चार्जिङ मेसिन ल्याउँदा न छुट, न जोड्न विद्युत्

विद्युतीय सवारीमा दिइने छुट तथा सहुलियतसम्बन्धी स्पष्ट नीति बन्न नसक्दा विदेशबाट खरिद गरिएका विद्युतीय सवारी र चार्जिङ मेसिन प्रयोगबिहीन बनेका हुन् ।

विद्युतीय सवारीमा छुट तथा सहुलियत र चार्जिङ स्टेसनका लागि आवश्यक विद्युत् उपलव्ध गराउने भनेर सरकारले घोषणा गरे पनि सञ्चालनमा आएका र सञ्चालनको तयारीमा रहेका विद्युतीय सवारी त्यसै थन्किने अवस्थामा पुगेका छन् । विद्युतीय सवारीमा दिइने छुट तथा सहुलियतसम्बन्धी स्पष्ट नीति बन्न नसक्दा विदेशबाट खरिद गरिएका विद्युतीय सवारी र चार्जिङ मेसिन प्रयोगबिहीन बनेका हुन् ।

यसअघि, कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएका साझा यातयातका दुई बस चार्जिङको अभावले त्यत्तिकै थन्किएका छन् । एक महिनाभित्र सुन्दर यातायातले नेपाल भित्र्याउने तयारी गरिएका चार ओटा विद्युत्तीय सवारी चार्ज गर्न चार्जिङ स्टेसनको अभाव छ । यसअघि नै खरिद गरी ल्याइएका चार्जिङ मेसिनमा कुनै पनि छुट नदिइएको र मेसिनका लागि आवश्यक विद्युतको अभावले विद्युतीय सवारी सञ्चालन हुन सकेका छैनन् ।

सरकारले इलेक्ट्रिक भेइकल तथा चार्जिङ मेसिन खरिदमा छुट र सहुलियत दिन नसक्दा विद्युतीय सवारी सञ्चालनमा बाधा सिर्जना भएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । सरकारले विद्युतीय मेसिन ल्याउँदा दिन मिल्ने छुट तथा सहुलियत व्यवस्था कार्यान्वयन गर्न नसक्दा समस्या भएको उनले बताए । ‘सरकारले चार्जिङ मेसिन ल्याउँदा दिन मिल्ने सहुलियत र छुट दिएन । र, भएका चार्जिङ मेसिनका लागि कुन बेला र कति विद्युत् दिने, विद्युतमा कति छुट दिने भन्नेबारे स्पष्ट खुलाउन सकेन,’ उनले भने, ‘फलस्वरुप चार्जिङ स्टेसन नबन्दा विद्युतीय सवारी सञ्चालनमा निकै बाधा भइरहेको छ ।’

सरकारले चार्जिङ मेसिनमा दिने छुट र चार्जिङ स्टेसनका लागि आवश्यक विद्युतको स्पष्ट व्यवस्था नभएको खण्डमा अन्य थप गर्ने भनिएका विद्युतीय सवारी सञ्चालन गर्न नसकिने उनको तर्क छ । उनले विद्युत् प्राधिरकणले पिक आवरबाहेक राती १० देखि ४ बजेसम्म विद्युतीय चार्जिङका लागि विद्युत्को व्यवस्था गर्नुपर्ने बताए ।

यता, चार्जिङ स्टेसन बनाउनका लागि निजी कम्पनीसँग समन्वय गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको धारणा छ । प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा चार्जिङ स्टेसन बनाउन महानगर÷नगरपालिकासँग समन्वय गरी प्रक्रिया अगाडि बढाएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । ‘प्राधिकरणले आफैले प्रवद्र्धनात्मक हिसाबले चार्जिङ स्टेसन बनाउन महानगर÷नगरपालिकामा समन्वय गरिदिन पत्र पठाएको छ,’ उनले भने, ‘कसरी विद्युत् महसुल दर सुधार र किफायती बनाउने भन्ने हिसाबले सोचिरहेका छौ ।’

प्राधिकरणले काठमाडौं उपत्यकाभित्र विभिन्न २२ स्थानमा चार्जिङ स्टेसन बनाउन सकिने जनाएको छ ।