फोन लाग्न एनसेलभन्दा टेलिकम राम्रो, एनसेलमा छिटो सम्पर्क

प्राधिकरणको प्रतिवेदनमा नेपाल टेलिकम, एनसेल, र स्मार्ट टेलिकमको कल स्थापित हुने दर, कल स्थापित हुन लाग्ने समय, सम्पर्क विच्छेद र सेवा गुणस्तरहीन रहेको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा गुणस्तर प्रतिवेदन सार्वजनिक गर्दै तीन सेवाप्रदायक कम्पनीको कल सेवा गुणस्तरहीन देखाएको छ । प्राधिकरणको प्रतिवेदनमा नेपाल टेलिकम, एनसेल, र स्मार्ट टेलिकमको कल स्थापित हुने दर, कल स्थापित हुन लाग्ने समय, सम्पर्क विच्छेद र सेवा गुणस्तरहीन रहेको जनाएको छ ।

गत असोज ११ गतेदेखि २५ गतेसम्म करिब ४० स्थानमा बिहान र बेलुका नेटर्वक ब्यस्त रहने समयमा गरेको टेस्टड्राइभका आधारमा यस्तो देखिएको हो ।

प्राधिकरणले गरेको टेस्टड्राइभमा कल परीक्षण तीनै सेवाप्रदायक कम्पनीको खस्किएको देखाएको छ । जसमा कल स्थापित हुने सफलताको दर अथवा कल सेटअप रेटमा प्राधिकरणले न्यूनतम ९९ प्रतिशत वा सोभन्दा बढी तोकेको छ । तर गरिएको परीक्षणका आधारमा तीनै सेवाप्रदायक कम्पनीको कल स्थापित हुने सफलताको दर प्राधिकरणले तोकेको आधारभन्दा कम छ ।

जसमा नेपाल टेलिकमको ९८ दशमलव २६ प्रतिशत, एन्सेलको ९७ दशमलव ७७ प्रतिशत र स्मार्ट टेलिकमको कल स्थापित दर ९२ दशमलव ३९ प्रतिशत छ । यस आधारमा हेर्ने हो भने सबैभन्दा खस्किएको सेवाप्रदायकको रुपमा स्मार्ट टेलिकम देखिएको छ ।

त्यस्तै कल स्थापित हुन लाग्ने समय अथवा कल कनेक्सन टाइममा एनटीएले तोकेको न्यूनतम स्तर ५ सेकेन्ड अथवा सोभन्दा कम राखेको छ । तर तीनै सेवा प्रदायक कम्पनीको कल कनेक्सन प्राधिकरणले तोकेको स्तरभन्दा बढी समयमा हुने गरेको पाइएको छ । जसमा क्रमशः नेपाल टेलिकम, एन्सेल र स्मार्ट टेलिकममा ११ दशमलव ४८, आठ दशमलव ४८ र १३ दशमलव ७१ सेकन्डका दरमा कल कनेक्सन हुने गरेको छ । सम्पर्क विच्छेद भने कुनै पनि सेवाप्रदायक कम्पनीको हुने गरेको छैन ।

प्राधिकरणका अनुसार सेवाको स्तर वा कल स्थापित नहुने न्यूनतम स्तर २ प्रतिशत वा सोभन्दा तल कम छ । तर नेपाल टेलिकमबाहेक अन्य एनसेल र स्मार्टको कल स्थापित नहुने दर बढी छ ।

जसमा नेपाल टेलिकमको एक दशमलव ७४ प्रतिशत, एनसेलको दुई दशमलव २३ प्रतिशत तथा स्मार्ट टेलिकमको सात दशमलव ६१ प्रतिशत छ ।
प्राधिकरणले तोकेभन्दा बढी वा कम गुणस्तर सेवा नहुने, कल स्थापित नहुने दर, स्थापित हुने सफल दर, स्थापित हुन लाग्ने समय तथा सेवाको स्तर जस्ता समस्याका बारेमा सेवाप्रदायकलाई जनकारी गराइसकिएको दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनालले बताए । सेवा सुधार गर्न निर्देशनसमेत दिइसकिएको बताउँदै उनले सुधार नगरे आवश्यक कारवाही गरिने जानकारी दिए ।

प्राधिकरणले असोज ११ देखि २५ गतेसम्म कमलादी, पुतलीसडक, सिंहदरबार, मैतिदेवीलगायतका ४० स्थानमा सेवा अनुगमन गरेको थियो ।