घलेम्दीखोला हाइड्रोमा २० करोड लागत बढ्यो

लुम्बिनी विकास बैङ्क र टुरिजम डेभलपमेन्ट बैङ्कको सहवित्तिय लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत्बाट धौलागिरीका जिल्ला लाभान्वित हुनेछन् ।

म्यादीको अन्नपूर्ण गाउँपालिका—४ नारच्याङमा निर्माणाधीन घलेम्दीखोला जलविद्युत् आयोजनाको २० करोड लागत बढ्ने भएको छ । ८५ करोड रुपैयाँ कुल लागत एस्टिमेट गरेको उक्त आयोजनामा थप २० करोड रुपैयाँ थप लागत लाग्ने भएको हो ।

हालसम्म आयोजनामा ९० करोड रुपैयाँ खर्च भइसकेको र आयोजना सम्पन्न गर्न थप १५ करोड आवश्यक पर्ने घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक एनबी अधिकारीले जानकारी दिए । सुरुवाती लागत अनुमानभन्दा अहिले ५ करोड रुपैयाँ थप खर्च भइसकेको उनले बताए । आयोजना सम्पन्न गर्न १५ देखि २० करोड रुपैयाँ लाग्ने उनको भनाइ छ । आयोजना निर्माणमा निर्माण सामग्री ढुवानी र आपूर्तिमा ढिलाइ, अमेरिकी डलरको भाउ बढ्नु र आयातित सामग्री महँगो भएकाले पनि आयोजनाको लागत बढेको अधिकारीको तर्क छ ।

आगामी चार महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन हुने गरी निर्माणको काम तीव्र रुपमा भइरहेको उनले बताए । अहिले आयोजनाको काम ९५ प्रतिशत काम सम्पन्न भएको छ । ‘आयोजनाको बाँकी काम आगामी चार महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्न तीव्र रुपमा काम भइरहेको आयोजनाको काम तीव्र रुपमा अघि बढेको छ,’ उनले भने, ‘हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । चार महिनाभित्र सबै काम सक्छांै ।’ अहिले विद्युत् गृह निर्माण, बाटो, पेनस्टक पाइप जडान, हेडवक्र्सलगायत भौतिक निर्माणका काम सकिएका छन् ।

भारतीय स्लोबेल इनर्जी कम्पनीले इलेक्ट्रोमेकानिकल, नेपाली कम्पनी सिभिल वल्र्डवाइड कन्स्ट्रक्सनले सिभिल र सीई हाइड्रो कम्पनीले हाइड्रोमेकानिकलको ठेक्का पाएर काम गरिरहेका छन् । विद्युत् गृहभित्र उपकरण तथा मेसिन जडान, ट्रान्समिसन लाइनलगायत अन्य सहायक निर्माणका काम भइरहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा जोडिने हुँदा ५ किलोमिटरको ट्रान्समिसन लाइन निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । यसअघि साउनभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि आयोजना निर्माण सामग्रीको समस्याका कारण आयोजना ६ महिना पर धकेलिएको हो ।

लुम्बिनी विकास बैङ्क र टुरिजम डेभलपमेन्ट बैङ्कको सहवित्तिय लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत्बाट धौलागिरीका जिल्ला लाभान्वित हुनेछन् ।