंमा कुनै पनि अप्रिय घटना नहुने दाबी गरे ।
यातायात व्यवसायी, महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागको छलफल तथा समन्वयमा सर्वसाधारणको हित, अधिकार तथा यात्रा सुरक्षाका लागि कुनै पनि कसर बाँकी नराखेको उनको भनाइ छ ।
‘विभागले बुधबारदेखि नेपालीहरूको महान् पर्व दसैं, तिहार र छठ नजिकिएसँगै काठमाडौंबाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गराइसकेको छ,’ उनले भने ।
रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु नपर्ने ढकालले जानकारी दिए । ‘ठूला सवारीसाधन बाटोमा गुड्दा अरु सवारीसाधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणगढबाट काठमाडौं आउने ठूला सवारीसाधनलाई रोक पनि लगाइसकिएको छ,’ उनले भने ।
त्यस्तै टिकटको सन्दर्भमा पोहोरको जस्तो सर्वसाधारणले टिकट लिन लाइन बस्नुपरेको छैन भने विगतका वर्षहरुमा टिकट अनियमितता भएको भन्न ठूलो हल्ला र मानिसको गुनासोलाई ध्यानमा राखि विभागबाटै साधारण पोसाक खटाएका छौं भने ट्राफिक प्रहरीहरुले समेत यो बिषयलाई गहनरुपमा लिएर काम अघि बढाएको उनले स्पष्ट पारे ।
सुरक्षाको विषयलाई उपत्यका तथा उपत्यकाबाहिर पनि तीन तहका सुरक्षा निकायलाई नै गृह मन्त्रालय, यातायात व्यवस्था विभागले निर्देशन दिइसकेको छ । यातायात तथा अन्य क्षेत्रमा २०७५ सालको दसैंमा यात्रुलाई कुनै पनि खालको समस्या नहुने महानिर्देशक ढकालको भनाइ छ ।
नयाँ र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने सवारी बसपार्कमा राखिएका गुनासा आएलगत्तै विभागले अनुगमन गरी थोत्रा देखिएका बनाइएका केही त्यस्ता किसिमका सवारीलाई जफत गरिसकेको छ । विभागले केही दिनअघि कोटेश्वरमा गरेको अनुगमनमा ६ सय रुपैयाँ भाडा तोकेको ठाउँमा ८ सय रुपैयाँ लिने सवारीलाई कारवाही गरेको छ ।
टिकट बुकिङमा कालोबजारी, ठगी तथा यात्रुलाई सास्ती दिनेलाई कारबाही हुनेछ । टिकटमा हुने ठगी रोक्न सादा पोसाकमा प्रहरी समेत परिचालन गरिएको छ । अनुगमनका क्रममा बढी लिइएको भाडा फिर्ता गरिएको उनले जानकारी दिए । अनुगमनका क्रममा बिपी राजमार्ग भएर जाने सवारी स्थलगत रुपमै कारवाहीमा परेका छन् । बढी टिकट काट्ने काउन्टरलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भएको विभागले जनाएको छ ।
चाडबाडमा हुने गरेका दुर्घटनामा पुरानो सवारी मुख्य कारण रहेको यसअघि गठित कार्यदल एवम् जाँचबुझ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसै विषयलाई ध्यानमा राखी काम अघि बढाइरहेका छौं । सबै क्षेत्रमा प्रहरी परिचालन भइसकेका छन् । विभिन्न राजमार्गका बीचबीचमा भाडा जाँच, यात्रुका भनाइ जस्ता विषयमा पनि अनुगमनले निरन्तता पाइरहेको छ ।
यो वर्ष विभागले अनुगमनका लागि चार टोली बनाई खटाएको छ । भाडा तथा ठगी नियन्त्रण गर्न १३ स्थानमा सहयोग कक्षसमेत राखिएको छ ।