दुई महिनाभित्र काबेली करिडोर

१० वर्षअधि सुरु गरिएको आयोजना लामो समय स्थानीयको अवरोध, जग्गा र वन समस्यामा फस्यो । कुल ३ अर्ब ५९ करोड रुपैयाँको लागत अनुमानमा आयोजना निर्माण भइरहेको छ ।

१ सय ३२ केभीए काबेली करिडोर प्रसारण लाइन दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । अहिले दोस्रो र तेस्रो फेजअन्तर्गत एक सय ६५ ओटा टावरमध्ये एक सय ५३ ओटा टावर ठड्याउने काम सकिएको छ । अब १२ ओटा टावर ठड्याउने काम बाँकी छ ।

दोस्रो फेजअन्तर्गत रहेको झापाको पाराजुँगीदेखि पाँचथरको अमरपुरसम्म बन्नुपर्छ । ४२ दशमलव ८८ किलोमिटर क्षेत्रफलमा १ सय २५ ओटा टावर निर्माण गर्नुपर्छ, जसमध्ये १ सय २३ ओटा टावर ठड्याइसकिएको छ । बाँकी ४ किमिमा वनक्षेत्र पर्ने भएकाले वनको स्वीकृत नहुँदा टावर ठड्याउने काम र तार तान्ने काम रोकिएको आयोजनाले जनाएको छ ।

त्यस्तैगरी तेस्रो फेजअन्तर्गत रहेको इलामको गोदकदेखि पाँचथरको फिदिमसम्म १३.३३ किमि छ । त्यसमा ४० ओटा टावरमध्ये ३९ ओटा टावर गाडिसकिएको छ । त्यो खण्डमा ३ किमिमा तार तान्ने काम सकिएको छ । बाँकी १० किलोमिटर वनक्षेत्र पर्ने भएकाले रुख काट्नुपर्ने र वनको स्वीकृति नहुँदा काम अगाडि बढ्न नसकेको काबेली करिडोर प्रसारण लाइन आयोजना प्रमुख दीपेन्द्र द्विवेदीले बताए । दुवै फेजमा वनक्षेत्र पर्ने र रुख काट्नुपर्ने भएकाले स्वीकृत नहुँदा तार तान्ने काम रोकिएको उनको भनाइ छ । ढिलोमा पनि दुई महिनाभित्र आयोजना सम्पन्न गरी विद्युत् चार्ज गरिने उनले बताए । ‘केही टावर र तार तान्नुपर्ने काम बाँकी छ, जसमा केही वनक्षेत्र पर्ने भएकाले वनको स्वीकृति नपाएकाले रुख काट्न सकिएको छैन,’ उनले भने, ‘वनको स्वीकृत पाएको डेढ महिनाभित्रै लाइन चार्ज गर्ने बनाउँछौं ।’

झापाको पाराजुँगीदेखि पाँचथरको अमरपुसम्म तीन फेजमा छुट्याई काम अघि बढाइएको थियो, जसमध्ये पहिलो फेज (गोदक—दमक)को काम दुई वर्षअघि नै सम्पन्न भएको थियो ।

वनको स्वीकृतिका लागि फाइल क्याबिनेटमा पुगेको र १÷२ दिनमा निर्णय भएर आएपछि काम सुरु गर्ने उनले बताए । २२.५ मेगावाटको तल्लो हेवा, १० मेगावाटको इवाखोला र २५ मेगावाटको काबेली ‘बी’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यसै करिडोरमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । अहिले ती आयोजना विद्युत् उत्पादनको अन्तिम चरणमा छन् । आयोजना बनिसक्दा पनि प्रसारण लाइन नबने ती आयोजनाबाट उत्पादित विद्युत् खेर जानेछ । फलस्वरुप, प्राधिरकणले आयोजना प्रवद्र्धकलाई जरिवानासमेत तिर्नुपर्छ । प्रसारण लाइन बनेपछि १४ मेगावाटको माथिल्लो हेवाखोला आयोजना पूर्ण सञ्चालनमा आउनेछ ।

१० वर्षअधि सुरु गरिएको आयोजना लामो समय स्थानीयको अवरोध, जग्गा र वन समस्यामा फस्यो । कुल ३ अर्ब ५९ करोड रुपैयाँको लागत अनुमानमा आयोजना निर्माण भइरहेको छ ।