चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीसीसीसी) को सहायक कम्पनी चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड र चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडले एउटै टेन्डरमा भाग लिएका छन् ।
काठमाडौं : सार्वजनिक खरिद ऐन विपरीत एउटै ग्रुपका २ ओटा चिनियाँ कम्पनीले सडक योजनाको बोलपत्र (टेन्डर) हालेको पाइएको छ ।
एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा सुरु भएको सासेक हाइवे सुधार आयोजनाअन्तर्गत सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्मको झन्डै ८७ किलोमिटर लामो सडक निर्माणमा एउटै ग्रुपका २ ओटा कम्पनीले बोलपत्रमा भाग लिएको पाइएको हो ।
चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीसीसीसी) को सहायक कम्पनी चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड र चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडले एउटै टेन्डरमा भाग लिएका छन् । एउटै ग्रुपका दुइटा कम्पनीले एउटै टेन्डरमा भाग लिन नपाउने स्पष्ट व्यवस्था छ । यसलाई बेवास्ता गर्दै सडकको दोस्रो प्याकेजमा चाइना हार्बर र चाइना फस्र्टले बोलपत्रमा भाग लिएको पाइएको हो ।
बोलपत्रमा स्वार्थको द्वन्द्व हुने सम्भावना भएकाले एउटै ग्रुपका दुई कम्पनीले एउटै टेन्डरमा भाग लिन नपाउने व्यवस्था गरेको छ । यो कुरा बोलपत्र डकुमेन्टमा समेत उल्लेख छ ।
एडीबी सासेक सडक आयोजना प्रमुख सरोजकुमार प्रधानले बोलपत्रको कागजात हेरेर मात्र भन्न सकिने बताए । क्यापिटल नेपालसँग कुरा गर्दै उनले कागजात हेरर मात्र निर्णय लिन सकिने स्पष्ट पारे । टेन्डर डकुमेन्टको कागजात अध्ययन गरिने उनले जानकारी दिए ।
सीसीसीसीले प्रकाशित गरेको वित्तीय विवरणमा चाइना हार्बरमा ५० र चाइना फस्र्ट इन्जिनियरिङमा १०० प्रतिशत स्वामित्व रहेको उल्लेख छ । चाइना हार्बर र चाइना फस्र्टको माउ कम्पनी सीसीसीसी हो ।
सो आयोजनाको पहिलो चरणमा ४ लेनको सडक निर्माण र दोस्रो चरणमा सडक मर्मत योजना समावेश छ । गत कात्तिक ३० गते दुवै प्याकेजमा आयोजनाले बोलपत्र आह्वान गर्दा १५ ओटा कम्पनीले भाग लिएका छन् । बोलपत्रमा भाग लिने सङ्घाई कन्स्ट्रक्सन, तियायुन कन्स्ट्रक्सन, चाइना एनहुई वाटर रिसोर्सेज, जोङडिङ इन्टरनेसनल इन्जिनियरिङ, जियाङ कम्युनिकेसन कन्स्ट्रक्सनलगायत १५ चिनियाँ कम्पनी छन् ।