पार्किङ सार्दा फेरिएको एयरपोर्टको मुहार

कुनै आपतकालीन अवस्था आइलागे पनि एयरपोर्टका कर्मचारी, यात्रु र सेवाग्राही जम्मा हुने ठाउँ पनि थिएन तर आइतबारदेखि अराइभल अगाडिको पार्किङ केही तल भवनसहितको पार्किङ क्षेत्रमा सरेपछि अहिले भीडभाड त हराएकै छ, एयरपोर्टको सुन्दरता पनि थपिएको छ ।

काठमाडौं : विदेशी पर्यटक होस् या नेपाली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै ट्याक्सीका ड्राइभर र बिचौलियाहरुले आफ्नो गाडीमा लैजान तछाडमछाड गरेर यात्रुलाई तान्ने गर्थे । तर, गत आइतबारदेखि यस्तो दृश्य एयरपोर्टबाट हटिसकेको छ ।

वर्षाैदेखि एयरपोर्टको अराइभलको ठीक अगाडि खाली ठाउँमा गाडीहरु पार्किङ हुन्थे । कुनै आपतकालीन अवस्था आइलागे पनि एयरपोर्टका कर्मचारी, यात्रु र सेवाग्राही जम्मा हुने ठाउँ पनि थिएन तर आइतबारदेखि अराइभल अगाडिको पार्किङ केही तल भवनसहितको पार्किङ क्षेत्रमा सरेपछि अहिले भीडभाड त हराएकै छ, एयरपोर्टको सुन्दरता पनि थपिएको छ ।

ल्यान्ड भएर नेपाल देख्नेबित्तिकै भीडभाड हटेपछि अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङसहित सवारी चलाउँदा पनि नयाँ व्यवस्था भएको छ । नयाँ व्यवस्था जानकारी दिनकै लागि ठाउँ ठाउँमा प्रहरी राखिएको छ । बाक्लो प्रहरीको उपस्थिति देखेपछि लाग्न सक्छ एयरपोर्टमा भीभीआईपीको सवारी हुँदै छ, तर त्यसो होइन ।

गोल्डेन गेटबाट छिर्नेबित्तिकै प्रहरीले सवारीसाधनलाई कहाँ जाने, कहाँ पार्किङ गर्ने, यात्रु लिएर कताबाट जाने भन्ने कुरा सम्झाइरहेका हुन्छन् । एयरपोर्टभित्र खाली भाडाका ट्याक्सी र हरियो प्लेटका गाडी गोल्डेनगेटबाट छिरेभने नयाँ पार्किङ क्षेत्रमा गएर बस्नुपर्छ । यदि कोही आइसकेको छ भने सिधै अराइभलमा गएर पिकअप गरेर गइहाल्नुपर्छ । अराइभलमा अब पार्किङका लागि पहिलाको जस्तो व्यवस्था छैन । कुनै गाडीले यात्रु छोड्न जानु छ भने पनि सिधै डिपार्चर अगाडि गएर यात्रु छोड्नेबित्तिकै बाहिरिसक्नुपर्छ ।

बाहिरिनका लागि पनि गोल्डेन गेटअगाडिबाट बाहिरिन मिल्दैन । अराइभल र डिपार्चरका लागि यात्रुलाई सेवा दिएपछि गोल्डेन गेटतिर नगई नयाँ बनेको गेटबाट रिङरोड पुग्नुपर्छ । यसले गर्दा एयरपोर्टभित्रको भीडभाड र जाम अहिले हटेको छ ।

नयाँ बनेका पार्किङ क्षेत्रमा माथि २ सय र अन्डरग्राउन्डमा ४ सय गाडी पार्किङ गर्न मिल्छ । अहिले भवनसँगैको पार्किङमा गाडी पार्किङ हुन थालेका छन् भने अन्डरग्राउन्डको काम भइरहेको छ ।

 

विमानस्थल प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले एयरपोर्टभित्र भीडभाड र जथाभावी पार्किङले अवैध कामहरु पनि हुने गरेका थिए, नयाँ व्यवस्थापछि त्यस्तो काम पनि हटेको बताए । ‘यात्रु र सेवाग्राहीलाई झन्झट र दुख दिने काम पनि भएको थियो त्यो पनि हट्यो र खाली हुँदा राम्रो पनि देखियो,’ उनले भने ।

प्रहरीको सुझावलाई विमानस्थल प्रशासनले स्वीकार गरेपछि विमानस्थलको स्वरुप अहिले परिवर्तन भएको बस्नेतले बताए । यसमा विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले तत्काल योजना अगाडि बढाएपछि काम पनि छिटो अघि बढेको उनले बताए ।

‘एयरपोर्ट जस्तो सवंदेनशील क्षेत्रमा जभाभावी पार्किङ हुनु राम्रो होइन, सुरक्षाको दृष्टिकोणले त जोखिम नै थियो । त्यसैले नयाँ व्यवस्था हुनै पर्ने भएकाले सबै पार्किङ सारिएको हो,‘ उनले भने । अव्यवस्थित पार्किङले एयरपोर्टलाई कुरुप पनि देखाएको थियो सन्देश पनि राम्रो गएको थिएन, अब सुधार हुँदै गएको उनले बताए ।

प्रहरीले पहिला विमानस्थल अराइभलको मुखमा रहेको पार्किङ क्षेत्रलाई खाली गराएर भीआईपीहरुको गाडी राख्ने व्यवस्था गरेको छ । विदेश जानेहरुलाई अराइभलमा छाडेर निजी तथा भाडाका सवारी साधन सिधै तल भएको पार्किङमा जाने व्यवस्था गरिएको छ । त्यसैगरी विदेशबाट आउनेहरुलाई लिन परेमा निजी, पर्यटक तथा भाडाका ट्याक्सीलाई माथि अराइभलमा आएर मान्छे चडाउने र त्यसपछि पार्किङ क्षेत्रको गेट हुँदै बाहिर जाने व्यवस्था गरिएको छ ।

त्यस्तै पहिला डोमेस्टिक तथा अन्तर्राष्ट्रियबाट आवतजावत गर्नेहरुलाई एकै बाटो प्रयोग गरिँदै आइएको थियो । त्यसकारण पनि जाम र लथालिङ्ग हुने गरेको थियो । अब त्यस्तो छैन । माथि डोमेस्टिकबाट आएका सवारी साधन सिधै बाहिर निस्कन सक्ने छन् । उनीहरु अन्तर्राष्ट्रियबाट निस्केका सवारी साधनसँग सिधै पार्किङ क्षेत्रमा मात्र भेट हुन्छ । त्यसका लागि केही ठाउँमा बनाउनु पर्ने र केही ठाउँमा भत्काउनु पर्ने भएकाले त्यो काम पनि भइरहेको प्रहरीले जनाएको छ ।

विमानस्थलको पार्किङ व्यवस्थापन गर्न र पार्किङ सहज बनाउन प्रहरीले थालेको गतिविधि नियाल्न विमानस्थल प्रहरी प्रवक्ता एसएसपी दिनेशराज मैनाली आफैं खटिने गरेका छन् । मङ्गलबार क्यापिटल टिम विमानस्थल पुग्दा पनि एसपी मैनाली पार्किङबारे भइरहेका गतिविधि डीआईजी बस्नेतलाई जानकारी गराउँदै थिए ।

‘पार्किङलाई हामीले तल सारिसकेका छौं,’ क्यापिटल टिमसँग कुरा गर्दै उनले भने, ‘यसलाई व्यवस्थित बनाउन केही चुनौतीहरु छन्, तिनलाई कसरी हल गर्ने भन्नेबारे पनि हामीले योजना बनाएर कार्य थालनी गरिसकेका छौं, केही दिनमा त्यसको पनि राम्रो रिजल्ट आउँछ ।’

विमानस्थल पार्किङबारे जानकारी गराउँदै उनले भने, बानी नपरेकाले केही दिन असहज होला, तर बिस्तारै बानी परेपछि सबैलाई सहज र व्यवस्थित हुनेगरी योजना बनाएर लागू गरेका हौं, बानी बसाउनकै लागि प्रहरी जताततै खटिएका छन् ।