भोजभतेर, पार्टी, सभासमारोहमा रक्सी पिउने चलन नेपाली समाजमा अब कुनै नौलो कुरा भएन । जुनसुकै क्षेत्रमा गएर बसे पनि मदिराकै कुरा आउँछ भने मदिरा पिउने संस्कृति नै बनिसकेको छ, नेपालमा । चाहे सुखको क्षणमा होस् अथवा दुख पीरको क्षणमा स्वदेशी तथा विदेशी मदिरा सबैको रोजाइमा परिसकेको छ ।
मदिराको उपभोग बढ्दै गएपछि घरेलु, स्वेदशी ब्रान्डदेखि अन्तर्राष्ट्रिय ब्रान्डहरु बजारमा दरिलो उपस्थिति जनाइरहेका छन् । स्वदेशी तथा विदेशी मदिराबीचको प्रतिस्पर्धाले नयाँनयाँ ब्रान्डहरु घरेलु बजारमा देखापरेका छन् । नयाँ मदिरा उत्पादनकै लागि उद्योगीले अर्बाै रुपैयाँ लगानी गरेका छन् । गएको गर्मी महिना सुरु हुनेबित्तिकै नयाँ बियर बजारमा देखिए । अन्तर्राष्ट्रिय ब्रान्ड काल्सबर्ग, टुबोर्गको एकछत्र बजार चलिरहँदा पछिल्लो पटक दुई अन्तर्राष्ट्रिय ब्रान्ड वार्सटाइनर र किङफिसर नेपालमै उत्पादन भयो ।
राज ब्रुअरीअन्तर्गतको वार्सटाइनर उत्पादनका लागि ४ अर्ब लगानी भएको छ भने किङफिसर उत्पादनका लागि २ अर्बभन्दा बढी लगानी भएको कम्पनीले जनाएको छ । राज बु्रअरीले स्वदेशी ब्रान्ड नमस्ते बियरलाई पनि बजारमा सफ्ट लन्च गरिसकेको छ । त्यस्तै किङफिसर उत्पादन गर्ने कम्पनी यती बु्रअरीले अर्ना ब्रान्डमा लाई आक्रामक रुपमा बजारमा उपस्थिति जनाएको छ । किङफिसर बहुराष्ट्रिय कम्पनी हो । ५५ देशमा उत्पादन हुने किङफिसरलाई नेपालमै उत्पादन कम्पनीले बजारमा पठाउन थालेको हो । ‘हामीले अहिले किङफिसर र अर्नालाई पूरै सहरमा पु¥याइसकेका छौं,’ यती बु्रअरीका महाप्रबन्धक अरुण केसीले भने ।
यसअघि बजारमा नेपाल आइस, सानमिगेल, स्टार, टेन्सबर्ग, शेर्पालगायतका बियर थिए । पछिल्लो पटक स्वदेशी ब्रान्डहरुबीच नै प्रतिस्पर्धा तीव्र रहेको छ । मोरङको चण्डिका डिस्टिलरीले हालै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय मदिरा ४० युपीको पासपोर्ट ह्विस्की बजारमा ल्याएको छ । कम्पनीले फ्रान्सबाट स्ट्रिप र स्कटल्यान्डमा बनेको गुणस्तरीय माल्टको प्रयोग गरी स्वदेशमै ‘पासपोर्ट’ ह्विस्की उत्पादन गरेर नेपाल भियभयाएको हो ।
बजारमा वल्र्ड दरबार, ब्याल्क चिम्नी, ८८४८, इम्पेरियल, गोल्डेन याक, सिग्नेचर, एसी ब्ल्याक, रकफर्ट, हिमालय रिजर्भ, रुस्लान, वर्ल्ड फरेस्टर, रोयल टिएजर, रोयल च्यालेन्ज, पासवर्डलगायत नेपालमै उत्पादन भएका ब्रान्डबीच प्रतिस्पर्धा छ । बियर, ह्विस्कीसँगै वाइनको बजार पनि फैलिँदै गएको छ । स्वदेशी ब्रान्डका वाइन पनि एक दर्जन पुगिसकेका छन् ।
डिल्लीबजारमा रक्सी व्यापार गर्दै आएका सन्तोष श्रेष्ठ भन्छन्, ‘सहरबाट बाहिरिनेले ठूलो परिमाणमा मदिरा लैजाने गरेकाले पनि व्यापार बढेको हो ।’ उनका अनुसार युवावर्गले मदिरालाई कोसेलीको रुपमा समेत हेर्ने गरेकाले दसैंमा उच्च माग हुने श्रेष्ठको भनाइ छ । दसैंतिहारमा विदेशबाट नेपाल फर्किने नेपालीहरुले पनि आफ्नो परिवारका सदस्यका लागि पनि रक्सी नै बोकेर ल्याउने गरेको पाइन्छ । वार्षिक ६ अर्ब दुई करोड ८० लाखबढीको मदिरालगायत जुस कोक जस्ता पेयपदार्थ आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । ती पेयपदार्थ ३० भन्दा बढी देशबाट नेपाल भित्रिन्छन् ।