टेलिकम र विद्युत् प्राधिकरणलाई धरहरा क्षेत्रको तार व्यवस्थापन गर्न निर्देशन

सुन्धारा क्षेत्रको जमिनमुनिबाट नेपाल टेलिकमले टेलिफोनको तार र माथिबाट नेपाल विद्युत् प्राधिकरणले बत्तीको तार लगेकाले काममा समस्या भइरहेको पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जनाकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा क्षेत्रमा रहेका तार व्यवस्थापन गर्न टेलिकम, आईएसपी र विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । उक्त क्षेत्र वरिपरि रहेका अव्यवस्थित तारका कारण सम्याउने र अन्य निर्माणमा समस्या आएकाले यस्तो निर्देशन दिएको हो ।

सुन्धारा क्षेत्रको जमिनमुनिबाट नेपाल टेलिकमले टेलिफोनको तार र माथिबाट नेपाल विद्युत् प्राधिकरणले बत्तीको तार लगेकाले काममा समस्या भइरहेको पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जनाकारी दिए । यसकारण पनि सेवाप्रदायकलाई निर्देशन दिनुपरेको घिमिरेको भनाइ छ । उनका अनुसार सो क्षेत्र वरिपरिको जमिन सम्याउन खन्दा हाल २ सय टेलिफोन सेवा अवरुद्ध भइसकेको छ ।

सुन्धारा क्षेत्रमा प्राधिकरणका तार व्यवस्थापन गर्न कुनै समस्या नरहे पनि दूरसञ्चार सेवाप्रदायकलाई भने समस्या रहेको उनी बताउँछन् । त्यस क्षेत्रमा रहेका विद्युतीय तार पोलपोलबाट स्थानान्तरण गर्न सहज हुने तर टेलिकम अन्य आईएसपीको तार जमिनमुनिबाटै समाधान गर्नुपर्ने भएकाले छिटो व्यवस्थापन गर्न निर्देशन दिएको उनको भनाइ छ ।

अहिले उक्त क्षेत्रमा टेलिकमलगायत अन्य आईएसपीहरुको करिब २४ हजार लाइन सुन्धारा क्षेत्रको जमिनमुनिबाट बिछ्याइएको छ । उक्त क्षेत्रमा पुनर्निर्माणको काम सुरु गर्दा सबै टेलिफोन इन्टरनेट जस्ता सेवाहरु प्रभावित हुने प्राधिकरणको भनाइ छ ।

टेलिकमलगायत अन्य आईएसपीहरुका २४ हजार लाइन स्थानान्तरण गरी अन्य उपयुक्त स्थानबाट बिछ्याउने काम भइरहेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘हामीले धरहरा पुनर्निर्माणलाई सकेसम्म कुनै पनि बाधा नआउने गरी काम थालिसकेका छौं,’ उनले भने ।

तार व्यवस्थापनमा के गर्दै छ दूरसञ्चार प्राधिकरण ?

उपत्यकाका हरेका स्थानमा अहिले कतै आगलागी, कहिले फाइबर कनेक्सन काटिने र टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ । यस्ता समस्याले आम उपभोक्ता ठगिने र सेवाबाट वञ्चित हुने गरेका छन् ।

केही महिनाअघि दूरसञ्चार प्राधिकरणले तार इन्टरनेट, फाइबर तथा विद्युतीय तार जमिनमुनि स्थानान्तरण गर्न पाइलट प्रोजेक्टका रुपमा चार कम्पनीलाई छनोट गरेको थियो, जसमा दुई भारतीय, एक मलेसियन र अर्को दुबईका कम्पनी थिए । तीमध्ये एक कम्पनी छनोट हुने भने पनि हालसम्म कुनै पनि प्रक्रिया अघि नबढेको प्राधिकरणमा कार्यरत कर्मचारीकै भनाइ छ । अहिले हरेक क्षेत्रमा तार अस्तव्यस्त देखिन्छ ।

सडक विभागले सडकका सम्पूर्ण संरचना छुन नपर्ने गरी नबनाएसम्म अथवा सडकको स्तरोन्नति नभएसम्म कुनै पनि विद्युत् तथा इन्टरनेट फाइबरका तार व्यवस्थापन हुन नसक्ने दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालको दाबी छ ।