हुलाकी सडक आयोजना दुई महिनादेखि निर्देशकविहीन

२०६७/६८ देखि निर्माण सुरु गरिएको आयोजनामा २७ प्रतिशत भौतिक प्रगति भएको छ । हालसम्म १९ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ ।

दुई महिनादेखि हुलाकी सडक आयोजना निर्देशकविहीन बनेको छ । राष्ट्रिय गौरवको आयोजना निर्देशकविहीन बनेपछि निर्माणका कामले गति लिन सकेका छैनन् । यसअघि हुलाकी राजमार्ग आयोजनामा निर्देशक रहेका श्यामप्रसाद खरेल सडक विभागमा सरुवा भएसँगै आयोजना निर्देशकविहीन बनेको हो ।

अहिले उक्त राजमार्ग आयोजनामा निमित्तका भरमा काम भइरहेको छ । खरेल सरुवा भएपछि उक्त आयोजनामा अर्जुन सुवालले निमित्तका रुपमा काम गरेका छन् । सरकारले लामो समयसम्म पनि आयोजनामा निर्देशक नियुक्त गर्न सकेको छैन, जसका कारण आयोजनाका काम, निर्णय, निर्देशन, भुक्तानी, जग्गा प्राप्तिमा पनि समस्या देखिएको छ ।

राजमार्गका अन्य चार ओटा आयोजना क्षेत्र पनि निर्देशकविहीन छन् । खासगरी जनकपुर, वीरगन्ज, नेपालगन्ज र धनकुटा क्षेत्र हेर्ने गरी तोकिएका आयोजना निर्देशक पद रिक्त नै छ । हुलाकी राजमार्ग इटहरी खण्डमा मात्रै निर्देशक छन् । हुलाकी सडक निर्माणका लागि पूर्व–पश्चिमसम्म एक हजार ७ सय ९२ किलोमिटर पर्छ, जसमध्ये ३ सय किलोमिटर भारतीय कम्पनीले निर्माण गरिरहेको छ । समयमै बजेट निकासा नहुनु, जनशक्ति अभाव र लम्बिँदो प्रशासनिक प्रक्रियाले आयोजना निर्माण सुस्त भइरहेको अवस्था फेरि कर्मचारी सरुवा÷बढुवाका कारण आयोजना निर्माण लम्बिने सम्भावना छ । आयोजना आगामी आर्थिक वर्ष २०७९/८० भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजना निर्माणका विषयमा महत्त्वपूर्ण निर्णय लिन आयोजना प्रमुख तथा निर्देशक आवश्यक पर्छ । साना खालका निर्णय निमित्तले समाधान गरे पनि ठूला र दीर्घकालीन निर्णय गर्न आयोजना प्रमुख नै चाहिन्छ । अहिले हुलाकी राजमार्ग निर्माणमा ठेकेदारहरुलाई भुक्तानी स्वीकृत गर्न यस्तै समस्या देखिएको छ । आयोजना निर्देशक नहुँदा र भुक्तानी स्वीकृत नहुँदा ठेकेदारको झन्डै ५० करोड भुक्तानी अड्किएको पूर्वआयोजना निर्देशक खरेलकै भनाइ छ ।

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले निर्देशक नियुक्त नभए पनि आयोजनाको काम नरोकिएको बताए । निमित्तले आयोजनाको काम हेरिरहेकाले कुनै पनि प्रकारको समस्या नरहेको उनको भनाइ छ । ‘आयोजनामा निर्देशक नभएपछि निमित्तले हेर्नुभएको छ । निर्माणको काम र भुक्तानीमा कुनै समस्या छैन,’ उनले भने । सरकारले छुट्टै नै आयोजना निर्देशक र थप इन्जिनियर नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए ।

२०६७/६८ देखि निर्माण सुरु गरिएको आयोजनामा २७ प्रतिशत भौतिक प्रगति भएको छ । हालसम्म १९ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ ।