बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले विद्युतीय सवारी सञ्चालनमा आवश्य पर्ने सम्पूर्ण विद्युत् तथा ट्रान्सफर्मर, चार्जिङ स्टेसनलगायत सबै पूर्वाधारको जिम्मा लिने बताए । नेपाल सरकारले पनि विद्युतीय सवारीलाई प्राथमिकतामा राखेसँगै विद्युतका लागि केही समस्या नहुने उनको भनाइ छ ।
काठमाडौं : नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्दै सरकारले सकारात्मक चासो व्यक्त गरेको छ । बिहीबार सरकारी निकायका व्यक्ति, सुन्दर यातायातका अधिकारी, चिनियाँ विद्युतीय बस कम्पनी बीएकेका सीईओलगायत सहभागीहरुले विद्युतीय सवारीमा चासो व्यक्त गरेका हुन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, वातावरण विभागका डीजी झलकराम अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतका उच्च व्यक्तिहरु सहभागी थिए ।
विद्युतीय सवारी साधनलाई सार्वजनिक आवागमनमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारिता गर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । बैठकमा मेयर शाक्यले साझेदार बन्न चीनको बीवाईडी कम्पनीले इच्छा देखाएको बताए । ‘हामी अहिले त्यस कम्पनीबाट उत्पादित बसको मूल्य, हाम्रो खरिद गर्न सक्ने क्षमता, यसबाट हुने वातावरणीय तथा आवागमनमा पुग्ने लाभ, बस सञ्चालनका लागि हाम्रा पूर्वाधार तथा सम्भावना आदिका आधारमा यस कार्यलाई अगाडि बढाउँछौं,’ शाक्यले भने ।
भेटका क्रममा चीनको बीएके कम्पनीका प्रमुख कार्यकारी च्यानलिन लुओले बीवाईडी कम्पनीका बसभन्दा आफ्ना कम्पनीका बस राम्रा भएको जिकिर गरे । ‘बीवाईडीका भन्दा हाम्रा कम्पनीका बस सस्ता र बलिया छन्, हामी संसारभरिका सहरमा बस पठाइरहेका छौं,’ उनले भने, हामीले जुन सहरमा बस पठाउने हो, त्यहाँको भूगोल र आवश्यकता अनुसार बस तयार गरेर पठाउँछौं ।’
कम्पनीका प्रमुखले काठमाडौंका सडक विद्युतीय बस सञ्चालनका लागि उपयुक्त रहेको बताए । नेपालभन्दा कम गुणस्तर भएका देशहरुमा समेत बस पठाएको भन्दै उनले नेपालमा बस सञ्चालन गर्न कुनै समस्या नरहेको बताए ।
बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले विद्युतीय सवारी सञ्चालनमा आवश्य पर्ने सम्पूर्ण विद्युत् तथा ट्रान्सफर्मर, चार्जिङ स्टेसनलगायत सबै पूर्वाधारको जिम्मा लिने बताए । नेपाल सरकारले पनि विद्युतीय सवारीलाई प्राथमिकतामा राखेसँगै विद्युतका लागि केही समस्या नहुने उनको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा सुन्दर यातायातले काठमाडौंलगायत अन्य स्थानमा बस सञ्चालनका लागि योजना सुरु गरेकोमा खुसी भएको जानकारी दिए । उनले विद्युतीय बस सञ्चालनका लागि सरकार तथा पर्यटन मन्त्रालयबाट चहिएको सहयोग उपलब्ध हुने बताए ।
सुन्दर यातायातले अबको ६० दिनभित्र ८५ यात्रु ओसारपसार क्षमता भएका ४५ सिटे ३ ओटा सार्वजनिक विद्युतीय बस सञ्चालनको तयारी थालिसकेको छ । बस चीनबाट नेपाल आउने क्रममा छन् । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले काठमाडौंको सडक र बसको क्षमता जाँच गरिसकेको बताए ।
थापाले काठमाडौंको सोह्रखुट्टे उकालो चढ्न सक्ने तथा जोरपाटीको खाल्टाखुल्टीमा गुड्न सक्ने बस ल्याउन लागेको र काठमाडौंपछि पोखरा तथा बुटवलमा विद्युतीय बस सञ्चालन गरिने बताए ।