बैङ्क तथा वित्तीय संस्थाबाट २१ अर्ब ७३ करोड ठगी, १९० जना बैङ्कका सञ्चालक र कर्मचारी पक्राउ

बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर सर्वसाधारणले जम्मा गरेर राखेको रकम ठगी गरेपछि नेपाल राष्ट्र बैङ्कले अनुसन्धानका लागि सीआईबीलाई अनुरोध गर्दै आएको छ । राष्ट्र बैङ्कले दिएको सूचनालाई आधार मान्दै ब्युरोले ठगी गर्नेहरुका बारेमा अनुसन्धान गरी मुद्दा दायर गर्दै आएको छ ।

काठमाडौं : ८ वर्षको अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट झन्डै २२ अर्ब रुपैयाँ ठगी भएको छ । विभिन्न ४५ बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर २१ अर्ब ७३ करोड रुपैयाँ ठगी गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी गर्ने एक सय ९० जना विभिन्न संस्थाका सञ्चालक, सदस्यहरुलाई पक्राउ गरी उनीहरु विरुद्ध मुद्दा दायर गरेको प्रमुख डीआईजी निरज शाहीले बताए ।

क्यापिटल नेपालसँग कुरा गर्दै डीआईजी शाहीले भने, ‘बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक, कर्मचारीहरु मिलेर ठगी गरेको देखिएको छ । हामीले अनुसन्धानलाई तीव्र पारेका छौं ।’ राष्ट्र बैङ्कको अनुरोधमा फाइलहरुको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर सर्वसाधारणले जम्मा गरेर राखेको रकम ठगी गरेपछि नेपाल राष्ट्र बैङ्कले अनुसन्धानका लागि सीआईबीलाई अनुरोध गर्दै आएको छ । राष्ट्र बैङ्कले दिएको सूचनालाई आधार मान्दै ब्युरोले ठगी गर्नेहरुका बारेमा अनुसन्धान गरी मुद्दा दायर गर्दै आएको छ ।

कुन बैङ्क तथा वित्तीय सस्थाबाट कति ठगी ?

सीआईबीले २०६७ सालदेखि हालसम्म गरी ४५ ओटा विभिन्न बैङ्क तथा वित्तीय संस्थालाई नोक्सानी पुर्याएर ठगी गर्ने एक सय ९० जना सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरी मुद्दा दायर गरेको छ । ब्युरोको तथ्याङ्कअनुसार २०६७ सालमा तत्कालीन गोरखा डेभलमेन्ट बैङ्कबाट ८६ करोड ७३ लाख रुपैयाँ नोक्सानी पुर्याउने सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

त्यसैगरी युनाइटेड बिकास बैङ्कबाट, ९ करोड २४ लाख, सम्झना फाइनान्स लिमिटेडबाट ६ करोड २८ लाख ९२ हजार क्यापिटल मर्चेन्ट एन्ड फाइनान्सबाट ७ अर्ब ७३ करोड ५७ लाख ४५ हजार रुपैयाँ ठगी भएको सीआईबीले जानकारी दिएको छ । सस्थाका सञ्चालक तथा कर्मचारी मिलेर ठगी गरेको ब्युरोको तथ्याङ्कले देखाउँछ ।

ती व्यक्तिले नक्कली ऋणी खडा गरी, कमसल धितो राखेर धेरै कर्जा लिनेलगायत अपचलन गरेको भेटिएपछि ब्युरोले त्यस्ता सञ्चालक तथा कर्मचारीलाई नियन्त्रणमा लिएर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

ब्युरोको तथ्याङ्कअनुसार २०६९ सालमा ४ वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर ६ अर्ब, ३६ करोड, ७६ लाख ७७ हजार ४ सय ९७ रुयैयाँ ठगी गरेका छन् । ब्युरोले त्यसरी ठगी गर्ने ४ सस्थाका १४ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

त्यसमा नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेडबाट ५ अर्ब ९७ करोड २ लाख ४४ हजार, नेपाल बिकास बैङ्कबाट ३६ करोड ५ लाख ७० हजार, प्रोग्रेसिभ फाइनान्स लिमिटेडबाट ७ करोड ६९ लाख १३ हजार, जनरल फाइनान्स लिमिटेडबाट १३ करोड ९९ लाख ९४ हजार रुपैयाँ गरी ६ अर्ब ३६ करोड ७६ लाख ७७ हजार रुपैयाँ ठगी भएको छ ।

त्यसैगरी २०७० सालमा ६ ओटा बैङ्क तथा सहकारीका २४ जना सञ्चालक–कर्मचारी मिलेर २ अर्ब ३१ करोड २३ लाख ४१ हजार रुपैयाँ ठगी गरेका छन् । सीआईबीको तथ्याङ्कअनुसार क्रिष्टल फाइनान्स लिमिटेडबाट ४४ करोड ६१ लाख ९१ हजार रुपैयाँ ठगी भएको छ ।

त्यस्तै श्रीलङ्का मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडका कर्मचारी तथा सञ्चालक मिलेर २ करोड ९२ लाख ७० हजार रुपैयाँ ठगी गरेका छन् । त्यसैगरी एच एन्ड बी डेभलमेन्टका कर्मचारी तथा सञ्चालक मिलेर बैङ्कबाट १ अर्ब ५ करोड ३३ लाख ३७ लाख ठगी गरेका थिए ।

त्यस्तै हिमालय फाइनान्स लिमिटेडका सञ्चालकले पनि ५३ करोड ६ लाख ६८ हजार ठगी गरेको भेटिएपछि ब्युरोले ती सञ्चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

त्यसैगरी सिद्धार्थ डेभलमेन्ट बैङ्कका सञ्चालक तथा कर्मचारी मिलेर २५ करोड २८ लाख ७४ हजार ठगी गरेको ब्युरोको तथ्याङ्कले देखाउँछ । त्यसैगरी २०७१ सालमा एनबी बैङ्क, तत्कालीन किष्ट बैङ्क, एनआईडीसी क्यापिटल मार्केट्सका सञ्चालक तथा कर्मचारी मिलेर सर्वसाधारणले जम्मा गरी राखेको ३१ करोड २६ लाख ९९ हजार रुपैयाँ ठगी गरेका छन् ।

एनबी बैङ्कबाट २ करोड ९२ लाख ७० हजार, किष्ट बैङ्कबाट १५ करोड १६ लाख ९४ हजार, एनआईसी क्यापिटल मार्केट्सबाट १३ करोड १७ लाख ३१ हजार ठगी भएको छ । ठगी गर्नेविरुद्ध सीआईबीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

त्यस्तै २०७१ सालमा सिभिल बैङ्क, कृषि बिकास बैङ्कलगायत ८ ओटा वित्तीय संस्थाबाट सञ्चालक तथा कर्मचारी मिलेर १ अर्ब ५९ करोड ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेका छन् । त्यसमा सिभिल बैङ्कबाट १ करोड २३ लाख ९ हजार, बुटवल फाइनान्सबाट २७ करोड २६ लाख ८१ हजार, हामा मर्चेन्ट एन्ड फाइनान्सबाट ७ करोड ६० लाख ९९ हजार, पिपल्स फाइनान्सबाट ७३ करोड ९२ लाख ८१ हजार, एनआईडीसी क्यापिटल मार्केट्सबाट ४ करोड ७८ लाख ६३ हजार, कृषि विकास बैङ्क, लगनखेल शाखाबाट १० करोड ६२ लाख ५६ हजार, सोही बैङ्कको स्वयम्भु शाखाबाट ३३ करोड ९३ लाख ३९ हजार रुपैयाँ ठगी भएको थियो ।

त्यस्तै २०७३ मा ६ ओटा वित्तीय संस्थाका केही सञ्चालक र कर्मचारी मिलेर ४ करोड ९३ लाख ३६ हजार रुपैयाँ ठगेका छन् । जसमा एभरेष्ट बैङ्कबाट १९ लाख ५० हजार, ग्लोबल आईएमई बैङ्कबाट ८६ लाख ७० हजार, पु्रडेन्सियल फाइनान्सबाट ८७ लाख, कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडबाट १ करोड २० लाख ४ हजार, मन्जुश्री फाइनान्ससियल इन्स्टिच्युसन लिमिटेडबाट १ करोड ३४ लाख ६५ हजार र सिभिल बैङ्कबाट ४५ लाख ४५ हजार रुपैयाँ ठगी गरेका छन् ।

त्यस्तै २०७४ सालमा ७ ओटा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर ८ करोड ६९ लाख ३५ हजार रुपैयाँ ठगी गरेको ब्युरोको तथ्याङ्क छ । त्यसमा हिमालयन बैङ्कबाट ६ लाख ५८ हजार, महालक्ष्मी बिकास बैङ्कबाट ३० लाख ६८ हजार, पश्चिमाञ्चल फाइनान्सबाट ४ करोड ४६ लाख ५९ हजार ठगी भएको छ ।

त्यसैगरी नबिल बैङ्कबाट ४४ लाख ४९ हजार, कैलाश बिकास बैङ्कबाट ३ करोड ४१ लाख ठगी भएको छ । त्यस्तै २०७५ सालमा पनि विभिन्न ९ ओटा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर १ अर्ब ८७ करोड ७८ लाख २१ हजार रुपैयाँ ठगी गरेका छन् । जसमा यती डेभलपमेन्ट बैङ्कबाट १ अर्ब ४० करोड, नेपाल बैङ्कबाट १५ करोड ५१ लाख ४३ हजार र कृषि बिकास बैङ्क न्युरोड शाखाबाट ४ करोड ४२ लाख ७३ हजार ठगी भएको छ ।

त्यस्तै एनआईसी एसियाबाट ६ करोड ७४ लाख ११ हजार र सिभिल बैङ्क बौद्ध शाखाबाट ३५ लाख ६१ हजार रुपैयाँ ठगी भएको छ । त्यस्तै मन्जुश्री फाइनान्सियल इन्स्टिच्युसनबाट ३ करोड २१ लाख ८ हजार र माछापुच्छ«े्र बैङ्कबाट १ करोड ४२ लाख रुपैयाँ ठगी भएको छ ।

त्यस्तै तत्कालीन एपेक्स डेभलपमेन्ट बैङ्कबाट १ अर्ब ५० करोड ९६ लाख ३३ हजार र सामुदायिक लघुवित्त वित्तीय संस्थाबाट २ करोड ५७ लाख ४४ हजार ठगी भएको छ । त्यसैगरी गएको साउन यता सिटिजन बैङ्कबाट १ करोड २८ लाख र सनराइज बैङ्कबाट २२ लाख ७७ हजार रुपैयाँ ठगी भएको छ ।

पक्राउ परेका सबै जनालाई बैङ्किङ ठगीमा मुद्दा चलाइएको ब्युरोका प्रमुख डीआईजी शाहीले बताए ।

सञ्चालकको घोटलाका कारण बन्द हुन पुगेका बैङ्क तथा वित्तीय संस्था धमाधम सञ्चालनमा आउन थालेका छन् । हालसम्म आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा नयाँ लगानीकर्ताको प्रवेश भई सञ्चालनमा आइसकेका छन् । केही वित्तीय संस्था पनि नयाँ लगानीकर्ताले चलाउने तयारी थालेका छन् ।