यस वर्ष ६ ओटा ट्रान्समिसन लाइन बनाउने प्राधिकरणको लक्ष्य

काबेली करिडोर २/३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार तीव्र रुपमा काम भइरहेको छ । वन समस्याका कारण १२ ओटा टावर ठड्याउने र ४ किमी तार तान्ने काम बाँकी छ । यो करिडोर बनेपछि त्यसक्षेत्रका दर्जनभन्दा बढी साना ठूला जलविद्युत् आयोजना गरी सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने बाटो खुल्नेछ । डुम्रे—दमौली—मर्स्याङ्दी प्रसारण लाइन निर्माण भएपछि भोल्टेजमा सुधार हुने छ ।

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले यस वर्ष ५ ओटा ट्रान्समिसन लाइन र एउटा सबस्टेसन बन्ने जनाएको छ । चालू आव २०७५/७६ को अन्त्यसम्म मुलुकभर निर्माणाधीनमध्ये ६ ओटा (प्रसारण लाइन र सबस्टेसन) बन्ने अपेक्षा प्राधिकरणले लिएको हो ।

१३२ केभीए क्षमताका प्रसारण लाइनको निर्माण कार्य तीव्र रुपमा भइरहेकाले यस वर्षभित्रै सञ्चालनमा आउने प्राधिकरणका प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरीले जानकारी दिए । उनका अनुसार, १३२ केभीए क्षमताका काबेली करिडोर, डुम्रे—दमौली—मर्स्याङ्दी, कोहलपुर—महेन्द्रनगर, कुश्मा—तल्लो मोदी, लमही—घोराही र रुपने सबस्टेसन यसै वर्ष निर्माण हुने अपेक्षा लिइएको हो ।

काबेली करिडोर २/३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार तीव्र रुपमा काम भइरहेको छ । वन समस्याका कारण १२ ओटा टावर ठड्याउने र ४ किमी तार तान्ने काम बाँकी छ । यो करिडोर बनेपछि त्यसक्षेत्रका दर्जनभन्दा बढी साना ठूला जलविद्युत् आयोजना गरी सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने बाटो खुल्नेछ । डुम्रे—दमौली—मर्स्याङ्दी प्रसारण लाइन निर्माण भएपछि भोल्टेजमा सुधार हुने छ ।

रुपने सबस्टेसन बनेपछि राजविराजमा विद्युत् भोल्टेज सुधार भई ‘टेक्निकल लस्ट’मा कमी आउने प्राधिकरणले जनाएको छ । लमही—घोराही प्रसारण लाइन बनेपछि त्यस क्षेत्रका सिमेन्ट उद्योगलाई चाहिने विद्युत् सप्लाई गर्न कुनै समस्या नहुने चौधरीले बताए । त्यस्तै, दमौलीको लाइन डुम्रेसम्म ल्याउन र कास्कीको लेखनाथदेखि आएको लाइनको भोल्टेज सुधार हुन्छ । यता, मर्स्याङ्दी—दमौलीसँग प्रत्यक्ष लाइनमा जोडिने र दोहोरो पावर रिलायवलिटी हुने चौधरीको भनाइ छ ।

त्यस्तै, कोहलपुर—महेन्द्रनगर प्रसारण लाइन बनेपछि एउटै सर्किट चालु रहेको लाइन दोस्रो सर्किटबाट सञ्चालन गर्न सकिनेछ । जसले अत्तरिया र महेन्द्रनगरका सबस्टेसनसम्म जोडिने विद्युतलाई प्रत्यक्ष रुपमा राष्ट्रिय प्रणालीमा जोड्ने छ ।