यातायात मन्त्री रघुवीर महासेठले मिटरमा नजाने ट्याक्सीको दर्ता खारेज गर्ने बताएको पनि लामो समय भयो । तर अहिले मन्त्री महासेठ कानमा तेल हालेझैं बसिरहेका छन् । यत्रतत्र विरोध र ठगीको आरोप आइरहँदा अहिले उनी चुपचाप बसिरहेका छन् ।
काठमाडौंः महानगरीय ट्राफिक महाशाखाले साढे पाँच वर्षमा २८ हजार तीन सय ५७ ट्याक्सीलाई कारवाही गरे पनि उपत्यकामा ट्याक्सीले गर्ने ठगी रोकिएको छैन । महाशाखाले आर्थिक वर्ष २०७०/०७१ देखि चालू आवको मङ्सिर महिनाको अन्त्यसम्म आइपुग्दा ट्याक्सीबाट हुने ठगी, मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने उपर्युक्त सङ्ख्याका चालक कारवाहीमा परेको जनाइएको छ । तर यति ठूलो सङ्ख्यामा ट्याक्सी चालक कारवाहीमा परे पनि अहिलेसम्म केही उपलब्धि र नियन्त्रण हुन सकेको छैन । हरेक महिना ट्राफिकका नयाँ नियम आउने, केही दिन लागू हुने र त्यसपश्चात् पहिलाकै अवस्था आउने गरेको छ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार पाँच वर्षे डाटा हेर्र्दा वर्षैपिच्छे कारवाहीको सङ्ख्या बढ्दै गएको देखिन्छ । अनेकानेक अभियान तथा नियम आए पनि ट्याक्सी चालकको व्यवहार उस्तै छ । हिजो आज पनि बार्गेनिङकै भरमा ट्याक्सी चल्ने गरेका छन् ।
कारवाहीको अवस्था हेर्दा आर्थिक वर्ष २०७०/७१ मा चार हजार ७२ ट्याक्सी कारवाहीमा परेका छन् भने २०७१/७२ मा त्यो सङ्ख्या बढेर पाँच हजार तीन सय ४८ पुगेको छ । त्यसैगरी २०७२/७३ मा कारवाहीको सङ्ख्या झन्डै दोब्बरले घटेको महाशाखाले जनाएको छ । उक्त आवमा दुई हजार सात सय ९५ ट्याक्सी कारवाहीमा परे । यस्तै २०७३/७४ मा चार हजार पाँच सय १८ चालक जरिवानामा परेका थिए । महाशाखा प्रमुख वसन्त पन्तका अनुसार सबै कारवाही ठगीमात्र नभई ट्राफिक नियम पालना नगरेका पनि हुन् ।
गत आर्थिक वर्ष २०७४/७५ मा पाँच वर्षकै उच्च ट्याक्सी कारवाहीमा परेका छन् । गत आवमा आठ हजार एक सय २० चालक जरिवानमा परेको तथ्याङ्कमा उल्लेख छ । सोही आवमा ट्राफिक महाशाखामा प्रमुख बनेर बसन्त पन्त आएका थिए ।
सञ्चारमाध्यम, ट्राफिक प्रहरी तथा सबै निकायबाट पहल भए मात्र ट्याक्सी ठगीलाई रोक्न सम्भव हुने महाशाखा प्रमुखले बताए । अहिले उपत्यकामा करिब १० हजार हाराहारीमा ट्याक्सी दर्ता छन् । सबैको साथ र सहयोग भए यो ठगी नियन्त्रण गर्न कुनै ठूलो समस्या नभएको उनको दाबी छ ।
ट्राफिक प्रहरीले गत २० गतेदेखि उपत्यकाका ट्याक्सीले नियम नमाने तथा सेवाग्राहीलाई ठगी गरे लाइसेन्स निलम्बनसमेत गर्ने भनी अभियान सुरु गरेको छ । यदि ती ट्याक्सी चालकले पाँच पटकभन्दा बढी नियम उलङ्घन गरेमा यो प्रक्रिया अपनाउने महाशाखाको योजना छ । पन्त भन्छन्, ‘चालू आर्थिक वर्षमा मात्र तीन हजार पाँच सय चार ओटा ट्याक्सी ट्राफिकको फन्दामा परिसकेका छन्,’ उनले भने, ‘अब यो प्रक्रियाले निरन्तरता पाउँछ ।’ ट्याक्सीले डाइरेक्ट जनतालाई ठगी गर्ने आपराधिक काम भएकाले अब लाइसेन्स निलम्बन प्रक्रिया नरोकिने पन्तले बताए ।
यातायात मन्त्री रघुवीर महासेठले मिटरमा नजाने ट्याक्सीको दर्ता खारेज गर्ने बताएको पनि लामो समय भयो । तर अहिले मन्त्री महासेठ कानमा तेल हालेझैं बसिरहेका छन् । यत्रतत्र विरोध र ठगीको आरोप आइरहँदा अहिले उनी चुपचाप बसिरहेका छन् । यातायात व्यवस्था विभागले भने यस सम्बन्धमा चासो देखाइरहेको छ । विभागले ट्याक्सी भाडाको सूची नै सार्वजनिक गरेको छ ।
उपत्यकाको ट्याक्सी व्यवस्थापन गर्न अहिले तीन निकाय ट्राफिक महाशाखा यातायात विभाग र नापतौल विभागकै तालमेल मिलिरहेको छैन । एकले अर्कालाई दोष लगाएर पन्छिन मात्र खोज्छन् । यातायात विभागले गत २०७३ पुस २७ गतेदेखि ट्याक्सी बिल प्रिन्टिङ सिस्टम ल्याए पनि अहिले कार्यान्वयनमा छैन ।
काठमाडौं उपत्यकामा गुड्ने अधिकांश ट्याक्सीका मिटर दुरूस्त छैनन् । सरकारले गत असोज ७ बाट ट्याक्सीको भाडा १० प्रतिशत बढाएको छ । तर, अधिकांशले नयाँ भाडा दरअनुसार मिटर समायोजन गरेका छैनन् । यहाँ नापतौल विभागले आफ्नो काम ठीकसँग नगर्दा ट्याक्सी चालकले मनलाग्दी भाडा असुल्न छुट पाएका छन् ।
कसैले उजुरी नै हाले पनि उनीहरू ’नियमअनुसार भाडा लिएको’ भन्दै सजिलै पन्छिन सक्छन् । यस्तो अवस्था कहिलेसम्म हुने हो केही थाहा छैन । अबको अभियानले उपत्यकाको ट्याक्सी व्यवस्थापन कस्तो हुने हो त्यो हेर्नै बाँकी छ ।