जलविद्युत् आयोजनामा जनताको सेयरबाट १८ अर्ब उठाइने

अहिले माथिल्लो तामाकोसी आयोजना निर्माण अन्तिम चरणमा छ । यसअघि मङ्सिरभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि हाइड्रो मेकानिकलको समस्याका कारण एक वर्ष पर धकेलिएको आयोजनाले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षभित्र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका लागि जनताको सेयरबाट मात्रै १८ अर्ब उठाउने भएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक घरधुरी विद्युत् सेयरको मालिक’ भन्ने मुख्य नारासहित सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न उक्त रकम जनताको उठाइने भएको हो ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका प्रवद्र्धक चार ओटा ठूला आयोजना निर्माणका लागि जनतालाई सेयर निष्कासन गरिनेछ । निर्माणाधीन आयोजना एक वर्षभित्रै विद्युत् उत्पादन गर्न सकिने देखिएको छ । स्वदेशी लगानीमा निर्माणाधीन अपर तामाकोसीसहित नेपाल विद्युत् प्राधिकरणले अघि बढाएका चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका तल्लो र माथिल्लो सान्जेन, रसुवागढी, मध्य भोटेकोसी जलविद्युत् आयोजनामा जनताको सेयर रहनेछ ।

तामाकोसीबाहेक प्राधिकरणले अघि बढाएका २ सय ७० मेगावाटका जलविद्युत् आयोजनाहरुका लागि यसै वर्ष १८ देखि २० अर्ब रुपैयाँ रुपैयाँ जनताको सेयरबाट उठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले यस वर्षलाई सेयर वर्षका रुपमा मनाउने तयारी गरेको उनले बताए । ‘अपर तामाकोसीबाट १० अर्ब र चिलिमे हाइड्रोपावर कम्पनीअन्तर्गतका प्रोजेक्टका लागि ८ अर्ब रुपैयाँ जनताको लगानीअन्तर्गत सेयरमार्फत उठाउँछौं,’ उनले भने, ‘त्यसकारण पनि यस वर्षलाई सेयर वर्षका रुपमा मनाउने तयारी गरेका छौं ।’

अहिले माथिल्लो तामाकोसी आयोजना निर्माण अन्तिम चरणमा छ । यसअघि मङ्सिरभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि हाइड्रो मेकानिकलको समस्याका कारण एक वर्ष पर धकेलिएको आयोजनाले जनाएको छ । आयोजनाले आगामी २०७६ कात्तिकमा व्यावसायिक विद्युत् उत्पादन थाल्ने जनाइएको छ । निर्माण सुरु गर्नुपूर्व करिब ३६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि अहिले आयोजनाको लागत दोब्बर हुने भएको आयोजनाले जनाएको छ । अहिलेसम्म उक्त आयोजनामा ४९ अर्ब रुपैयाँ खर्च भइसकेको र २० अर्ब रुपैयाँ ब्याजका कारण आयोजनाको लागत दोब्बर हुने निश्चितप्रायः छ ।

प्राधिकरणले अगाडि बढाएका १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्य भोटेकोसी आयोजनाबाट यसै वर्ष विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । यी आयोजनाले पनि चालू आवभित्र नै सर्वसाधारण जनतामा सेयर जारी गर्दै छन् । सान्जेन जलविद्युत्अन्तर्गतका दुई आयोजनाको प्रगति ६५ देखि ७० प्रतिशत छ । यो आयोजनाल सर्वसाधारणका लागि ५४ करोड ७५ लाख (२५ प्रतिशत) र रसुवागढी जिल्लाका स्थानीय बासिन्दाका लागि ६५ करोड ५० लाख (१० प्रतिशत) सेयर निष्कासन गर्ने तयारीमा रहेको सान्जेन आयोजनाका प्रमुख किरणकुमार श्रेष्ठले बताए । त्यसैगरी, रसुवागढी जलविद्युत् आयोजना पनि आगामी आवभित्र विद्यूत् उत्पादन गर्नेगरी काम अघि बढेको छ । यो आयोजनाको प्रगति ६७ प्रतिशत छ । सर्वसाधारणलाई १५ प्रतिशत र प्रभावित जिल्लावासीहरुलाई १० प्रतिशत सेयर यसै आवभित्र निष्कासन गर्ने गरी अगाडि बढेको आयोजना प्रमुख छवि गैरेले बताए ।

मध्यभोटेकोसीले आगामी कात्तिकदेखि सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको छ । उक्त आयोजनाको भौतिक प्रगति ४२ प्रतिशत काम सकिएको छ । चिलिमे कम्पनी मोडेलअनुसार नै स्वदेशी लगानीमा अपर तामाकोसी निर्माण भएकाले अरु आयोजना निर्माणका लागि पनि लगानीका लागि आकर्षण बढेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ‘अपर तामाकोसी जस्तै मोडेलमा अन्य प्रोजेक्ट बनाउन लगानीका लागि सम्भावना बढेको छ,’ उनले भने, ‘अब तामाकोसी पाँचौं पनि त्यही मोडेलमा अघि बढाउने सोचमा छौं ।’ अपर तामाकोसीभन्दा पनि जनताको लगानी र स्वदेशी पुँजीमा तामाकोसी पाँचांैलाई आकर्षक आयोजनाका रुपमा विकास गरिने उनको भनाइ छ ।