भएन अनुगमन, चाडवाडमा उपभोक्ता ठगिएको ठगियै

अहिले उपत्यकामा आठ हजारभन्दा बढी ट्याक्सी छन् । सबै ट्याक्सीमा मिटर जडान गरिएको छ । तर पनि प्रभावकारी भएको छैन ।

चरिकोटबाट दसैं मनाएर मङ्गलबार काठमाडौं फकिएका दिनेश केसी कोटेश्वरमा ओर्लिए । सार्वजनिक भाडाको गाडीमा डिल्लीबजार पुग्न सहज नहुने भन्दै ट्याक्सी खोज्न लागे । ट्याक्सी चालकलाई गाउँबाट मानिस आउनेलाई ओसारपसार गर्न भ्याइनभ्याई थियो ।

एक बोरा सामानका साथमा उनले एक ट्याक्सीलाई रोक्दै सोधे, ’दाइ डिल्लीबजार जानुपर्ने थियो, जानुहुन्छ ?’ तर कोटेश्वरबाट डिल्लीबजारसम्मको भाडा चालककले ६ सय रुपैयाँ भन्दा उनी छक्क परे । एकछिन अलमलमा परेपछि उनले ट्याक्सी चालकलाई मिटरमा जान आग्रह गरे । तर चालक मिटरमा जान मानेनन् । र अन्ततः पाँच सय रुपैयाँसम्म लगिदिने चालकले बताए । केसी पाँच सय तिरेर डिल्लीबजार आए ।

केसीजस्तै अरु पनि चाडपर्वको बेला ठगिएका घटना अहिले नौलो लाग्न छाडेका छन् । हरेक दिन ट्याक्सीबाट लुटिने र ठगिने क्रम घटेको छैन । यसको नियामक निकाय ट्राफिक प्रहरी हो । तर उसले अनुगमनमा ध्यान नदिँदा उपभोक्ता चाडपर्वको मुखमा लुटिन बाध्य बनेका हुन् ।

विशेषगरी बसपार्क, कोटेश्वर, कलङ्की र गौशालाबाट ट्याक्सीमा जानेहरु बढी छन् । यही क्षेत्रमा उनीहरु ठगिएका पनि छन् । तर यस क्षेत्रमा ट्राफिक प्रहरीले उपभोक्ता ठगी रोक्न कुनै ध्यान दिएको छैन ।

यातायात विभागका महानिर्देशक लावण्यकुमार ढकालले विभागबाट सादा पोसाकमा अनुगमन टोली खटाएको बताए पनि अहिले काठमाडौंका कुनै पनि स्थानबाट ट्याक्सी मिटरमा चल्दैनन् । बिलिङ मेसिनको त कुरौ छोडौं । थाहा भएसम्म ठग्ने ट्याक्सीलाई कारबाही गरिरहेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तको भनाइ छ ।

अहिले उपत्यकामा आठ हजारभन्दा बढी ट्याक्सी छन् । सबै ट्याक्सीमा मिटर जडान गरिएको छ । तर पनि प्रभावकारी भएको छैन ।