मैदानमा ब्रान्ड विस्तारको प्रतिस्पर्धा

पछिल्लो पटक नेपालको ए डिभिजन लिग २०७० सालमा भएको थियो, जुन प्रतियोगिताको उपाधि विजेता मनाङले ७५ लाख रुपैयाँ पुरस्कार पाएको थियो । त्यस्तै २०७१ मा भएको राष्ट्रिय लिग फुटबलको उपाधि विजेता थ्री स्टार क्लबले सर्वाधिक १ करोड रुपैयाँ हात पारेको थियो । त्यसयता भएको लिग फुटबलको पुरस्कार राशि भने करिब ५० प्रतिशतले घटेको छ ।

एउटा बलका लागि तोकिएको क्षेत्रभित्र २२ जनाको भिडन्त । के तन्नेरी, के वृद्ध, के बालबालिका, के महिला सबैका लागि आकर्षणको केन्द्रमा हुन्छ बल । खुट्टाले खेलिने भएकाले फुटबल नाम दिइएको यो खेलको न कुनै सीमा छ, न कुनै क्षेत्र वा जात । सबैलाई एकतमासले जोडेको हुन्छ र विदेशीसँग खेल्दा राष्ट्रियताको जगमा मानिस उभिन्छन् भने आन्तरिक रुपमा खेल्दा आफ्नो क्षेत्रको र मनपर्ने क्लबको पक्षमा ।

नेपालमा धेरै समयपछि फुटबलको चर्चा सुरु हुन लागेको छ । खासगरी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा असोज १३ गतेबाट सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन खेलका कारण फुटबलका समर्थकहरुको मनमा नयाँ जोस थपिएको छ । र तीन महिनासम्म निरन्तर खेल जारी हुनेछ । प्रतियोगितामा १४ क्लबले उपाधिका लागि भिड्दै छन् । खेल सकिँदा बढी अङ्क प्राप्त गर्ने क्लबले उपाधि कब्जा गर्र्नेछ । बढी त्यसमा नाम चलेका समूह र अन्तर्राष्ट्रिय स्तरको कम्पनीबीचको प्रतिस्पर्धा स्पष्ट झल्किन्छ । खासगरी ए डिभिजन फुटबलमा क्लबलाई पैसा दिएर आफ्नो ब्रान्ड बनाउन कर्पोरेट क्षेत्र भिडिरहेको देखिन्छ । कर्पोरेट क्षेत्रले पनि राम्रा र उपाधिका दाबेदार टिमहरु छानिरहेका छन् ।

फुटबलसँगै लिगमा कर्पोरेट क्षेत्र, बैङ्किङ क्षेत्र र मदिरा कम्पनीबीचको चर्को प्रतिस्पर्धा देखिन्छ । संयोग नै मान्नुपर्छ एक व्यावसायिक घराना फुटबलमा प्रवेश गरेपछि अर्को त्यस्तै प्रकृतिको कम्पनीको मैदान प्रवेश भइहाल्छ । त्यसको प्रत्यक्ष फाइदा क्लबले लिँदै आएका छन् भने व्यावसायिक घरानाले पनि आफ्नो कम्पनीको व्यापार विस्तारका लागि विज्ञापनदेखि लिएर विभिन्न प्रकारका फन्डा अपनाएका हुन्छन् । यसकै उदाहरण हो, करिब ४ वर्षपछि सञ्चालनमा आएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल ।

पछिल्लो पटक नेपालको ए डिभिजन लिग २०७० सालमा भएको थियो, जुन प्रतियोगिताको उपाधि विजेता मनाङले ७५ लाख रुपैयाँ पुरस्कार पाएको थियो । त्यस्तै २०७१ मा भएको राष्ट्रिय लिग फुटबलको उपाधि विजेता थ्री स्टार क्लबले सर्वाधिक १ करोड रुपैयाँ हात पारेको थियो । त्यसयता भएको लिग फुटबलको पुरस्कार राशि भने करिब ५० प्रतिशतले घटेको छ । आगामी वर्षको लिगको तयारीका रुपमा लिइएका कारण देशकै एक मात्र अन्तर्राष्ट्रिय रङ्गशालामा पुगेको क्षति र समयमा पुनर्निर्माण नहुँदा नेपाली फुटबल कोमामा पुगेको बताउने गरिन्छ । यद्यपि लामो अन्तरालपछि ‘ए’ डिभिजन लिग सञ्चालनमा आउँदा खेलाडी र समर्थक सबैमा एक खालको उत्साह जगाइदिएको छ ।

नेपाली फुटबलको मैदानमा व्यावसायिक घरानाहरुको प्रवेश फुटबलको क्रेजलाई पनि बढाउन मद्दत गरेको छ । कम्पनीहरु ब्रान्ड विस्तारमा लागिरहँदा फुटबल क्लबहरु त्यसैको फाइदा उठाएर व्यावसायिकतातर्फ उन्मुख छन् । नाम चलेका ठूा कम्पनीले क्लबलाई प्रायोजना गर्दा दुवैलाई फाइदा हुने गर्छ । हुन त विश्वस्तरीय फुटबल प्रतियोगितामा पनि यस प्रकारका व्यापारिक समूहको प्रतिस्पर्धा हुने गर्छ । त्यसैअनुरुप व्यापारमा रमाइरहेका समूहको फुटबल इन्ट्रीले समग्र देशको अर्थतन्त्रलाई माथि उकास्न पनि मद्दत गर्छ । बाहिरबाट हेर्दा फुटबललाई प्रायोजन गर्नु देखिए पनि भित्री मनसाय कम्पनीको व्यापार बढाउनु नै हो । देशका अधिकांश युवाले फुटबल मन पराउने भएकाले फुटबलको माध्यमबाट चाँडो आफ्नो प्रभाव विस्तार गर्न सकिने व्यवसायीहरुको आकलन छ ।

तीन करोडको प्रायोजन

चार वर्षपछि सञ्चालनमा आएको ‘ए’ डिभिजन लिग फुटबलमा करिब २ करोड रुपैयाँको प्रायोजन भेटिएको छ । अहिलेसम्म एपीएफले ४० लाख, मनाङले ३९ लाख, थ्री स्टारले २९ लाख, आर्मीले २५ लाख, सरस्वतीले १७ लाख, जावलाखेल युथले १५ लाख, फ्रेन्ड्सले १५ लाख, सङ्कटाले १५ लाख रुपैयाँबराबरको प्रायोजन सम्झौता गरिसकेका छन् । सम्झौता भएकामध्ये बिग्रेड ब्वाइजले सम्झौता रकम खुलाउन चाहेन । यी सबै टोलीको प्रायोजन रकम जोड्दा मात्र १ करोड ९५ लाख रुपैयाँ हुन आउँछ । अझै ५ टोलीको प्रायोजन सम्झौता नभएकाले आगामी दिनमा सम्झौता रकम अझै बढ्नेछ । मच्छिन्द्र क्लबका अध्यक्ष प्रमोदवीर सिंह कंसाकारले भने क्लबहरुले प्रायोजक नपाउनुमा सञ्चारमाध्यमको भूमिका मूख्य रहेको आरोप लगाए । सानो कुरालाई पनि मिडियाले ठूलो विषयका रुपमा लिने भएकाले नेपाली फुटबल र क्लबको यस्तो हालत भएको उनले बताए ।

पल्सरले लिगलाई १ करोड रुपैयाँ उपलब्ध गराउने एन्फाका प्रवक्ता किरण राईको भनाइ छ । ‘पल्सरले सीधै हामीलाई पैसा दिँदैन, उसले पहिले रामसार मिडियालाई पैसा दिन्छ र लिगलाई रामसारले नगद उपलब्ध गराउने गर्छ,’ उनले भने ।

पल्सर भर्सेस महिन्द्रा भर्सेस टोयाटा

लिगमा गोल्छा समूहको नेतृत्वमा रहेको पल्सरले सम्पूर्ण प्रतियोगिताको प्रायोजन गरेको छ । यस्तै अग्नि समूहको नेतृत्वमा रहेको महिन्द्राले सशस्त्र प्रहरीको विभागीय टोली एपीएफलाई प्रायोजन गरेको छ । सम्झौताअनुसार गोल्छा समूहको पल्सरले प्रतियोगितालाई आवश्यक पर्ने रकम सम्झौताअनुसार एन्फालाई एक करोड रुपैयाँ रामसार मिडियामार्फत उपलब्ध गराउँछ । त्यस्तै पल्सरले त्रिभुवन आर्मी क्लबलाई समेत प्रायोजन गर्दै आएको छ भने टोयाटाले मनाङलाई सहप्रायोजन गरेको छ । उता महिन्द्राले एपीएफलाई प्रायोजन गरेको छ । यसरी अटो क्षेत्रका तीन कम्पनीले लिगमा प्रायोजन गर्दै आन्तरिक प्रतिस्पर्धालाई आत्मसात् गरेका छन् ।

दुई विभागिय क्लबबीचमा रहेको चर्को प्रतिस्पर्धालाई अटो व्यापारमा रमाइरहेका दुई समूहको प्रवेशसँगै दुईको भिडन्त रोचक देखिन्छ भने टोयोटाको मनाङ प्रवेशले झनै रोमाञ्चकता थपेको छ । प्रायोजन सम्झौताअनुसार महिन्द्राले एपीएफलाई वार्षिक ४० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका व्यवस्थापक अमित मल्लले बताए । त्यस्तै, आर्मीलाई प्रायोजन गरेको पल्सरले वार्षिक रुपमा २५ लाख रुपैयाँबराबर नगद तथा आवश्यकताअनुसारको खेलकुद सामग्री उपलब्ध गराउँदै आएको क्लबका व्यवस्थापक शशिकिरण रायमाझीले बताए । मनाङका अध्यक्ष मुखियाकान्छा गुरुङका अनुसार क्लबलाई सहप्रायोजन गरेको कम्पनी टोयाटाले क्लबलाई वार्षिक रुपमा ५ लाख उपलब्ध गराउनेछ ।

रुस्लान, सिग्नेचर र ग्रान्ड मास्टरको भिडन्त

नेपाली फुटबलका दुई ठूला हस्ती हुन्, थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी । पछिल्लो समय नेपाली फुटबलमा करिब एकछत्र राज गरिरहेका यी दुई क्लबलाई सिग्नेचर र रुस्लानले प्रायोजन गरेका छन् । दुई क्लबको प्रतिस्पर्धा तब झन् बलियो भयो, जब दुई विश्वस्तरीय रक्सी कम्पनीको प्रतिस्पर्धा नेपाली फुटबल मैदानमा पस्यो । जारी लिगमा मनाङलाई सिग्नेचर ह्विस्कीले तथा थ्री स्टारलाई रुस्लान भोड्काले प्रायोजन गरेका छन् । विश्वमा छुट्टै ब्रान्डका रुपमा स्थापित भइसकेका दुई रक्सी कम्पनी नेपाली मैदानमा व्यापार विस्तार र प्रतिष्ठाका लागि लडेका हुन् । यिनै दुई रक्सी कम्पनी फुटबल मैदानमा पसेपछि अर्को रक्सी ग्रान्ड मास्टर पनि मैदान पसेको छ । उसले जावलाखेल युथ क्लबलाई प्रायोजन गरेको छ ।

नेपालका लागि रुस्लान भोड्काको आधिकारिक बिक्रेता हिमालयन डिस्टिलरी हो भने सिग्नेचर ह्विस्कीको युनाइटेड स्प्रिट्स । सिग्नेचरले मनाङलाई लिग हुँदा ३० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको क्लबका अध्यक्ष गुरुङले बताए । यस्तै रुस्लान भोड्काले थ्री स्टारसँग तीन वर्षका लागि प्रायोजनको सम्झौता गरेको छ । क्लबलाई रुस्लानले गत वर्ष २२ लाख तथा यस वर्ष २९ लाख २८ हजार रुपैयाँ वार्षिक दिने क्लबका अध्यक्ष अरुणमान जोशीले बताए । दुवै क्लबका अध्यक्षका अनुसार व्यावसायिक घराना मैदान पस्दा फुटबल खेल व्यवसायिकतातर्फ उन्मुख भएको छ । साथै जावलाखेल युथ क्लबलाई ग्रान्ड मास्टरले १५ लाख रुपैयाँ वार्षिक उपलब्ध गराउँछ भने आवश्यकताअनुसारको सामग्री पनि दिइने क्लबका अध्यक्ष ठूलोभाइ केसीले जानकारी दिए ।

सीएमजी ग्रुप भर्सेस पञ्चकन्या ग्रुप

यस पटकको लिगमा व्यावसायिक समूह फुटबल प्रायोजनमा भिडेका छन् । सीएमजी समूहले सङ्कटा क्लबलाई मुख्य प्रायोजन गरेको छ । पञ्चकन्या समूहले भने फ्रेन्ड्स क्लबलाई सहप्रायोजन गरेको छ । सीएमजीले सङ्कटालाई प्रायोजन गरेबापत वार्षिक १५ लाखबराबरको सहयोग गर्नेछ । त्यसमध्ये १० लाख रुपैयाँ नगद तथा ५ लाख रुपैयाँबराबरको खेलकुद सामग्री रहेको क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले बताए । यस्तै पञ्चकन्याले विगतमा वार्षिक साढे तीन लाख रुपैयाँ दिँदै आएकोमा लिगका लागि ५ लाखको सम्झौता भएकोे क्लबका अध्यक्ष राजीव पौडेलले बताए ।

सम्झना ल्याबोरेटरी भर्सेस मनाङ ट्रस्ट

सम्झना ल्याबोरेटरीले जारी लिगमा च्यासल युथ क्लबलाई प्रायोजन गरेको छ । कम्पनीले क्लबलाई प्रायोजन गरेबापत कति रकम दिने हो, खुलाउन चाहेन । मनाङ ट्रस्टले भने मनाङ मस्र्याङ्दीलाई सहप्रायोजन गरेबापत वार्षिक ५ लाख रुपैयाँ दिनेछ ।

रामसार मिडिया भर्सेस एमटीभी

रामसार मिडियाले पनि फुटबल क्षेत्रमा आफ्नो उपस्थिति देखाउन सरस्वती युथ क्लबलाई सहप्रायोजन गर्ने भएको छ । एमटीभी केबलले सरस्वती युथ क्लबलाई सहप्रायोजन गर्दै रामसारलाई चुनौती दिएको छ । एमटीभीले सरस्वतीलाई वार्षिक ७ लाख रुपैयाँ दिँदै आएको छ भने रामसारले वार्षिक १० लाख रुपैयाँ दिने सहमति भएको क्लबका अध्यक्ष शिक्षित पराजुलीले बताए । पराजुलीका अनुसार क्लबले मुख्य प्रायोजक खोजिरहेको छ ।
यस्तै लिगको मिडिया पार्टनरका रुपमा रहेको रामसार मिडियालाई फुटबलको खेल प्रसारणको सम्पूर्ण जिम्मेवारी छ ।

नबिल भर्सेस इन्भेस्टमेन्ट

फुटबलको मैदानमा बैङ्क पनि संलग्न छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कले फ्रेन्ड्स क्लबलाई प्रायोजन गरेको छ । फ्रेन्डसँगको सम्झौताअुनसार इन्भेस्टमेन्ट बैङ्कले लिग अवधिभरका लागि क्लबलाई १० लाख रुपैयाँ दिनेछ ।

माई भ्याली कन्स्ट्रक्सन

निर्माण कम्पनी पनि लिग फुटबलको व्यापारिक प्रतिस्पर्धामा उत्रिएको छ । माई भ्याली कन्स्ट्रक्सनले च्यासल युथ क्लबलाई साथ दिएको छ । च्यासलका अध्यक्ष रमेश व्यञ्जनकारले माई भ्यालीसँग भएको सम्झौताअनुसार रकम सार्वजनिक नगर्ने सहमति भएको बताए ।

५ करोड ८० लाखको पुरस्कार

तीन महिनासम्म चल्ने लिग फुटबलको कुल बजेट पाँच करोड ८० लाख रुपैयाँ छ । विजेता टोलीलाई ५० लाख, उपविजेतालाई ३५ लाख र तेस्रो हुनेलाई २५ लाख, चौथो हुनेलाई १५ लाख, पाँचौंले ७ लाख र छैटौंले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै एन्फाले समेत लिग खेल्ने क्लबलाई पूर्वतयारीका रुपमा प्रतिक्लब २० लाख रुपैयाँ उपलब्ध गराउँछ । त्यसैगरी काठमाडौं महानगरपालिकाले प्रत्येक क्लबलाई ९ लाख ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री र नगद उपलब्ध गराइसकेको छ । एक खेल जितेबापत एन्फाले क्लबलाई थप ५० हजार रुपैयाँ दिने भएको छ ।

बाहिरिए पुराना प्रायोजक

विगतमा एन्फासँग साझेदारीमा रहेका कतिपय घरानाहरु सम्झौताबाट पछि हटेका छन् । नेपालकै ठूलो व्यापारिक समूह एनसेलले आफ्नै नाममा प्रतियोगिताको आयोजना गर्ने गथ्र्यो । यस्तै राष्ट्रिय लिग फुटबलको प्रायोजन गर्ने रेडबुल र सहप्रायोजक सानमिगेल बियर पनि यस पटक देखिएको छैन । प्रायोजन गरेबापत ठूलो रकम उपलब्ध गराउने कम्पनीलाई एन्फाले रिझाउन नसक्दा भरपर्दा कम्पनी एन्फासँगको साझेदारीबाट बाहिरिएका छन् । ब्रिटिस गोर्खा कप, एनसेल कप जस्ता फुटबल प्रतियोगिताको अभाव यतिबेला नेपाली फुटबलमा स्पष्ट रुपमा झल्किएको छ । देशकै ठूलो फुटबल लिगमा व्यावसायिक घराना आकर्षित हुन नसक्नुमा कतिपय ठाउँमा व्यावसायीकै कमजोरी देखिन्छ भने कतिपय ठाँउमा एन्फाको भूमिकामा प्रश्न उब्जिएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगका लिग निर्देशक सञ्जीव मिश्रका अनुसार एन्फाले लिग बजारीकरणको जिम्मा रामसार मिडियालाई दिइएको छ । उसले बजारीकरण गरेबापत एन्फालाई १ करोड रुपैयाँ दिनेछ । यस्तै टेलिभिजन प्रसारणको जिम्मा एपी वान टेलिभिजनले पाएको छ, जसले वार्षिक रुपमा एन्फालाई ३५ लाख रुपैयाँ दिन्छ । विगतमा प्रायोजन गर्ने क्लबले लिगप्रति नकरात्मक सोच राखेर प्रायोजन नगरेको नभई सम्झौता सकिएपछि नयाँ प्रायोजक खोज्ने गरिएको राईले जानकारी दिए ।

विश्वमा जसरी कर्पोरेट समूहले फुटबललाई प्रयोजन गर्दै आएका छन्, त्यसरी नेपाली फुटबलमा कर्पोरेट समूहले ध्यान दिन सकेका भने छैनन् । विश्वचर्चित युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा फुटबल लिग, ब्रिटेनको प्रिमियर लिग फुटबल, जर्मनको बुडेन्स लिगा, फ्रान्सको लिग वान र इटालीको सिरी ए फुटबल लिग प्रतियोगितालाई विश्वका स्थापित ब्रान्डले प्रायोजन गर्छन् । त्यस्ता लिगमा कर्पोरेट समूहले आफ्नो प्रतिष्ठा बनाएरै ठूला र नाम चलेका क्लबसँगको साझेदारी गर्न चाहन्छन् । विश्वको परिप्रेक्ष्यमा हेर्दा दुवैको हवाई कम्पनी ‘फ्लाई इमिरेट्स’ र ‘कतारको कतार एअरवेज’को प्रायोजनमा भिडन्त देखिन्छ । यस्तै, रेडबुल तथा काल्र्सबर्गको पनि व्यापक प्रतिस्पर्धा देखिरहँदा एडिडास र नाइकी जस्ता कम्पनीले पनि फुटबल प्रायोजनलाई प्रतिष्ठाको विषय बनाउँदै आएको पाइन्छ ।