भेरी–बबई डाइभर्सनको बाँध र विद्युतगृहको काम अघि बढ्दै, परामर्शदाता नियुक्ति सुरू

सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको सुपरिवेक्षणको काम अघि बढाउन कार्यालयले ग्लोबल टेण्डरबाट परामर्शदाता छनौट गर्ने भएको छ । परामर्शदाता छनौटका लागि कार्यालयले आशयपत्र (ईओआई) मागेको छ । आउदो पुस १२ गते आशयपत्र पेश गर्ने अन्तिम दिन तोकिएको कार्यालयले जनाएको छ ।

काठमाडौं । निर्माणधिन भेरी–बबई डाइभर्सन बुहउद्धेशिय परियोजनाले बाँध र विद्युतगृहको काम अघि बढाउन लागेको छ । परियोजनाले सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत उत्पादन गर्न विद्युतगृह र सिंचाइका केही संरचना बनाउनका लागि काम अघि बढाएको हो ।

सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको सुपरिवेक्षणको काम अघि बढाउन कार्यालयले ग्लोबल टेण्डरबाट परामर्शदाता छनौट गर्ने भएको छ । परामर्शदाता छनौटका लागि कार्यालयले आशयपत्र (ईओआई) मागेको छ । आउदो पुस १२ गते आशयपत्र पेश गर्ने अन्तिम दिन तोकिएको कार्यालयले जनाएको छ ।

आउदो ३ महिनाभित्र सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल र गुणस्तर नियन्त्रणका लागि परामर्शदाता छनौट गर्ने आयोजना निर्देशक सञ्जिब बरालले बताए । परामर्शदाता नियुत्त गरेपछि आयोजनाको सिभिल संरचना बनाउन ग्लोबल टेण्डर आब्हान गरिने उनले जानकारी दिए ।

बाँध, विद्युतगृह र सिंचाइका थप संरचना बनाउन थप १६ अर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए । परामर्शदाता नियुत्तिपछि ४ महिनाभित्र ३ वटा प्याकेजको काम अघि बढाउन लागि बोलपत्र आब्हान गरिने तयारी परियोजनाको छ ।

सुरुङको काम सकिन लागे पनि सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण, विद्युतगृह लगायत सिंचाइका लागि थप संरचना निर्माण आवश्यक भएकाले प्रक्रिया अघि बढाएको हो ।

आयोजनाको सम्पुर्ण काम आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न हुने बरालले जानकारी दिए । सिंचाइअन्र्तगत ५१ हजार हेक्टर मध्ये ३६ हजार हेक्टरका लागि बबइ सिंचाइबाट र थप १५ हजार हेक्टरका लागि नयाँ संरचना बनाउनु पर्नेछ ।

काम सुरु भएको १ वर्षमा आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम आउदो चैतभित्र सकिने भएको छ । आयोजनाको १२ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म झण्डै १० किलोमिटर खन्ने काम सकिएको छ ।

कुनै समस्या आएन भने चैतभित्रै सुरुङको काम सकिने निर्देशक बरालले बताए । उनले निर्धारित समय भन्दा १ वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम सकिने जानकारी दिए । सन् २०२० को मार्चमा सुरुङको काम सक्ने गरी कार्यतालिका तयार पारे पनि ठेकेदार चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप लिमिटेड (कोवेक) ले तिब्र गतिमा काम गरिरहेको यो संभव भएको उनले सुनाए । आयोजनाको सुरुङ खन्ने काम एक वर्षअघि सुरु भएको हो ।

सुरुङ खन्न विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) ले गरिरहेको छ । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ ।