विद्युतीय बस सञ्चालनमा आउन सकेन, प्रधानमन्त्री चढेका बस ग्यारेजमा

उद्घाटन भएको भोलिपल्टदेखि नै साझा यातायातका विद्युतीय बस ग्यारेजमा घाम तापिरहेका छन् ।

काठमाडाैं : गएको कार्तिक ६ गते साझा यातायातले ५ ओटा बिद्युतीय बस सार्वजनिक गर्यो । बस सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले अब राजधानीका सबै सडकमा बिद्युतीय बस सञ्चालन हुने घोषणा गरे । प्रधानमन्त्रीसहित अरु मन्त्रीहरु पनि विद्युतीय बस चढेर सिंहदबारसम्म पुगेका थिए ।

बस सार्वजनिक कार्यक्रममा साझा यातायातका कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बस नियमित रुपमा केही दिनभित्र सञ्चालन हुनेसमेत जानकारी गराएका थिए । बस एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्म पर्यटक बोक्न ल्याइएको पाण्डेले बताए ।

उद्घाटन भएको भोलिपल्टदेखि नै साझा यातायातका विद्युतीय बस ग्यारेजमा घाम तापिरहेका छन् । त्यसदिन प्रधानमन्त्रीले बोलेका कुरा हावादारी भएको प्रमाणित हुन पुगेको छ । प्रधानमन्त्रीले त्यसदिन बोलेका ती वचनलाई व्यवसायीले हचुवाका भरमा बोलेको आरोप लगाइरहेका छन् ।

विद्युतीय बस राजधानीमा सञ्चालन नहुनुमा समय तालिका, बिमा, रुट इजाजत, चार्जिङ् स्टेसन मुख्य समस्या रहेको पाण्डे बताउँछन् । रुट तथा अन्य प्राविधिक कामले बस सञ्चालन रोकिएको बताइए पनि बसका लागि आवश्यक चार्जिङ् स्टेसनको पहल नथालिएकाले बस गुड्न रोकिएको हो ।

उद्घाटनका लागि प्रधानमन्त्रीको समय जुरेकाले कागजी प्रक्रिया पूरा नगरी बस सेवा शुभारम्भ भएको हो । प्रक्रिया नपुग्दा नपुग्दै बस उद्घाटन गर्नु नै कम्पनीको ठूलो कमजोरी रहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउँछन् ।

सरकारले इलेक्ट्रिक भेइकल तथा चार्जिङ मेसिन खरिदमा छुट नदिँदा विद्युतीय सवारी सञ्चालनमा बाधा पुगेको थापाले बताए । सरकारले विद्युतीय मेसिन ल्याउँदा दिनमिल्ने छुट तथा सहुलियत व्यवस्था कार्यान्वयन गर्न नसक्दा समस्या भएको उनको जिकिर छ । ‘चार्जिङ मेसिनका लागि कुन बेला र कति विद्युत् दिने, विद्युतमा कति छुट दिने भन्नेबारे स्पष्ट खुलाउन सकेन,’ उनले भने, ‘चार्जिङ स्टेसन नबन्दा विद्युतीय सवारी सञ्चालन गर्न बाधा देखिएको छ ।’

अहिले सुन्दर यातायात, मयूर यातायात र साझा यातायातका एक महिनाअघि सार्वजनिक भएका विद्युतीय बस सञ्चालनमा आउन सकेका छैनन् ।

अहिले नम्बर प्लेट राख्ने, इन्स्योरेन्स गर्ने तथा रुट किन्नेलगायत काम भइरहेको ती यातायात व्यवसायीले बताएका छन् । यी विद्युतीय बस राजधानीका सडकमा सञ्चालन भएपछि मात्र अन्य लामो दूरीमा चल्ने बताइएको छ ।

विद्युतीय बस भित्र्याउन आतुर रहेका विभिन्न यातायात व्यवसायी पनि सरकारको अपुष्ट तथा अधुरो प्रतिबद्धताले बस ल्याउन निरुत्साहित भएका छन् । साझाले ल्याएको एसियाली विकास बैङ्क (एडीबी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । लुम्बिनी क्षेत्रमा चलाइने भने पनि उद्घाटन भएको एक महिनाभन्दा बढी समय बितिसक्दासम्म कुनै प्रक्रिया अधि बढेको छैन ।

साझाले विद्युतीय बस ल्याउने गृहकार्य भने तीन चार वर्ष अधिदेखि नै गरिरहेको थियो । अहिले मयूर यातायातले एक वर्षभित्र सय ओटा र सुन्दर यातायातले ५० ओटा विद्युतीय बस भित्र्याउने गृहकार्य सुरु गरिसकेको छ । सुन्दर यातायातका पहिलो चरणका सात बस आउने क्रममा बाटोमा छन् ।