कहिले हुन्छ मोबाइलकाे अवैध आयातमा रोक ? के हुँदै छ प्रक्रिया ?

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले कन्सल्टिङ् सर्भिस अन डिजाइन, डेभलप, सप्लाई, इन्स्टलेसन, टेस्टिङ्, कमिसनिङ एन्ड अपरेसन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रोजेक्ट सञ्चालनका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा आयात हुने मोबाइलमा रोक लगाउने तयारी थालेको छ । ६ महिनाभित्र भन्सार छली हुँदै आयात हुने मोबाइलमा रोक लगाइने तथा मोबाइलको आईएमईआई दर्ता पूर्णरुपमा लागू गर्नेगरी प्रक्रिया सुरु गरेको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले कन्सल्टिङ् सर्भिस अन डिजाइन, डेभलप, सप्लाई, इन्स्टलेसन, टेस्टिङ्, कमिसनिङ एन्ड अपरेसन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रोजेक्ट सञ्चालनका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

एमडीएमएस प्रक्रियाले नेपालमा अवैध तरिकाले भित्रिने मोबाइलमा रोक लगाउनका लागि आईएमईआई दर्ता अनिर्वाय गराउने, सफ्टवेयर डेभलप गर्नेलगायतका काम गर्छ । अर्यालले त्यसका लागि ६ ओटा कम्पनी सर्टलिस्टमा परेको जानकारी दिए । जसमध्ये नेपाल, स्विट्जरल्यान्ड, मलेसिया, भारत, बेलायत तथा नेदरल्यान्डका कम्पनी छन् ।

सर्टलिस्टमा परेका कम्पनीहरुमा इन्भिगो अफसोर एसएएल, लेबनान एन्ड एफवान सफ्ट इन्टरनेसनल प्रालि नेपाल (जेभी), मोबिलोन ट्रेड इन्टरनेसनल प्रालि, नेपाल इन्फ्रा डाटा एनभी, बेल्जियम एन्ड ग्रीन आईटी सोलुसन्स प्रालि नेपाल (जेभि), एसआईसीएपी सेइज एजी स्विट्जरल्यान्ड, न्युमेरा (एम) मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि, इन्डिया एन्ड नमस्ते ग्लोबल कम प्रालि सिङ्गापुर (जेभी), माभिनर सिस्टम लिमिटेड, यूके एन्ड साइट्यूस कम्युनिकेसन सिङ्गापुर (जेभी), पोर्टिङ एक्सेस बी.भी., नेदरल्यान्ड एन्ड कल क्रेडिट ग्रुप, यूके (जेभी) छन् ।

छनोटमा परेका यी छ कम्पनीमध्ये पनि आर्थिक तथा प्राविधिक प्रक्रियाका आधारमा कुनै एक कम्पनीलाई छनोट गरिने छ । छनोट भएपश्चात् केही दिनमै मोबाइल म्यानेजमेन्ट लगायतका आईएमईआई डिभाइसको काम सुरु हुने प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

अहिले नेपालमा लाखौं मोबाइल अवैधरुपमा आयात हुँदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले २०७३ सालदेखि मोबाइलको आईएमईआई नम्बर दर्ताको प्रक्रिया सञ्चालनमा ल्याए पनि प्रभावकारी देखिएको छैन । नेपालमा अवैधरुपमा भित्रिएका मोबाइल खुलमखुला चलिरहेका छन् । केही मोबाइल आयातकर्ताले आफ्ना मोबाइलको आईएमईआई नं. दर्ता गराए पनि सबै मोबाइल प्रयोगकर्ताले गराएका छैनन् ।

दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनालले अबको ६ महिनाभित्र प्राधिकरणले छनोट गरेका कम्पनी मध्येबाट एक उत्कृष्ट कम्पनी छनोट गरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम सुरु हुने दाबी गर्छन् । उनका अनुसार छनोट भएको एक कम्पनीले अफ्नो सर्भर बनाउने र त्यसलाई दुई प्रक्रियाका साथ अघि बढाउने छन् । दूरसञ्चार सेवाप्रदायक कम्पनी र भन्सारमा यो सिस्टम जोडिन्छ । भन्सार र सेवाप्रदायक कम्पनीले दिएको अभिलेख तथा डाटाका आधारमा कुन मोबाइल चलाउन सकिने र कुन नसकिने त्यसको जानकारी हुने खनालको भनाइ छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मोबाइल प्रयोगकर्ता प्रतिमहिना तीन लाखका दरले वृद्धि भइरहेका छन् । तथ्याङ्कअनुसार गत भदौसम्म तीन करोड ८८ लाख ९० हजार चार सय ६९ जना प्रयोगकर्ता छन् ।