यातायात व्यवस्था विभाग र मालिका इन्कर्पोरेटबीच आरोपप्रत्यारोप, स्मार्ट लाइसेन्स छपाइ फेरि अन्योलमा

सफ्टवेयर तथा डाटा इररको लगायत प्राविधिक समस्याको बहाना बनाउँदै स्मार्ट लाइसेन्स छाप्ने काम अन्योलमा परिरहेको छ । स्मार्ट लाइसेन्स छपाइ ढिलाइ भएपछि अहिले विभाग र छपाइको जिम्मा लिने मालिका इन्कार्पोरेटबीच सम्बन्ध चिसिएको छ । अहिले विभाग र मालिकाबीच आरोपप्रत्यारोप सुरु भएको छ ।

काठमाडौं : लक्ष्यअनुसार निर्धारित समयमा स्मार्ट सवारी लाइसेन्स छाप्न सरकार विफल भएको छ । यातायात व्यवस्था विभागले डेढ महिनाअघि ६ लाख स्मार्ट लाइसेन्स छाप्ने घोषणा गरेको थियो ।

सफ्टवेयर तथा डाटा इररको लगायत प्राविधिक समस्याको बहाना बनाउँदै स्मार्ट लाइसेन्स छाप्ने काम अन्योलमा परिरहेको छ । स्मार्ट लाइसेन्स छपाइ ढिलाइ भएपछि अहिले विभाग र छपाइको जिम्मा लिने मालिका इन्कार्पोरेटबीच सम्बन्ध चिसिएको छ । अहिले विभाग र मालिकाबीच आरोपप्रत्यारोप सुरु भएको छ ।

४५ दिनमा ६ लाख स्मार्ट लाइसेन्स छाप्ने योजना थियो । कति स्मार्ट लाइसेन्स छाप्नुभयो ? भन्ने क्यापिटलको प्रश्नमा विभागका महानिर्देशक लावण्यकुमार ढकालले भने, ‘४५ दिनमा ६ लाख छाप्ने भनेर हामीले भनेका छैनांै । लाइसेन्स छाप्ने कम्पनी मालिका आफैं हल्ला फैलाए हो ।’ यातायात विभागले लाइसेन्स छाप्न निर्देशन दिने हो ।

यतिउति छाप्ने भनेर विभागले हल्ला नफैलाएको जिकीर गर्दै उनले मालिका इन्कर्पोरेट कम्पनीलाई दोष लगायका छन् । मालिका भने विभागले पर्याप्त डाटाका कारण इरर देखिाइरहेको बताएको छ ।

अहिले सेवाग्राही लाइसेन्स नपाएर छटपटाइरहेका छन् । यस्तो अवस्थामा विभाग र स्मार्ट लाइसेन्स छाप्न दिएको कम्पनीबीच नै तालमेल मिलेको छैन । दुवै अर्कोलाई दोष लगाएर पानीमाथिको ओभानो हुन खोजिरहेका छन् । कम्पनीले केही दिनअघि विभागलाई नै लक्ष्यअनुसारको लाइसेन्स छाप्न नसकेको समेत जनाएको थियो ।

मालिकाका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालले यो गलत भएको बताए । विभागले पर्याप्त डाटा उपलब्ध नगराएकाले लाइसेन्स छपाइमा ढिलाइ हुन गरेको उनको दाबी छ । सर्भरमा विभागबाट डाटा आउँदा इरर देखाएपछि जति भनेका थियौं, त्यो मात्रामा स्मार्ट लाइसेन्स छाप्न नसकेको उनको भनाइ छ ।

‘कम्पनीसँग अहिले २० ओटा मेसिन छन्, जसले एक दिनमा प्रतिमेसिन हजार ओटा मात्र स्मार्टकार्ड छाप्ने बताइएको थियो । यस आधारमै भनेका थियौं,’ मालिकाका ढकालले भने । तर डाटा इररका कारण यो झमेला आइपरेको उनको जिकिर छ । अहिलेसम्म कम्पनीले १ लाख २० हजार लाइसेन्स छापिसकेको छ ।

एकदुई वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राहीले अब दुई महिनाभित्र लाइसेन्स पाउने यातायात विभागकै कर्मचारीको भनाइ थियो । विभागको मालिकासँग ४५ दिनमा ६ लाख लाइसेन्स छाप्ने सहमति भए पनि छपाइ भने कछुवाको गतिमै छ ।

विभागबाट लाइसेन्स छाप्ने जिम्मेवारी पाएको मालिकाले लाइसेन्स छपाइको तयारी र परीक्षण पूरा भइसकेको भन्दै दसैंअघि नै काम सुरू गर्ने जानकारी दिएको थियो । स्मार्ट लाइसेन्सको समस्या हटाउन मन्त्रिपरिषद्ले मालिकालाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने अनुमति दिएको थियो । अहिले स्मार्ट लाइसेन्स अन्योलमा परेको छ ।